शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरको केशलिया खोला किनारमा सौन्दर्यीकरण र करिडोर निर्माण सुरु

सोमबार, २३ साउन २०७९, १८ : २२
सोमबार, २३ साउन २०७९

केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै विराटनगरस्थित केशलिया खोला किनारमा सौन्दर्यीकरणसहित करिडोर निर्माण कार्य सुरु भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी करिडोर तथा संरक्षण योजनाका सन्दर्भमा आयोजित छलफल तथा अभिमुखीकरण कार्यक्रममा करिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति दिएका हुन् ।

नदी क्षेत्रमा गएर गरिएको अनुसन्धानबाट विज्ञहरुले करिडोर निर्माण गर्दाका फाइदा र चुनौतीबारे अवगत गराएका छन् । विज्ञहरू डा. महेन्द्र सुब्बा, प्रशान्त मल्ल तथा जेनी श्रेष्ठले दिगो विकासको अवधारणा अन्तर्गत आयोजना सञ्चालन गर्न सकिने बताएका छन् ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले परियोजनालाई सम्पन्न बनाउन प्रदेश सरकार लागिपर्ने बताए । अघिल्लो सरकार हुँदै आयोजना निर्माणको कार्य थालनी गरिने बताए पनि अस्थिरताका कारण सुरु हुन नसकेको उनको भनाइ छ ।

नदीबाटै नागरिकको आर्थिक अवस्थालाई चलायमान बनाउनका साथै नदी सौन्दर्यीकरणका लागि आयोजना सञ्चालन गरिने प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए ।

उनले वृहत् विराट क्षेत्रको अवधारणा अनुसार कार्यान्वयन हुने गरी केशलिया करिडोर निर्माण गरिने बताए । केशलिया नदीलाई सौन्दर्यीकरण गरेर विकासको नयाँ स्वरूप देखाउने उनको भनाइ छ ।

‘हामीले विराटनगरमा नयाँ योजना गर्दैछौँ भने आसपासका पालिका र स्थानीय तह पनि समेट्नु पर्दछ । त्यो विकासको मोडालिटी विकेन्द्रित हुन्छ,’ मन्त्री कार्कीले भने, ‘स्थानीय तहको समेत सहभागितामा करिडोर निर्माण थालिने छ ।’

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्ण लोक्सम, विराटनगर महानगरका मेयर नागेश कोइराला, सुनसरी तथा मोरङका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगाएर सरोकारवाल निकायका प्रमुखका प्रतिनिधिको सहभागिता थियो ।

आर्थिक वर्ष (२०७९–८०)को बजेटमा सहरी नदी करिडोर कार्यक्रम अन्तर्गत सङ्घीय तथा प्रदेश सरकारले बजेटको विनियोजन गरेपछि केशलिया करिडोर निर्माणको प्रक्रिया थालिएको हो । केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुनसरीको दुहबी नगरपालिका, बर्जू गाउँपालिका सीमा क्षेत्र भएर बग्ने नदी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप