राजनीतिप्रति युवाहरुको वितृष्णा
एक समय युवापुस्ताको दबदबा रहेको नेपाली राजनीतिमा युवाको उपस्थिति बिस्तारै पातलिँदै छ । पुरानाले मरिगए ठाउँ नछाडेको र अधिकांश युवा तिनकै पछुवामै रमाएका देखिन्छन् । आफ्नै युवावस्थालाई अघिल्ला पुस्ताका नेताहरूले भुलेको देखिन्छ । किनकि, आफू युवा हुँदाकै उमेर समूहको युवाले जिम्मेवारी खोज्दा उमेर नपुगेको, हतारिएको, अनुभव नभएको, अझ केही समय पर्खनुपर्ने वा धैर्य गुमाएको भन्ने गरिन्छ ।
यस्ता भनाइ मात्र होइन, आलोचनात्मक चेतलाई मूलधारका पार्टीहरूले नरुचाएको आभास सर्वत्र छ । परिणामतः युवाहरू राजनीतिबाट टाढिने क्रम बढ्दो छ । किन यस्तो हुँदैछ ? जवाफ अनेकौँ छन् । राजनीति गरिरहेका र यसलाई फोहोरी खेलको संज्ञा दिइरहेका दुवै थरीबाट युवालाई राजनीतिमा आउन हतोत्साही बनाउने गरेको पाइन्छ । यसमा युवापुस्ता सचेत बन्नैपर्छ ।
राजनीति फोहोर भयो भनेर किनारमा बसी औँला ठड्याएर मात्र युवाको दायित्व पूरा होला त ? अवश्य हुँदैन । उसले आफैँभित्र पसेर यसलाई सफा गर्ने आँट गर्नैपर्छ ।
नेपालका हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहासलाई हेर्ने हो भने अग्रपंक्तिमा देखिन्छ युवाहरुको भूमिका । आन्दोलनको मोर्चा सम्हाल्नेदखि लिएर नेताहरुलाई सुरक्षा दिनेसम्म । राजनीतिक दल अनि नेताको समर्थन र विरोधमा भिडन्तमा उत्रिने म्यादीको भूमिकासम्म युवाले निभाएको देखिन्छ । तर, युवालाई राजनीतिमा अवसर र जिम्मेवारी दिने विषयमा भने जुनसुकै पार्टीको पनि अवस्था कमजोर देखिन्छ । नेताहरुले चुनाव जित्न, आफ्नो पक्षमा जनमत सिर्जना गर्न र सुरक्षाका लागि युवाहरुलाई बढी प्रयोग गरेपनि जिम्मेवारी दिने विषयमा युवाहरुको त्यागको सम्मान हुने गरी उचित जिम्मेवारी दिएको देखिंदैन ।
नेपाली राजनीतिमा अहिले पनि राजनीतिक परिपक्वतालाई कपाल फुलेको, सक्रिय जीवन पार गरेको र जेलनेल भोगेको व्यक्ति हुनुपर्ने आमधारणा छ र धेरैजसो अभ्यास पनि यस्तै छ । जुन धारणाले युवालाई राजनीतिक अवसर र अर्थपूर्ण सहभागिता बनाउने विषयमा नेतृत्वमा आनाकानी भइरहन्छ ।
आफ्नो स्वार्थको लागि अरुको भविष्यलाई खाडलमा पुरÞ्याउने किसिमले कसैद्वारा परिचालित गर्न खोजिए पनि सचेत, निडर भई सही र सत्यको विश्लेषण गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने हुन्छ । सामान्य जनताको छोराछोरीलाई परिचालन गरी प्रसिद्धि मात्र प्राप्त गर्न केही व्यक्तिहरु लागे पनि सचेत युवाहरु लाग्नु हुँदैन ।
आफू सत्तामा पुग्न भातृसंगठनको विकास गर्ने होडबाजी प्रत्येक दलहरुमा देखिन्छ । तर कसरी राजनीतिक संस्कार सिकाउने भन्ने छैन । एकअर्कालाई गालीगलौजको सस्ंकृतिको विकास भएको छ । क्षणिक स्वार्थको लागि युवाहरुलाई लिने, अनि बीचैमा छाड्दिने प्रवृत्तिको कारण पनि युवा वर्गमा राजनीतिप्रति वितृष्णा उत्पन्न हुने गरेको छ ।
हालको राजनीति गुन्डागर्दी, अपराधीकरण, भ्रष्टाचारोन्मुख भएकाले आमनागरिकको राजनीतिप्रतिको दृष्टिकोण त्यति राम्रो छैन । राजनीति गर्न ज्यान बाजी थापेर खुकुरी बोकेर राजनीति किन गर्ने ? केका लागि गर्ने ? ‘सबै नेता भ्रष्ट हुन्, केही गर्न सक्दैनन्’ भन्ने बुझाइले पनि धेरै युवामा निराशा छाएको छ । आज राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न एउटा पूरै सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ । जसले आउँदै गरेको युवालाई राजनीतिमा संलग्न हुन अभिप्रेरित गरोस् ।
राजनीतिमा युवापंक्तिको आकर्षण वृद्धि गर्न राज्यका विभिन्न तह र स्थानमा युवाहरूको प्रतिनिधित्व वैधानिक तवरले सुनिश्चिन गर्नुपर्ने देखिन्छ । जस्तै स्थानीय, प्रदेश र केन्द्रीय तहमा उम्मेदवार चयन गर्दा हरेक पार्टीले न्यूनतम २५ प्रतिशत सिटमा ४० वर्षभन्दा मुनिका युवालाई अनिवार्य उम्मेदवार बनाउनुपर्ने, संघीय र प्रदेश सरकारमा न्यूनतम एक–एकजना ४० वर्षभन्दा कम उमेर समूहबाट मन्त्री छान्नुपर्ने प्रावधान राख्नुपर्छ ।
त्यसै गरी राष्ट्रिय पार्टीहरूका केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँ कमिटीमा कम्तीमा २५ प्रतिशत संख्या ४० वर्षमुनिका युवाका लागि सुरक्षित गर्नुपर्दछ । जसले गर्दा हरेक ठाउँमा युवाले आफ्नो प्रतिनिधित्व देख्न सक्छ ।
अवसरको न्यायोचित बाँडफाँट र क्षमतावानहरुको स्वस्थ्य प्रतिस्पर्धाका लागि सांसद, मन्त्री र पार्टी केन्द्रको कुन जिम्मेवारीमा कति पटकसम्म एउटा व्यक्तिले मौका पाउने, त्यसको सीमा र मापदण्ड तोकिनुपर्छ । यस्ता विधि र नीति बन्न सके राजनीतिमा युवाहरूको आकर्षण बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।
विश्वका विभिन्न देशका अभ्यास हेरौं, युवाहरुको नेतृत्वले देशले काँचुली फेरिरहेका प्रशस्त उदाहरण छन् । राजनीतिमा युवालाई कसरी संलग्न गराउने र उनीहरुको दिगोपनाका लागि के गर्ने ? आर्थिक रुपमा युवालाई कसरी टिकाइराख्ने ? यो विषय सम्बन्धित पार्टी अनि राज्यले सोच्नु जरुरी छ । सक्षम, पढेलेखेका युवालाई विदेश पलायन हुनबाट कसरी रोक्ने ? यो विषयमा राज्य गम्भीर हुँदै उचित कार्यक्रम र योजना ल्याउन जरुरी छ ।
निर्वाचन अत्यन्तै खर्चिलो हुँदा सामान्य हैसियतको व्यक्तिमा राजनीतिप्रति निराशा बढ्दै गएको देखिन्छ । जसको प्रभाव युवामा पनि परेको छ । जसले गर्दा सामान्य व्यक्तिको पहुँचभन्दा टाढाको विषय बनिरहेको छ, निर्वाचन र राजनीतिक अवसर । त्यसैले, खर्चिलो र भड्किलो निर्वाचन प्रणालीको अन्त्य हुनुपर्छ ।
निर्वाचन आचारसंहिताले तोकेको सीमामा रहेर खर्च गर्ने परिपाटीको विकास हुने हो भनेमात्र असल राजनीतिक संस्कारको विकास हुन सक्छ र युवामा पनि सकारात्मक सोचको विकास हुन सक्दछ । यी र यस्ता धेरै बिषय छन्, जसले राजनीतिमा युवा सहभागिता बढ्ने वातावरण बन्छ ।
लेखक सामाजिक अभियन्ता हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात