शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

सोमबार, २३ साउन २०७९, १२ : १०
सोमबार, २३ साउन २०७९

न्याय परिषद्को बर्खास्तीमा परेकी उच्च अदालतकी पूर्व न्यायाधीश रेणुका शाहले पुनर्बहालीका लागि दायर रिट सोमबार पनि न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको छ । आइतबार बेन्च बस्न नभ्याएर सुनुवाइ नभएको उक्त मुद्दा सोमबार पनि न्यायाधीश सुवेदीको एकल इजलासमै परेको हो । 

गत असार २४ गते न्याय परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शाहलाई बर्खास्त गरेका थिए । परिषद्ले शाहलाई बर्खास्त गर्दा नियुक्ति लिने समयमा आफ्नो अयोग्यता लुकाएको आरोप लगाएको छ । 

न्याय परिषद्ले बर्खास्तीका लागि सिफारिस गर्दा शाहले निरन्तर १० वर्षसम्म वकालत गरेको नपाइएको र उच्च अदालतमा न्यायाधीश बन्ने तीन दिन अगाडि सम्म पनि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मा जागिर खाइरहेको पाइएको बताएको छ । 

न्यायाधीश शाहले उच्च अदालतको न्यायाधीशमा नियुक्ति लिँदा निरन्तर वकालत नगरेको र सिटिइभीटीमा जागिर खाएको बारे रातोपाटीले सप्रमाण समाचार प्रकाशन गरेको थियो ।  अर्धसरकारी निकायमा प्रशासन तर्फको काम गरेकी न्यायाधीश शाहले निरन्तर १० वर्षसम्म वकालत नगरेको पाइएपछि न्याय परिषद्ले उनलाई बर्खास्ती गरेको थियो । 

सोही बर्खास्ती विरुद्ध शाहले साउन १९ गते सर्वोच्च अदालतमा उक्त निर्णय बदर गर्न माग गर्दै रिट दर्ता गराएकी थिइन् । शाहको रिटमा न्याय परिषद, कामु प्रधानन्यायाधीश, कानुन तथा न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, दुई न्याय परिषद्का अन्य सदस्य, कामु मुख्य रजिष्ट्रार र न्याय परिषद्का सचिवलाई विपक्षी बनाइएको छ । 

रिट निवेदनमा उनले आफूलाई बलीकरकण गरिएको र आफ्नो योग्यता पुगेको दाबी गरेकी छिन् । यद्यपि रिट निवेदनमा उनले वकालत नगरेको विषय भने स्वीकार गरेकी छिन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप