कसरी गर्न सकिन्छ सार्वजनिक शिक्षामा सुधार ?

person explore access_timeसाउन २३, २०७९ chat_bubble_outline0

नेपालको सन्दर्भमा कम चर्चा तथा प्राथमिकतामा परेको क्षेत्र हो सार्वजनिक शिक्षा । आधुनिक नेपाल (वि.सं.२००७ साल) को सुरुवातसँगै नेपालमा सार्वजनिक शिक्षाको सुधारका केही प्रयासहरु भए । तर ती प्रयास प्रायः असफल नै रहे । 


२०६२/०६३ पछि नयाँ व्यवस्था अनुकूलको शैक्षिक व्यवस्था स्थापना गर्ने उद्देश्यले २०७५ सालमा शिक्षामन्त्रीको अध्यक्षतामा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भयो । खुबै चर्चा पाएको उक्त आयोगले आफ्नो प्रतिवेदन तत्कालीन केपी ओलीको नेतृत्वको सरकारलाई  बुझायो । त्यो प्रतिवेदनको औचित्य पूर्ववर्ति ओली सरकारले पनि देखेन र वर्तमान सरकारले पनि सार्वजनिकीकरण गर्न आवश्यक ठानेन । यसले शिक्षामा थप अन्यौल सिर्जना गरेको छ ।



शिक्षाका सरोकारवालाहरूले सार्वजनिक शिक्षालाई कसरी सुधार्न सकिन्छ भन्ने सम्वन्धमा विभिन्न तर्क अघि सार्दै आएका छन् । पहिलो तर्क शैक्षिक प्रणाली नै त्रुटीपूर्ण भएकाले आमूल परिवर्तन आवस्यक छ, दोस्रो शैक्षिक प्रणाली भित्रका संरचना, नीति नियम प्रभावकारी रुपले परिचालित नभएका कारण समस्यादेखिएका हुन् । र, तेस्रो विद्यालयको पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षणविधिका वीच तालमेल हुन नसकेका कारण विद्यालय शिक्षामा सुधार हुन नसकेको हो । 



माथि चर्चा गरिएका यी तीन तथ्य र अवस्थामा हामी कहाँ चुक्यौँ या अल्मलियौं त ? प्रणालीमा, पाठ्यक्रममा या शिक्षण सिकाई प्रक्रियामा ? पछिल्ला दिनमा केही शिक्षाविद्ले केही फरक र मौलिक धारणा अघि सारेको पाइन्छ । हाम्रा पाठ्यक्रम स्तरीय र अन्तर्राष्ट्रिय स्तरका छन् तर पाठ्यक्रममा भएका विषयवस्तुलाई सिकारु समक्ष सहज ढंगले पुर्‍याउने तरिका या शिक्षण विधिमा समस्या छ । त्यसकारण सार्वजनिक शिक्षामा सुधार नभएको हो । 

विधिको सरल अर्थ हो तरिका । शिक्षण विधिलाई सिकाइको महत्वपूर्ण अंग मानिन्छ । सिकाइको सन्दर्भमा विधि भन्नाले पाठ्यक्रमले निर्दिष्ट गरेका विषयवस्तुलाई सरल ढंगले निर्धारित समयमा सिकारु समक्ष पुर्याउने कलालाई बुझाउँछ । अर्थात् शैक्षिक विधि त्यो साधन हो, जुन शिक्षक र विद्यार्थीका बीचमा संचालित शिक्षण सिकाइ क्रियाकलाप हो, जसको माध्यमबाट सिकाइ उद्धेश्य प्राप्त गर्न तथा सिकाइ अनुभव हासिल गर्न निर्देशित गरिन्छ । 

सिकाई प्रक्रिया या तरिकाका विभिन्न मान्यता छन् । परम्परागत सिकाइ विधिमा शिक्षकले आफूले जानेको या घोकेको विषयवस्तुलाई कक्षा कोठामा भन्नु या व्यक्त गर्नुलाई जनाउँछ भने आधुनिक शिक्षण विधिको अर्थ आफूले सिकेका कुरालाई विद्यार्थीहरुको व्यवहारिक जीवनमा लागु गर्न सिकाउनुलाई जनाउँछ । हाम्रो शैक्षिक प्रणालीको दोष यहीँनेर देखिन्छ । दक्ष भनिएका शिक्षकले अध्यापन गरेका विद्यार्थीले किताबी ज्ञानलाई व्यवहारमा उतारेको देखिन्न । यसरी पाठ्यक्रमले निर्दिष्ट गरेका कतिपय विषयवस्तु राम्रा भएपनि कक्षाकोठामा सिकेका ज्ञान सीपलाई कसरी व्यवहारिक जीवनमा जोड्ने ? यही विषय नै नेपालको शैक्षिक प्रणालीमा देखिएको गम्भीर समस्याको रुपमा लिन सकिन्छ ।

नेपालका सार्वजनिक विद्यालयमा गरिएका विभिन्न अध्ययनले के देखाएको छ भने नेपालका कतिपय विद्यालयमा शिक्षण मात्र हुन्छ, सिकाई हुँदैन । कतिपय विद्यालयमा सिकाई मात्र हुन्छ, शिक्षण हुँदैन । त्यस्तै कतिपय विद्यालयमा शिक्षण र सिकाई दुबै हुँदैन । केही सीमित विद्यालयमा शिक्षण र सिकाई दुबै हुन्छ । शिक्षण र सिकाई दुबै हुने गरेका विद्यालयको नतिजा र गुणस्तर दुबैमा अव्वल मानिँदै आइएको छ ।  

शिक्षणमा सामान्यतः के मान्यता राखिन्छ भने जबसम्म सिकाई हुँदैन, तबसम्म शिक्षण भएको मानिँदैन । नेपालका अधिकांश विद्यालयमा शिक्षण भएपनि सिकाई भएको देखिन्न । त्यसकारण हाम्रा शिक्षण संस्थाबाट उत्पादित जनशक्ति श्रम बजारमा बिक्दैनन् ।

हालै किङ्स कलेजका प्रेसिडेन्ट नरोत्तम अर्यालले उक दैनिकमा शिक्षासम्बन्धी लेखमा अमेरिका र वेलायतका केही नाम चलेका विश्वविद्यालय र कलेजका पाठ्यक्रमसँग नेपालको त्रिभुवन विश्वविद्यालयले निर्धारण गरी पठन–पाठनसंग तुलना गरी लेख लेखेका छन् । उनको विचारमा विकसित देशका विद्यालय/महाविद्यालयमा पठन–पाठन हुने पाठ्यक्रम र हाम्रो पाठ्यक्रमका वीच खासै तात्विक भिन्नता देखिदैन । उनले नेपालका शिक्षण संस्थाहरुमा ज्ञानलाई व्यवहारसँग जोड्ने शिक्षणविधि या सिकाई प्रक्रिया नै प्रभावकारी नभएको जिकिर गरेका छन् । 

यसरी विधि र प्रक्रियामा अमेरिका र वेलायतका शिक्षण संस्था र हाम्रा शिक्षण संस्थाबीच फरक देखिन्छ । अर्यालको तर्क छ, पाठ्यक्रम, शिक्षक र विद्यार्थी तीनै पक्ष अव्वल हुँदाहुँदै पनि शिक्षण सिकाई विधि अव्वल भएन भने शिक्षा व्यवहारिक र अर्थपूर्ण हुँदैन । नेपालका शिक्षण संस्थामा प्रयोगमा ल्याइएका पाठ्यक्रम विदेशी विद्यालय/महाविद्यालयको समकक्षी हुँदाहुँदै पनि शिक्षण सिकाई प्रभावकारी नभएका कारण विद्यार्थीमा जुन हिसावले ज्ञान र सीपको स्थानान्तरण हुनुपर्ने हो, त्यो हुन सकेको छैन । 

पश्चिमा देशमा सार्वजनिक शिक्षाको विषयमा धेरै बहस र अनुसन्धान भएका छन् । त्यसबाट प्राप्त निष्कर्षले त्यहाँको विद्यालय शिक्षा व्यवहारिक र जीवनोपयोगी देखिन्छ । यद्यपि विद्यालय शिक्षालाई समय सुहाउँदो, सर्वसुलभ र व्यवहारिक बनाउने सवालमा निरन्तर बहस र तद्नुरुपको खोज हुँदै आएको देखिन्छ । यी खोजका अधिकांश शीर्षक शिक्षण सिकाइसँग सम्बन्धित हुने गरेको देखिन्छ । 

अमेरिकी विश्वविद्यालयका प्रोफेसर जोनहल्टको यो भनाईले पनि त्यही कुरालाई पुष्टि गर्दछ, “राम्रो व्यवस्था वास्तविक सिकाइबाट मात्र पैदा हुन सक्दछ, त्यस्तो सिकाई जसले केटाकेटीको उत्सुकता शान्त पारोस्, जो केटाकेटीलाई आफ्नो जीवन र आफू बसिरहेको दुनियाँ बुझ्न सहायक होस्, जसले उनीहरुको विपन्न जिन्दगीलाई अलि राम्रो बाँच्न लायक बनाउन मद्दत गरोस् ।”

प्रोफेसर हल्टले अमेरिकी शिक्षा कमजोर हुँदै जानुका कारण बारेमा गरिएको खोजको निश्कर्ष यसरी निकालेका छन्, “जुन शिक्षकले स्कुललाई पूर्व अमेरिकीबाट हातमा लिए, ती सबै निम्न मध्यम वर्गीय, गैरबुद्धिजीवी विरोधी पृष्ठभूमिबाट आएका थिए । र, शिक्षालाई पनि प्रशासनिक सेवाको एउटा अंग मान्दथे । उनीहरु शिक्षामा रुचि भएर वा महत्व दिएर शिक्षा सेवामा प्रवेश गरेका थिएनन् । जो मानिस यस्ता क्षेत्रबाट आउँछन्, तिनीहरु असल शिक्षक बन्न सक्दैनन् । उनीहरु भर्खर–भर्खर गरिबीको रेखामूनिबाट उठेका हुन्छन् । त्यसैले गरीबका केटोकेटीलाई भय, घृणा र अवहेलनाको दृष्टिबाट हेर्दछन्, चाहेर पनि उनीहरुले तिनको भावनालाई लुकाउन सक्दैनन् ।”

अमेरिकी विद्यालयहरुमा खस्कँदो शिक्षाको अवस्थाका बारेमा गरिएको अध्ययन नेपालको विद्यालय शिक्षामा पनि अनुकरणीय देखिन्छ । नेपालका विद्यालयमा कार्यरत प्रायः सबै शिक्षक निम्नमध्यम वर्गीय परिवारका, कहीँकतै अवसर नपाएकाहरु रहेका छन् । उनीहरुले विद्यार्थीहरुमा नयाँ ज्ञान र सीप हस्तान्तरण गर्नुको सट्टा आफ्ना कुण्ठा विद्यार्थीसमक्ष राख्दछन्, जसको कारण शिक्षण सिकाई प्रभावकारी हुन सकेको छैन ।

ज्ञान जीवित मानिसहरुको दिमागको एउटा प्रक्रिया हो । हामी के हो, कहाँ छौं ? हाम्रो वरपर के भैरहेको छ ? भनेर जान्ने प्रयासमा बालबालिकालाई जति उत्प्रेरित गर्न सक्यो, त्यति नै उनीहरुको ज्ञान र सीपको भण्डार बढ्दै जाने हो । ज्ञानको भण्डारलाई जोड्ने काम सिकाई विधिबाट मात्र संभव हुन्छ । शिक्षकले विद्यार्थी/बालबालिकाहरुलाई सिकाउने ज्ञान (सिकाइ) उसको जिन्दगीलाई जोड्ने खालको हुनुपर्दछ । सिकाइले बालबालिकाहरुको जिन्दगीलाई जोड्न सकेन भने त्यो सिकाई अपूर्ण हुन्छ । हाम्रा शिक्षण संस्थाहरुले यस्तै अपूर्ण ज्ञान सिकाइरहेका छन् । 

शिक्षा व्यवहारिक र भविष्यदृष्टि हुनुपर्दछ । एउटा सिकारुका लागि शिक्षा साधन मात्र होइन, साध्य पनि हो । शिक्षा आफैमा जीवन पनि हो । शिक्षालाई व्यवहारिक र भविष्यदृष्टि बनाउने काम निर्दिष्ट पाठ्यक्रमले मात्र गर्दैन । त्यसलाई जीवन्तता दिने काम प्रभावकारी सिकाई विधिबाट मात्र संभव हुन्छ ।  

नेपालका विद्यालयहरूको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षकहरुलाई तालिम दिने प्रचलनको सुरुवात नयाँ शिक्षा (२०२८) लागू भएदेखि हुँदै आएको छ । शिक्षक तालिमका लागि राज्यले अरबौं लगानी पनि गरेको छ । तर राज्यको लगानी बालुवामा पानी हालेजस्तो भएको छ । शिक्षकहरुले तालिमलाई व्यक्तिगत फाइदाको प्रयोजनका लागि (प्रमोसन, ग्रेडवृद्धि जस्ता कार्य) मात्र प्रयोगमा ल्याएको देखिन्छ । 

शिक्षणलाई प्रभावकारी बनाउने सवालमा शिक्षकहरुले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप बालबालिकाहरुको पठन–पाठनमा प्रयोग गरी शिक्षण सिकाइमा सुधारमा आएको देखिन्न । शिक्षकले तालिमबाट प्राप्त गरेको सीप वास्तविक शिक्षणमा प्रयोगमा ल्यायो कि ल्याएन भनी अनुगमन गर्ने प्रभावकारी संयन्त्र पनि छैन । संघीय संरचनाअनुसार विद्यालय शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएपछि भने विद्यालय शिक्षा झन अस्तव्यस्त बन्दै गएको देखिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।