बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुद्दामा लेख्न सिकाउने ‘मेन्टर’हरू

सोमबार, २३ साउन २०७९, १६ : ४८
सोमबार, २३ साउन २०७९

गत शुक्रबार जागरण मिडिया सेन्टरले ‘सञ्चारमाध्यममा दलित सवाल’ ब्यानरमा कार्यक्रम ग¥यो । मलाई पठाइएको निमन्त्रणा–पत्रमा अंग्रेजीमा भनिएको थियो– हामीले लेखक, स्तम्भ लेखक, विचार लेखकहरूसँग ‘नेपाली लेखनमा दलित मुद्दाहरू’माथि अन्तक्र्रिया गर्दै छौँ, आउनुहोला । 

कार्यक्रममा लेखक राजेन्द्र महर्जनले पछिल्लो समय नेपाली मिडियामा छापिएका दलित मुद्दा सम्बन्धका विचारप्रधान सामग्रीको चर्चा गरे । दलित मुद्दामा लेख्नेहरूले अनुभवजन्य आधारमा लेख्ने गरेको, भाँती नपुगेको र उनीहरूलाई विशेषतः लेखन प्रशिक्षण आवश्यक रहेकोतर्फ उनले संकेत गरेका थिए । 

कार्यक्रममा दलित मुद्दामा लेख्नेहरूलाई ‘मेन्टर’ (अनुभवी प्रशिक्षक)को आवश्यकता रहेको कुरा प्रस्ट उठेको थियो । त्यहाँ उपस्थित उमेरले पाका केही दलित नेताले आफ्नो नेतागिरी प्रतिष्ठामा आँच नआउने शैलीमा भने– ‘भाषण दिन जति पनि सकिन्छ, तर भाँती पुर्‍याएर हजार शब्द लेख्न गाह्रो रहेछ । मैले यो उमेरमा फलानासँग लेख्न सिकिरहेको छु ।’

अन्तरक्रियात्मक भनिए पनि कार्यक्रम ठोस बुँदा वा विषयवस्तुमाथि केन्द्रित थिएन । केही सहभागीहरू आ–आफ्नो सीमित अनुभव, अध्ययन र जानकारीकै कसीमा मनलागी बहकिएका थिए । उसो त, अन्तरक्रियात्मक कार्यक्रम कसरी गर्ने भन्ने सम्बन्धमै हामीलाई प्रशिक्षण आवश्यक देखिन्छ । कार्यक्रममा कसैको प्रस्तुति छ भने सोको प्रतिलिपि वा अडियो–भिडियो सामग्री सहभागीहरूलाई एक दिनअगाडि नै उपलब्ध गराइनुपर्छ । र, भनिनुपर्छ– यस सम्बन्धमा तपाईंले आफ्नो टिप्पणी वा धारणा बुँदागत रूपमा निश्चित समयभित्र राख्नुपर्नेछ । सबैले आ–आफ्नो टिप्पणी राखिसकेपछि कसैको टिप्पणीप्रति तपाईंको थप टिप्पणी वा धारणा रहेमा त्यसलाई निश्चित समयभित्र राख्ने पालो दिइनेछ । यसो भयो भने अन्तरक्रियात्मक कार्यक्रमको अर्थ र महत्व रहन्छ । 

अर्कोतिर, हामी पारदर्शिता र समावेशी प्रतिनिधित्वको बहसमा छौँ । यस्ता कार्यक्रम गर्दा हामीले विभिन्न धर्म, क्षेत्र, वर्ग, लिंग र जातजातिको समावेशी प्रतिनिधित्वतर्फ ध्यान पुर्‍याउनुपर्छ । त्यस्तै, प्रस्तुत कार्यक्रमका लागि यस स्रोतबाट आएको यति बजेटलाई यी यी शीर्षकमा खर्च गरिँदै छ भन्ने पनि सहभागीलाई जानकारी गराइनुपर्छ । कम्तीमा हामीबाट यो सुरुवात सम्भव छ । 

नेपाली मिडियामा दलित सवाल
पछिल्लो समय, विशेषतः ०६२/६३ को परिवर्तनपछि नेपाली सञ्चारमाध्यममा दलित विभेदसम्बन्धी समाचार, विचार वा लेख–रचनाले प्रशस्त ठाउँ पाएका छन् । यस सम्बन्धमा अधिकांश सञ्चारमाध्यमका प्रधानसम्पादक वा सम्पादकहरू सचेत देखिन्छन् । तर, दलित सवालका समाचार, आलेख, आख्यान छाप्ने सम्बन्धमा मिडिया हाउसको निर्णायक तहमा रहेकाहरूले आ–आफ्नै बौद्धिक क्षमताअनुरूप मानक वा सीमाहरू निर्माण गरेका छन् । 

केही मिडिया हाउसमा काम गरेको मेरो अनुभवले भन्छ– ती मानक वा सीमाहरू धर्म, संस्कृति, कुनै समुदायको भावना र देउताहरूसम्म पुगेर ठोकिन्छन् । धर्म र संस्कृतिमा आँच ल्याउने खालका विचार वा सामग्री प्रचारयोग्य हुँदैनन् । अर्कोतिर, जातीय भेदभाव तथा छुवाछुत धर्म र संस्कृतिकै आड र आधारमा बढी हुन्छन् । यो किसिमको विरोधाभासपूर्ण परिस्थितिमा मिडियामा दलित सवाललाई उठान गर्नुपर्ने चुनौती छ । त्यसैले मिडियामा दलित सवालमा लेख्न सहज अवश्य छैन । यद्यपि, कतिपय अवस्थामा जोखिम उठाएरै भए पनि पछिल्ला दशक सञ्चारमाध्यमले दलित मुद्दाका सामग्रीलाई स्थान दिएका छन्, यो सकारात्मक पक्ष छ ।

‘मेन्टर’को राजनीति
केही समयअघि एक औपचारिक कार्यक्रममा मलाई आख्यान र मिथक सम्बन्धमा आफ्नो विचार राख्न भनियो । यस प्रस्तावमा म लगभग सहमत थिएँ । जब उनीहरूले भने– ‘तपाईंले आफ्ना कुरा अझ सशक्त रूपमा राख्न सक्नुहुन्छ, हामीले तपाईंलाई मेन्टरको व्यवस्था गरिदिन्छौँ ।’ तब मैले उनीहरूको प्रस्ताव घुमाउरो शैलीमा अस्वीकार गरेँ र स्पष्ट भनेँ – सीमित घेरामै होस्, मेरो आफ्नै अध्ययन, अनुभव, अनुसन्धान र विश्लेषण छ । आफूलाई व्यक्त गर्न म कोहीबाट प्रभावित हुन चाहन्नँ ।

हिजो मानिसले ज्ञानको निर्माण प्रकृति र समाजसँग जुध्दै जाँदा गरेको हो । आजसम्म मानिसले थुप्रै पुस्तक लेखेको छ– प्रकृति र समाजको विश्लेषण गरेर । प्रकृति र समाज वा समुदायबीच संघर्ष हुँदै जाँदा मानिसले विभिन्न धर्म, संस्कृति, मूल्य–मान्यताको निर्माण ग¥यो । जसकारण मानिसले बहुसंख्यक, अल्पसंख्यक, धर्म, जाति, क्षेत्र, लिंग आदिका आधारमा विभेद गर्दै र खेप्दै आएको छ ।  

हामीकहाँ यी पक्षलाई ध्यान दिनुभन्दा दुइटा किताब बढी पढेको, दुइटा आलेख वा पुस्तक बढी छापिएको वर्चश्वशाली वर्गको व्यक्तिलाई ‘मेन्टर’ बनाएर उत्पीडित वर्गको ज्ञान, विचार र भावनालाई अझ दबाउने राजनीति चलिरहेको छ । यो एउटा खतरनाक चिन्तन र प्रवृत्ति हो, यसले उत्पीडित जातजाति वा लिंगका भावना, विचार र ज्ञानलाई बनिबनाउ साँचोमा हाल्नेछ र आन्दोलनलाई अझ संकुचित बनाउनेछ ।

लामो समयको अभ्यासबाट निर्माण भएको विभेदकारी परम्परागत मूल्य–मान्यताको पर्खाललाई भत्काउन सहज छैन । त्यसका विभिन्न पत्र र आयाम छन् । त्यसलाई विभिन्न आयामबाटै अध्ययन गर्न र प्रश्न गर्न आवश्यक छ । बोध, अनुभव वा आत्मकथाहरू सुनाउनुपर्नेछ । बोध व्यक्त गर्न, प्रश्न गर्न वा कथा भन्न कला चाहिन्छ । कला एउटा साधना हो । साधनाको नियम सिकाउने प्रशिक्षक भए धेरै राम्रो । एउटा समुदाय, वर्ग, लिंगलाई लामो समयदेखिको उत्पीडनबाट मुक्त गराउनु फरक विषय हो । मानिसबीचको विभेद हटाउने सामूहिक ज्ञान वा चेतना निर्माणको विषय प्राचीनकालदेखि चल्दै आएको नृत्यलाई गुरुबाट शिष्यले सिक्नुजस्तो होइन । यसका लागि फराकिलो र उदार मैदान चाहिन्छ । सामूहिक चेतना निर्माणका लागि विभिन्न आयामबाट कथा सुनाउनुपर्नेछ । खास विचार, अवधारणा वा सिद्धान्तको निर्माण गर्नुपर्नेछ ।

उत्पीडित जात–जाति, समुदाय वा लिंगका व्यक्तिलाई तर्कसंगत र तथ्यसंगत विचार वा अनुभव राख्न स्रोत–साधनसँगै हिम्मत आवश्यक छ । यसका लागि राज्य वा चेतनशील समाजको पहलमा अध्ययन केन्द्रहरू स्थापना गर्नुपर्नेछ । ती केन्द्रमा कोही गुरु (मेन्टर) नभईकन स्वच्छ अन्तक्र्रिया गर्न सकिन्छ । बरु लेखनको प्राविधिक विषय अर्थात् व्याकरण सिक्नका लागि सम्बन्धित विषयको ज्ञातालाई ल्याउन सकिन्छ । 

समाज अध्ययनमा भ्रमण आवश्यक हुन्छ, यसका लागि स्रोत–साधनको समस्या हुन सक्छ । तर हामीकहाँ यी पक्षलाई ध्यान दिनुभन्दा दुइटा किताब बढी पढेको, दुइटा आलेख वा पुस्तक बढी छापिएको वर्चश्वशाली वर्गको व्यक्तिलाई ‘मेन्टर’ बनाएर उत्पीडित वर्गको ज्ञान, विचार र भावनालाई अझ दबाउने राजनीति चलिरहेको छ । यो एउटा खतरनाक चिन्तन र प्रवृत्ति हो, यसले उत्पीडित जातजाति वा लिंगका भावना, विचार र ज्ञानलाई बनिबनाउ साँचोमा हाल्नेछ र आन्दोलनलाई अझ संकुचित बनाउनेछ । उत्पीडित वर्गले तर्क र तथ्यसंगत रूपमा आफ्ना विचार, भावना र अनुभव राख्न पाउने वातावरण बनाउनेतर्फ हाम्रो ध्यान जानुपर्ने हो । एउटा मानकमा लेख्न सिकाउन जरुरी होइन, आ–आफ्नै शैलीले आफ्ना कुरा भन्ने नयाँ–नयाँ मानक पनि निर्माण गर्न सकिन्छ । 

गुरुकुल परम्परादेखि वञ्चितीकरण 
हिन्दू समाजमा वैदिककालदेखि गुरुकुल शिक्षा प्रणाली रहेको पाइन्छ । वर्ण व्यवस्थाले मूर्त रूप लिएसँगै समाजका उत्पीडित वर्ग शिक्षाबाट वञ्चित रहँदै आए । धर्मग्रन्थले पनि वेदका अधिकारीका रूपमा ब्राह्मण, क्षत्री र वैश्यलाई मानेका छन् । मनुस्मृतिमा केही श्लोक छन्– ‘आ–आफ्नो कर्ममा संलग्न ब्राह्मण, क्षत्रीय र वैश्य यी द्विजातिले वेद पढ्नुपर्छ । शूद्रलाई ज्ञान, प्रत्यक्ष रूपमा धर्म र व्रतका कुरा सिकाउन हुँदैन ।’

प्राचीनकालमा गुरुकुलमा अध्ययनका लागि जाँदा गोत्र सोधिएका प्रसंग पनि पौराणिक कथामा आएका छन् । छान्दोग्य उपनिषदमा जाबालि ऋषिलाई आचार्यले नाम र गोत्र सोधेको प्रसंग छ । कथा अनुसार, जाबालिले गुरुकुल जानुअघि आमासँग आफ्ना पिताको नाम र गोत्र सोध्छन् । उनकी आमा जबालाले थुप्रै पुरुषकहाँ दासीको काम गरेका बेला उनलाई जन्म दिएकी थिइन् । यही सत्य बताउँदै जबालाले पुत्रलाई भनिन्, ‘तिमी जबालाका पुत्र सत्यकाम हौ । आचार्यलाई यही बताउनू ।’

गुरुकुलमा आचार्यले जाबालिसँग पिताको नाम र गोत्र सोध्छन् । आमाले भनेबमोजिम सत्य बताएकाले जाबालिलाई आचार्यले उपनयन गराएर शिक्षा दिन्छन् । 
आज पनि हामीकहाँ संस्कृत भाषामा अध्ययन गराइने गुरुकुलहरूमा दलितलाई प्रवेश गराउने कि नगराउने भन्ने बहस र आन्दोलन चलिरहेकै छ । हामीकहाँ अछुतले औपचारिक रूपमा शिक्षालयमा गएर पढ्न पाएको धेरै भएको छैन । २००४ सालको असारमा काठमाडौंमा अछुतहरूका लागि छुट्टै विद्यालय खोलिएको थियो– ‘नेपाल ज्योत्सना विद्यालय’ । यस विद्यालय तःननीस्थित मंगलमान प्रधान ‘नेपाली’का काकाको घरमा तीन वर्षजति मात्रै चल्यो । यस सम्बन्धमा भुवनलाल प्रधानले आफ्नो पुस्तक ‘नेपालको जनक्रान्ति– २००७’मा लेखेका छन्, ‘यस विद्यालयमा दुईजना शिक्षक अछुत नै थिए । गोविन्दमान धोबी (मनोरञ्जन धोबी) र उनका भाइ । विद्यालयका संस्थापकहरु त्यसताका बारम्बार पक्रिने वा भारततिर लाग्ने गर्थे, त्यसैले यो विद्यालय दुई–तीन वर्ष मात्रै चालू रहन सक्यो ।’ 

यसबाट यो बुझिन्छ कि यो स्कुल नेवार समुदायभित्रैका ‘अछुत’ जातका लागि खोलिएको थियो । यस प्रसंगले शिक्षा क्षेत्रको हाम्रो अभ्यास, औकात र आन्दोलनलाई प्रतिविम्बित गर्छ । 
राणाकालमा नागरिकलाई पढ्ने अधिकार त्यति थिएन । प्रजातन्त्रपछि देशमा भटाभट विद्यालय खुल्न थाले । समाजमा जातीय छुवाछूत तीव्र रहेकाले अधिकांश स्थानमा दलितले कथित उच्च जातका मानिससँग हाराहारी बसेर पढ्न पाउँदैनथे । २००६ सालमा जन्मनुभएका मेरा बा भन्नुहुन्थ्यो, ‘हामीले रुखमुनि पढेका हौँ । म ठूला जातका विद्यार्थीभन्दा पर बसेर पढ्थेँ, सँगै बस्न पाउँदिनथेँ । पढ्न जाँदा गुरुका गाईवस्तुलाई घाँसको भारी लिएर जानुपर्थ्यो । दुःख गर्नुपर्ने, हेलाहोँचो सहनुपर्ने भएपछि जसोतसो कक्षा ४ सम्म पढेर छाडेँ ।’ 

उसो त, राणाकालमा पनि अपवादमा बनारस गएर पढ्ने र स्थानीय ठूलाबडाबाटै अक्षर चिन्ने दलितहरू थिए । १९७० मा जन्मिनुभएका मेरा हजुरबाले भानुभक्तको रामायण र केही पूजाविधिका पुस्तक पढ्न सक्नुहुन्थ्यो । 
जेहोस्, सीमित जात र घरपरिवारले चलाउने गुरुकुलको दायरा प्रजातन्त्रपछि केही फराकिलो बन्यो । सरकारले दिने छात्रवृत्ति र विदेशले दिने उच्च शिक्षाको छात्रवृत्तिमा सीमित जातकै हालीमुहाली चल्दै आयो । कानुन बनाएरै राज्यले विभेद सिकाएको थियो । गणतन्त्रपछि बहुआयामबाट विभेदविरुद्ध आवाज उठ्न थालेका छन् । राज्यले कसैमाथि कुनै पनि आधारमा विभेद गर्न नपाउने संविधान र कानुनहरू ल्याएको छ । यद्यपि मानिसको मानसिकता, चिन्तन र व्यवहारबाट विभेद हट्न सकेको छैन । 

समाजका न्यायप्रेमी व्यक्तिहरूले विभेदविरुद्ध आवाज उठाउँदै आएका हुन् । भर्खर–भर्खर लेखपढ गर्न सिकेका दलितहरूले पनि अहिले विभेदविरुद्ध आवाज उठाउन सिकेका छन् । उनीहरूका आवाजलाई शैली, प्रस्तुति र व्याकरणको मानकमा हेरिनुहुँदैन । तथ्य प्रमाण र तर्कका आधारमा हेरिनुपर्छ र स्थान दिइनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप