शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पश्चिम सेतीको अध्ययन गर्न भारतीय कम्पनीलाई स्वीकृति

सोमबार, २३ साउन २०७९, २० : ०२
सोमबार, २३ साउन २०७९

लगानी बोर्डको ५२ औँ बैठकले जलविद्युत परियोजनासम्बन्धी विभिन्न निर्णयहरू गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी-६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता भारतीय कम्पनी एनएचपीसीसँग गरिने समझदारी पत्र स्वीकृत गरेको हो।

त्यस्तै ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको सम्बन्धमा आवश्यक तयारी अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत परियोजनाको अध्ययनको लागि हिमताल हाइड्रो पावर कम्पनी प्रालिलाई सर्वेक्षण अनुमति प्रदान गर्न समझदारी गर्ने निर्णय गरेको छ ।

त्यसैगरी माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा समेत बैठकले निर्णय गरेको छ । बैठकले नेपालमा दिगो पूर्वाधार विकासमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आगामी सेप्टेम्बर दोस्रो साता सस्टेनेबल इन्फ्रास्ट्रकचर इन्भेस्टमेन्ट फोरम २०२२ आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले पश्चिम सेती, माथिल्लो कर्णाली, अरुण-३, तल्लो अरुण जस्ता राष्ट्रिय प्राथमिकताका परियोजनाहरूलाई तोकिएको समयमा अध्ययन तथा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिए । यसमा अर्थ, ऊर्जा, भूमिसुधार तथा वन मन्त्रालय एवं अन्य सरोकारवाला निकायलाई प्रभावकारी रूपमा समन्वय र सहकार्य गरी नतिजा देखिने गरी काम गर्न निर्देशन दिनुका साथै साथै सिमन्ट उद्योग परियोजनाहरू विकास गर्दा वातावरण र मानव स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने प्रविधिहरूको अवलम्बन गर्न जोड दिए ।

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका लगानी प्रवर्द्धन, परियोजना विकास, संस्थागत क्षमता विकास एवं साझेदारी लगायतका क्षेत्रमा भएका गतिविधिहरूको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप