शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइसल्याण्डको ज्वालामुखीले खोल्यो धर्तीको ढोका, हेर्नुहोस् तस्बिर

सोमबार, २३ साउन २०७९, १२ : ३६
सोमबार, २३ साउन २०७९

आइसल्याण्डको राजधानी रेकजाविकमा अघिल्लो वर्ष फुटेको ज्वालामुखीबाट पुनः एकपटक लाभा निस्किरहेको छ । फागराडाल्सफाल माउन्टेनमा रहेको यो ज्वालामुखीले यतिबेला विश्वका विभिन्न स्थानका पर्यटकलाई आकर्षित गरिरहेको छ । यो लाभा हेर्नका लागि हज्जारौँको संख्यामा मानिसहरु आइरहेका छन् । यस्तै, अर्कोतर्फ वैज्ञानिकले यो बिस्फोटले धर्ती भित्र अर्को नयाँ ढोका खोलिदिएको बताएका छन् । जुन धर्तीको मेन्टल (Mantle) सँग सिधा जोडिएको छ ।  

ज्वालामुखी रेकजाविकको केफ्लाविक विमानस्थलबाट ३२ किलोमिटर मात्रै टाढा छ । हरेक विमानले उडान भर्नु अघि र अवतरणको समयमा मानिसहरुलाई यताबाट घुमाएर लगिरहेका छन् । सोसल मिडियामा फोटो–भिडियो भाइरल भइरहेका छन् । तस्बिर सुन्दर त छन् नै तर त्यत्तिकै भयावह पनि । पहिला ज्वालामुखी एउटै स्थानबाट निस्किरहेको थियो तर अब ढोका खोलिएपछि विभिन्न स्थानबाट लाभा निस्किरहेका छन् ।

ज्वालामुखीबाट निस्किरहेको लाभा र धुँवाको मुस्लोमा पनि फ्लाइट रद्द भएका छैनन् । विमानस्थल पनि खुला छ । यो ज्वालामुखी पाँच दिन अघि हल्का भूकम्पपछि बिस्फोट भएको थियो । त्यतिबेलादेखि लगातार लाभाको नदी बगिरहेको छ । बिस्फोट त्यसै स्थान वरिपरि भइरहेको छ जहाँ अघिल्लो वर्ष मार्चमा भएको थियो । अघिल्लो वर्ष पनि लगातार थुप्रै महिनासम्म लाभा बगिरहेको थियो ।

वास्तवमा आइसल्याण्ड उत्तरी अटलान्टिकको ज्वालामुखीय इलाकामाथि बसेको छ । यहाँ हरेक चार–पाँच वर्षको अन्तरमा यस्ता खालका ठूला बिस्फोट भइरहन्छन् । सबैभन्दा खतरनाक बिस्फोट सन् २०१० मा भएको थियो । यो बिस्फोट Eyjafjallajokull volcano मा भएको थियो । धुँवा र धुलोको बादल वायुमण्डलसम्म पुगेको थियो । यसको कारण युरोप र उत्तरी अमेरिकामा उडान बन्द भएको थियो ।

Eyjafjallajokull volcano का कारण १ लाख उडान जमिनमा आएका थिए । करोडौँ यात्री भिन्न–भिन्न विमानस्थलमा फसेका थिए । तर यसपटकको बिस्फोटले त्यस्तो स्थिति त निम्तिएको छैन । पर्यटकका साथै यहाँ वैज्ञानिक पनि जम्मा भएका छन् । लाभाको स्याम्पल लिएर त्यसलाई अनुसन्धानका लागि पठाइँदै छ । लगातार बुलबुलजस्तै लाभा निस्किरहेको छ । दुर्गन्धयुक्त ग्यास बाहिर निस्किरहेको छ ।

स्थानीय प्रशासनका अनुसार यो ज्वालामुखीको खतरा स्थानीयलाई निकै कम छ । आसपास कोही पनि बस्दैनन् । आवासीय इलाका ज्वालामुखीबाट टाढा छ । यद्यपि, मानिसलाई ज्वालामुखीको नजिकै नजान आग्रह गरिएको छ । कुनै प्रकारको जोखिम मोल्न पनि बन्देज गरिएको छ । पछिल्ला केही दिनमा तीनजना पर्यटक घाइते भइसकेका छन् । यहाँ तातो लाभा र उड्ने गरेका तातो ढुङ्गाको मात्रै खतरा छैन । अचानक खतरनाक ग्यासको बुलबुले फुट्ने डर पनि छ ।

आइसल्याण्डकी प्रधानमन्त्री केटरिन जेकबस्डोटिरले यहाँ अहिले पनि स–साना भूकम्प लगातार आइरहेको बताएकी छिन् । उनले यो ज्वालामुखी अहिले नै शान्त होला जस्तो आफूलाई नलागेको बताएकी छिन् । कुनै दिन यो व्यापक रुपमा बिस्फोट हुने सम्भावना पनि रहेको उनले बताएकी छिन् । उनले भनेकी छिन्, ‘अचानक रुपमा हुने बिस्फोटको कसैले पनि भविष्यवाणी गर्न सक्दैन । तर हाम्रा वैज्ञानिकले निकै नजिकबाट यो ज्वालामुखीको गतिविधिमाथि निगरानी राखिरहेका छन् ।’

फागराडाल्सफाल माउन्टेनमा रहेको यो ज्वालामुखी बिस्फोट हुने बित्तिकै सोसल मिडियामा यसको फोटो–भिडियो भाइरल भए । त्यसलगत्तै यहाँ पर्यटकको बाढी नै आयो । कोरोना कालमा पर्यटनलाई झट्का लागेको थियो तर अहिले यो सुधारोन्मुख अवस्थामा छ । एयरलाइन्स कम्पनीले यो ज्वालामुखीबाट विमान उडाएर आफ्नो उडानको सुरु र अन्त्य गरिरहेका छन् । मानिसहरुले यो ज्वालामुखीलाई माथिबाट देख्न सकून् भनेर यस्तो गरिरहेका छन् ।

आइसल्याण्डलाई आगो र बरफको देश भनिन्छ । यहाँ मानिसहरु हिमनदी, ज्वालामुखी हेर्न आउँछन् । हाल यो ज्वालामुखीलाई ‘टुरिस्ट ज्वालामुखी’ भनिँदै छ । लाभाको बिस्फोट तेज र भयानक छैन । मानिसहरु यसको नजिक सडकबाट थोरै अफरोडिङ गरेर पुगिरहेका छन् । केही मानिसहरु ट्रेकिङ गरेर पनि पुगिरहेका छन् । मानिसहरु विषालु ग्यास र लगातार आइरहेको भूकम्पको पनि बेवास्ता गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप