शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न माग

सोमबार, २३ साउन २०७९, १४ : ११
सोमबार, २३ साउन २०७९

नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाकी सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् । 

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद रहेको छ । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेल्बासेले संविधान संशोधन गरी त्यसलाई सात सदस्यीय बनाउन उपयुक्त हुने तर्क गरिन् ।

संवैधानिक परिषदसम्बन्धी विधेयक सभामा छलफल भईरहेको उल्लेख गर्दै उनले त्यसमा सो व्यवस्था गर्न सबै सांसदहरुको ध्यानाकर्षण समेत गराइन् । उनले भनिन्, ‘संवैधानिक परिषदमा संविधान नै संशोधन गरेर भएपनि सात सदस्य हुने व्यवस्था गर्न म माग गर्दछु । प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षको नेता, उपसभामुख रहने व्यवस्था छ । यसमा राष्ट्रियसभाको उपाध्यक्ष राखेर सात जनाको व्यवस्था गरियोस् भन्ने म माग गर्न चाहन्छु । यतिबेला संवैधानिक परिषद विधेयक हाम्रो हातमा छ । हामी संशोधनको तयारीमा छौं  । पास गर्ने तयारीमा छौं । म सबै माननीयज्यूहरुको यसमा ध्यान जाओस् भन्ने कुरा राख्न चाहन्छु । यो सात जनाको बनाइयोस्, जसबाट बहुमत ४ जनाको हुन्छ । चार जनाको कोरम पुगेपछि निर्णय गर्दाखेरी एउटा सम्मानजनक अवस्थामा हामीले देशका संवैधानिक अंगहरूमा त्यो नियुक्त गर्न सक्छौं भन्ने कुरा म यहाँ राख्न चाहन्छु ।’

सांसद बेल्बासेले संवैधानिक परिषदलाई आफ्नो काम सहज ढंगले अघि बढाउन पनि सात सदस्यीय बनाउन उपयुक्त हुने दावी गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप