शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनसम्पर्क समिति साइप्रसको दोस्रो अधिवेशन सम्पन्न

सोमबार, २३ साउन २०७९, ०९ : ५५
सोमबार, २३ साउन २०७९

नेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार साइप्रसको राजधानी निकोसीयस्थित आरबी कम्प्लेक्सको सभा हलमार्फत भर्चुअल माध्यमबाट अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आथित्यता रहेको थियो । 

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय लगायत पार्टीका केन्द्रीय नेता, विभिन्न जनसम्पर्क समितिका सभापतिहरू तथा काँग्रेसको विभिन्न प्रदेश तथा जिल्ला समितिका नेताहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको नेटवर्कलाई विश्वभर पुर्याउन जनसम्पर्क समितिहरूको भूमिका अपरिहार्य भएको भन्दै आसन्न निर्वाचनमा काँग्रेसलाई जिताउन जनसम्पर्क समितिहरुलाई प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका थिए । 

त्यस्तै, महामन्त्री थापाले जनसम्पर्क समितिहरुले सम्बन्धित देशमा रहेका नेपाली काँग्रेसलाई मात्रै संगठित गर्न नभइ स्वतन्त्र रुपमा रहेका व्यक्तिलाई समेत समितिमा गोलबद्ध गरी नेपाली काँग्रेसप्रति सद्भाव राख्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताए । 

कार्यक्रममा समितकी सभापति (हाल निवर्तमान) सीता अर्यालले पार्टीलाई बलियो बनाउन जनसम्पर्क समितिको भूमिका महत्वपूर्ण भूमिका हुने भन्दै पार्टीको केन्द्रीय समितिमा समेत जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई समेत पार्टीको केन्द्रीय समितिमा उम्मेदवार बन्न पाउने व्यवस्था गर्न आग्रह गरिन् । 

अधिवेशनले पुष्पा मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित समेत गरेको छ । निर्वाचित समितिको उपसभापतिहरूमा कुर्चुङ होल्मो लामा, पेम्बा ओमु लामा, महामन्त्रीमा लक्ष्मी काफ्ले, सहमहामन्त्रीहरुमा लक्ष्मिता गुरुङ, मनिषा राई कार्की, उर्मिला भट्टराई र रामसुन्दर यादव एवं कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद अधिकारी, प्रविनकिशोर धामी, सुवास भण्डारी, अम्बिका सिग्देल, अभय आचार्य, पदम बहादुर रेशमी र सीमाना लिम्बु छन् । अव सभापतिले १ जना महामन्त्री, १ जना कोषाध्यक्ष र ४ जना सदस्यसहित ६ जना मनोनित गर्नेछिन् । उक्त समितिको कार्यकाल ३ वर्षको हुनेछ । 

२०७४ सालमा गठित समितिले यसअघि २०७५ मा पहिलो अधिवेशन गरेको थियो । अगष्ट ११ तारिखमा निर्वाचित समितिको कार्यकाल सकिँदै थियो । कार्यकाल सकिनुअघि नै समितिले दोस्रो अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको हो । 

अधिवेशनले सभापति पुष्पा मिश्रसहित ३ जनालाई नेपाली काँग्रेसको महासमिति सदस्यको रुपमा मनोनयन गरेको छ । त्यसरी मनोनयन हुनेहरुमा सीता अर्याल र कुवेरसिंह मन्थाल रहेका छन् । त्यस्तै, थप ४ जनालाई महाधिवेशन प्रतिनिधिको रुपमा समेत मनोनयन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप