बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढ्यो : चिकित्सा शिक्षा आयोग

सोमबार, २३ साउन २०७९, १९ : ०४
सोमबार, २३ साउन २०७९

चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढेको बताएको छ । आयोगले सोमवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यसको जानकारी गराएको हो ।

यो वर्ष २६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको र यो संख्या गत वर्षको भन्दा ६ गुणा बढी रहेको आयोगको भनाइ छ । चिकित्सा शिक्षाको पहुँच सामान्य मानिसहरुको पहुँचमा क्रमशः वृद्धि भइरहेको आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले बताए । उनले स्तरीकृति गरिएका मापदण्ड र सूचकको आधारमा विज्ञ समूहबाट चिकित्सा शिक्षा सञ्चालन गर्ने संस्थाहरुको सिट निर्धारण गर्ने पद्धतिको विकास भएको बताए ।

उनले नेपालमा एमबीबीएस २१ वटा संस्थामा पढाइने गरेको र त्यहाँ १ हजार ८९५ विद्यार्थीले यो वर्ष पढ्न पाउने बताए । उनले यो वर्ष छात्रवृत्तिमा स्नातक तहमा २ हजार २३२ जना विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध रहेको बताए । सदस्यसचिव काफ्लेले एमबीबीएसमा मात्रै ४३० जना विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराएको बताए । उनले विदेशी विद्यार्थीलाई नेपालमा करिव १३ सय सिट दिने गरेको उल्लेख गर्दै एमबीबीएसमा मात्रै ५५७ जनाले अध्ययन गर्न पाउने बताए ।  

कार्यक्रममा चिकित्सा शिक्षा आयाेग अन्तर्गतको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा.डा. रमेशप्रसाद आचार्यले देशमा नर्सिङ पेशालाई व्यवस्थित बनाउन नसक्दा नर्स पढेर बेरोजगार बन्ने मात्रै काम भइरहेको बताए । नर्सिङ अध्ययन गर्नेले जागिर नपाएको भन्दै उनले यसलाई सरकारले थप चासोका साथ लिनुपर्ने बताए । १० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएको उनले बताए । बेलायतसँगको सम्झौतामा स्वास्थ्य जनशक्ति क्रमशः लैजाने उल्लेख गरेको भन्दै यस्ता भ्रममा बस्न नहुने उनले बताए ।  

त्यस्तै चिकित्सा शिक्षा आयाेग अन्तर्गतको मापदण्ड तथा प्रत्ययन निर्देशनालयका निर्देशक प्रा.डा. दिलिप शर्माले २०७९ सालमा हलसम्म एमबीबीएस अध्ययन गर्नका लागि १८८ जना नेपाली विद्यार्थी विदेश गएको बताए । त्यस्तै बिएसी नर्सिङमा २९, एलाइट साइन्समा ६६ जना र फार्मेसी अध्ययनका लागि १७ जना विद्यार्थी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएर विदेश अध्ययनका लागि गएको बताए ।  
  
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप