शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ क्षेत्र नम्बर २ मा शंकर पोखरेल र कृष्णबहादुर महरा भिड्ने तयारी

स्थानीय तहको निर्वाचन परिणाम अनुसार कडा टक्करको सम्भावना
सोमबार, २३ साउन २०७९, २३ : ०५
सोमबार, २३ साउन २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा छन् । प्रदेशसभा सदस्य निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बन्न सफल उनी हाल पार्टीको महासचिव छन् । त्यसैले पनि उनी अब प्रदेश छाडेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा जुटेका हुन् ।

दाङ क्षेत्र नम्बर २ (क) बाट २०७४ सालको स्थानीय निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित उनी आसन्न निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने बताइएको छ । योसँगै २०७४ मा उनी निर्वाचित भएको प्रदेशसभा क्षेत्र दाङ–२ (क) मा एमालेबाट को उम्मेदवार बन्छ भन्नेबारे पनि लेखाजोखा हुन थालेको छ ।

उनले अहिले आफ्नो क्षेत्रमा चुनाव जित्ने विश्वासिलो पात्रको खोजी गरिरहेको एमालेका नेताहरु बताउँछन् । उनले जितेको दाङ–२ (क) मा एमालेबाट बलिभद्र राना र सीता न्यौपानेमध्ये कोही उम्मेदवार बन्न सक्ने चर्चा छ ।

राना एमाले लुम्बिनी प्रदेश सदस्य तथा निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष हुन् । यस्तै न्यौपाने घोराही उपमहानगरपालिकाको पूर्व उपमेयर हुन् । यस्तै दाङ क्षेत्र नम्बर २ (ख) बाट एमाले प्रदेश सचिव लक्ष्मण आचार्य, केन्द्रीय अनुशासन आयोग सदस्य  छविलाल ओली, प्रदेश सदस्य गिरीराज केसी उम्मेदवार बन्ने चर्चा छ ।

‘हेभी वेट’ भिडन्तको सम्भावना

दाङ क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको चुनाव क्षेत्र हो । २०७४ को निर्वाचनमा महरा सो क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । अहिले अवस्था फरक छ ।

यतिबेला पाँच दलीय गठबन्धन एकातिर छ भने एमाले अर्कोतिर छ । पाँच दलीय गठबन्धनबाट यस पटक महरा नै दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने सम्भावना छ । त्यो अवस्थामा एमालेका महासचिव शंकर पोखरेललाई चुनाव जित्न त्यति सहज भने देखिँदैन ।

अघिल्लो निर्वाचनमा महराले काँग्रेसका उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराएका थिए । महराले ४० हजार ४२ मत पाएका थिए भने खनालले २५ हजार ८९७ मत पाएका थिए । गत निर्वाचनमा दाङ क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभामा निर्वाचित एमालेका अमर डाँगी हाल माओवादी केन्द्रमा छन् । यसले गर्दा एमालेलाई दाङ क्षेत्र नम्बर २ (ख) प्रदेशसभा सिटमात्र नभएर प्रतिनिधिसभातर्फ समेत अप्ठ्यारो पर्न सक्ने अनुमान गरिएको छ ।

पोखरेलले आफूलाई पाखा लगाएको भन्दै डाँगी प्रदेश सांसदबाट राजीनामा दिएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनी अहिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजनीतिक सल्लाहकार छन् ।

कडा टक्करको सम्भावना

स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारहरुले पाएको मतलाई आधार मान्ने हो भने दाङ क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच कडा टक्कर हुने देखिन्छ । स्थानीय तह निर्वाचनमा दाङ क्षेत्र नम्बर २ भित्रका वडाहरुमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारले ३३ हजार ५९३ मत ल्याएका छन् । यस्तै, नेपाली काँग्रेसका उम्मेदवारले २३ हजार ३०१, माओवादी केन्द्रका उम्मेदवारहरुले १० हजार ४७८ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले २ हजार ९४२ मत ल्याएका छन् ।

यस आधारमा गठबन्धनको ३६ हजार ७२१ मत हुन्छ भने एमालेको ३३ हजार ५९३ मत रहन्छ । त्यसैले आसन्न निर्वाचनमा यो क्षेत्रमा एमाले र सत्तारुढ गठबन्धनबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप