शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन मन्त्रालयका दुई शाखा अधिकृतले यसअघि नै बुझेका थिए ८ लाख घुस

मन्त्रालयका सचिवका लागिसमेत भनेर मागियो रकम
सोमबार, २३ साउन २०७९, ०९ : ३८
सोमबार, २३ साउन २०७९

गत साउन १७ गते मंगलबार साँझ ५ बजेर १८ मिनेट जाँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुस रकमसहित पक्राउ परे । प्याराग्लाइडिङ उडान अनुमतिका लागि पटकपटक घुस मागेर हैरानी दिएपछि सेवाग्राहीकै उजुरीका आधारमा नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ६ लाख घुस लिइसकेपछि पक्राउ गरेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन महाशाखाका प्रमुख छन्, सहसचिव बुद्धिसागर लामिछाने । त्यही महाशाखाले प्याराग्लाइडिङ उडान अनुमतिको स्वीकृति दिन्छ, त्यसका लागि विविध अध्ययन र प्रतिवेदन पेस गर्नुपर्छ । सोही महाशाखा अन्तर्गत हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखामा सिनियर एअर ट्राफिक कन्ट्रोल अफिसर हुन्, प्रमोद नेपाल । उनै नेपालले सबै प्रक्रिया पूरा गरी कागजात पेस गर्दा पनि ६ लाख घुस नलिई उडान अनुमतिका लागि फाइल अगाडि बढाएका थिएनन् । शाखा अधिकृतदेखि घुस दिँदै आएका पर्यटन व्यवसायीसँग प्रत्येक शाखामा फाइल अड्काएर घुस माग्न थालेपछि हैरान भएर अख्तियारमा उजुरी गरेका थिए । र, सोही उजुरीका आधारमा साउन १७ गते मंगलबार नागपोखरीमा रहेको होटल अरण्यमा ६ लाख घुस बुझाइसकेपछि उपसचिव प्रमाोद नेपाल पक्राउ परेका थिए ।

शुक्रबार रातोपाटीको सम्पर्कमा आएका पर्यटन व्यवसायी पूर्ण चौलागाईले प्याराग्लाइडिङ उडानको अनुमति लिने सम्बन्धमा आफूहरूलाई कति दुःख दिइयो र कुन–कुन कर्मचारीले कति रकम घुस खाए भनेर फेहरिस्त दिएका छन् । चौलागाईका अनुसार त्यसभन्दा अगाडि नै तत्कालीन एटीसी अफिसर मुकेश डंगोल र एरोनोटिकल इञ्जिनियर तनुजा पोखरेलले समेत चौलागाईसँग घुस लिइसकेका थिए ।

यस्तो छ, प्याराग्लाइडिङ अनुमतिको निवेदनदेखि अन्तिम पटक घुस दिँदासम्मको फेहरिस्त

पर्यटन व्यवसायी पूर्ण चौलागाई र टेक बहादुर पुनको समूहले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ५ शिख भन्ने स्थानमा प्याराग्लाइडिङ सेवा सञ्चालन गर्न लागेको थियो । पुनहिल नजिकैको खोप्रादेखि स्वाँत भन्ने स्थानसम्म प्याराग्लाइडिङ उडानका लागि भन्दै ग्लोबल ट्राभल एण्ड एड्भेन्चर्स प्रालिले २०७६ पुस २४ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको थियो । निवेदनसँगै उनीहरूले पाँच हजार रुपैयाँको भौचर काटेर शुल्क पनि तिरिसकेका थिए ।

अन्यत्रको फिजिबिलिटी रिपोर्ट स्वीकार नै गर्दैनन् मन्त्रालयका कर्मचारी

२०७६ पुस २४ गते उडान अनुमतिका लागि निवेदन दिएपछि व्यवसायीले बाहिरबाटै फिजिबिलिटी रिपोर्ट बनाएर मन्त्रालयमा पेस गरे । तर बाहिरबाट बनाएको फिजिबिलिटी रिपोर्ट मन्त्रालयले विभिन्न बहाना बनाएर स्वीकार गर्न मानेन । पर्यटन व्यवसायीले बाहिरबाट २५ हजारदेखि ५० हजारसम्म शुल्क तिरेर तीनपटक फिजिबिलिटी रिपोर्ट बनाएर मन्त्रालयमा पेस गरेका थिए । तर तीनैपटक ती फिजिबिलिटी रिपोर्ट रिजेक्ट गरियो । रिजेक्ट हुनुको कारण के हो र के मिलेन भन्दा पनि उनीहरूले जवाफ नै दिएनन्, बरु ‘जसले बनाएको हो उसैलाई सोध्नुहोस्, के मिलेन भनेर’ भन्ने जवाफ मात्रै दिइरहे ।

त्यसपछि बाहिरबाट नहुने रहेछ भन्ने लागेपछि पूर्ण चौलागाई आफैँले ‘तपाईंहरु नै भनिदिनोस् न त कसले बनाएको फिजिबिलिटी रिपोर्ट मान्य हुन्छ भनेर सोधेपछि निवेदन दिएको चार दिनपछि सोही मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोलले आफ्नो मोबाइल नम्बर दिँदै बेलुका मलाई फोन गर्नुहोस् भने ।

त्यसपछि पर्यटन व्यवसायी पूर्ण मुकेशको नम्बर लिएर कार्यालय फर्किए र साँझ मुकेशलाई फोन गरे । मुकेशले बाहिरबाट ल्याएको फिजिबिलिटी स्टडी स्वीकार्य नहुने भन्दै त्यहीँका कर्मचारीले बनाए मात्रै एसेप्ट हुने र त्यसका लागि ६ लाख रुपैयाँ चाहिने बताए । तीनपटक फिजिबिलिटी रिपोर्ट रिजेक्ट भइसकेपछि पूर्ण मुकेशलाई ६ लाख रुपैयाँ बुझाएर फिजिबिलिटी रिपोर्ट लिन बाध्य भए । अनि ६ लाख रुपैयाँमध्ये तीन लाख रुपैयाँ ललितपुरको लबिम मल पुगेर रिपोर्ट बनाउनुभन्दा पहिले बुझाए भने ३ लाख रुपैयाँ लाजिम्पाटको एक रेष्टुरेण्टमा फिजिबिलिटी रिपोर्ट तयार पारेपछि बुझाए । यो २०७६ पुस २९ गते थियो । बाहिरबाट २५ देखि ५० हजार रुपैयाँमै तयार हुने फिजिबिलिटी रिपोर्टका लागि मन्त्रालयकै एटीसी अधिकृत मुकेशले ६ लाख रुपैयाँ लिए र उनैले बनाएर ल्याइदिए, त्यसपछि मात्रै उक्त रिपोर्ट स्वीकार्य भयो ।

तर ६ लाख रुपैयाँ दिएपछि पनि मुकेशले रिपोर्टको दोस्रो कपी दिएनन् । एकमात्रै कपी बनाएर मुकेश आफैँले व्यवसायीसँग कम्पनीको छाप मागेर छाप लगाइदिए र हस्ताक्षर गर्न मात्रै बोलाए । अनि अब तपाईंको काम हुन्छ भनेर प्रक्रिया अगाडि बढ्यो । फिजिबिलिटी रिपोर्ट तयार भएसँगै तिनै मुकेश डंगोलले  २०७६ पुस २९ गते नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई पत्र लेखेर अध्ययनसहितको राय पठाइदिन भने ।

मन्त्रालयबाट पत्र गएसँगै क्यानले त्यसका लागि टिम तयार पार्ने भन्यो । केही समयपछि क्यानले टिम तयार पा¥यो र पर्यटन व्यवसायीले म्याग्दी जाने, आउने, खाने सबै व्यवस्था गरेर टोलीलाई लिएर गयो । क्यानले रायसहितको प्रतिवेदन पेस गर्दै प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने व्यहोराको पत्र दियो ।

उक्त पत्र मन्त्रालयमा आइपुग्यो । तर त्यही समयमा लकडाउन भएपछि बाँकी काम अगाडि बढेन । पर्यटन व्यवसायी चौलागाई पनि केही समयका लागि पेरिस पुगे । फर्केर आउँदा पनि लकडाउन र विविध कारणले काम अगाडि बढ्न सकेन ।

जब लकडाउन हट्यो, त्यसपछि उनीहरूले रोकिएको आफ्नो काम अगाडि बढाउन ताकेता गर्न थाले । तर जब मन्त्रालयमा ताकेता गरे, मन्त्रालयबाट फाइल गायब भइसकेको थियो । तीन महिना लगाएर फाइल खोज्न त लगाइयो, तर ती फाइल कहाँ पुग्यो पत्तो भएन ।

फाइल नै गायब भएपछि पूर्णले नयाँ फाइल बनाउनैपर्ने भयो । तर त्यसका लागि फेरि फिजिबिलिटी रिपोर्ट चाहियो । पहिले ६ लाख रुपैयाँ खर्च गरेर तयार पारिएको फिजिबिलिटी रिपोर्टको दोस्रो कपी पूर्णसँग थिएन । फिजिबिलिटी रिपोर्ट बनाउने मुकेश डंगोल त्यतिबेलासम्म अध्ययनका लागि भनेर जापान गइसकेका थिए । मुकेशलाई सम्पर्क गर्दा सम्पर्कमा समेत आउन चाहेनन् ।

त्यसपछि अब के गर्ने भनेर मन्त्रालयकै कर्मचारीलाई सोधियो । मन्त्रालयकै कर्मचारी शाखा अधिकृत एरोनोटिकल इञ्जिनियर तनुजा पोखरेलले आफूले बनाइदिने तर त्यसका लागि तीन लाख रुपैयाँ चाहिने बताइन् । पूर्णले पहिले नै ६ लाख खर्च गरेर बनाएको कारण तीन लाख रुपैयाँ दिन नसक्ने कुरा सुनाए । अन्तिममा २ लाख रुपैयाँमा फिजिबिलिटी रिपोर्ट बनाउने सहमति बन्यो ।

त्यसपछि तनुजा आफैँले करिब ढेड महिना अगाडि मध्य बानेश्वरको एक रेष्टरेण्टमा गएर २ लाख रुपैयाँ बुझिन् । आफूले २०२२ जुन १७ अर्थात् असार ३ गते शुक्रबार साँझ ५ बजे तनुजालाई पैसा बुझाएको पूर्णले रातोपाटीलाई बताए । आफूले केही रकम माछापुच्छ्रे बैंकको एटीएमबाट झिकेर दिएको र आफ्नै गाडीमा हालेर तनुजा र उनीसँगै आएका अर्का एक व्यक्तिलाई पनि पुर्‍याएको बताए । उनीहरू आफ्नो गाडीको पछाडिको सिटमा बसेका र त्यतिबेला आफूहरूले गोप्यरुपमा खिचेको भिडियोसमेत सुरक्षित रहेको पूर्णले दाबी गरे । उनीहरूले गाडीको पछाडि बसेर पैसा गन्दै गरेको भिडियो आफूसँग सुरक्षित रहेको पूर्णले बताए ।

त्यसपछि फिजिबिलिटी रिपोर्ट पाएपछि बाँकी समन्वयको काम पनि तनुजा आफैँले गरिदिइन् । त्यसपछि फाइल पुग्यो, उपसचिव तथा सिनियर एटीसी अफिसर प्रमोद नेपालको टेबुलमा । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा गोल्ड मेडल पाएपछि उनलाई छात्रवृत्तिमै थप अध्ययनका लागि बेलायतमा पठाइएको थियो । प्रमोद बेलायतबाट आफ्नो अध्ययन सकाएर ८ महिना अगाडि मात्रै नेपाल फर्किएका थिए । ‘विद्वान्’ उपसचिवले पनि प्याराग्लाइडिङको फाइल अगाडि बढाइदिएनन् । अनि किन फाइल अगाडि नबढेको हो भनेर एकपटक पहिले घुस लिने मुकेश डंगोल र तनुजा पोखरेल तथा उपसचिव प्रमोद न्यौपानेसहितलाई सँगै राखेर पूर्णले सहसचिव बुद्धिसागर लामिछानेलाई भेटे । उक्त भेटेमा सबैले फाइल रोकिँदैन र काम हुन्छ भनेर प्रतिबद्धता जनाए । तर अर्को दुई दिन पनि फाइल अगाडि नबढेपछि पूर्ण आफैँले सहसचिव बुद्धिसागर लामिछानेलाई सम्पर्क गरी मेरो फाइल किन अगाडि बढेन भनेर सोधे । जवाफमा उनले फाइल रोकिनुपर्ने कुनै कारण नभएको तर किन रोकिएको रहेछ म बुझ्छु भन्ने जवाफ दिए ।

 सोही दिन उक्त प्याराग्लाइडिङ कम्पनीका अध्यक्ष टेकबहादुर पुनलाई प्रमोद नेपालले फोन गरे । फोन गरेर पूर्णलाई नलिई तपाईंमात्रै आउनुस्, काम हुन्छ भने । पुनले सो दिन हुन्छ भने पनि भोलिपल्ट टेक र पूर्ण दुवैजना प्रमोद नेपाललाई भेट्न मन्त्रालय पुगे । 

यो करिब १० दिन पहिलेको कुरा थियो । मन्त्रालय पुगेर उनीहरु उपसचिव प्रमोद नेपालको कक्षमा छिरे, किनभने तनुजा पोखरेलले फाइल प्रमोदको कोठामा पुगेर अड्किएको जवाफ पूर्णलाई दिइसकेकी थिइन् । त्यसपछि प्रमोदले आफ्नो कक्षको गोप्य कोठामा लगे र डायरीमा लेखेर ७ दिन भने । पूर्णले ७ हजार कि सात लाख भनेर सोधेपछि प्रमोद नेपाल जङ्गिएर ‘तपाईं को सँग कुरा गर्दै हुनुहुन्छ थाहा छ ?’ भन्दै उठेर जान लागे । त्यसपछि पूर्ण र टेक ‘हामी सल्लाह गर्छौँ’ भन्दै बाहिरिए ।

भोलिपल्ट पूर्ण र टेकले पहिले पनि धेरै खर्च भइसकेको कारण अब धेरै पैसा दिन नसक्ने बताए । ६ लाख रुपैयाँभन्दा कम हुँदैन भन्दै प्रमोद सन्किए । त्यो प्रमोदकै कार्यकक्षमा भएको संवाद थियो र भिडियोसहित उक्त संवाद पर्यटन व्यवसायीले रेकर्डिङ गराएका थिए । पर्यटन व्यवसायीकै ‘स्टिङ’मा परेको कुरा प्रमोदलाई जानकारी थिएन । ‘हाम्रो फाइल के पुगेन, कहाँ पुगेन भन्नुहोस्, म कागजात ल्याउँछु’ भन्दा पैसा नभए आफूले पास गराए पनि सचिवले रोकिदिने भन्दै उक्त रकम सहसचिव र सचिवलाई पनि जाने उनले बताए ।

त्यसपछि अन्तिममा पूर्ण र टेकले ६ लाख दिने सम्झौता गरे र पैसा लिनका लागि नागपोखरीको होटल अरण्यमा भेट्ने सहमति बन्यो । तर सबै कागजात पूरा गर्दा पनि पटकपटक घुस मागेको कुरा पूर्णलाई चित्त बुझेन । पूर्णले प्रमोदसँगको सबै कुराकानीसहित उक्त भिडियो अख्तियारलाई बुझाए र उजुरी गरे । उजुरी प्राप्त भएसँगै अख्तियारको टोली पनि सक्रिय भयो ।

सोही होटलमा अर्का एक व्यक्तिसँग पनि घुस लिएका थिए प्रमोदले

साउन १७ गते मंगलबार अपराह्न प्रमोदले पूर्णलाई होटल अरण्यमा बोलाएका थिए । तर सोही समयमा प्रमोदले अर्का एक व्यक्तिलाई पनि बोलाएका रहेछन् । पूर्ण त्यहाँ पुग्दा प्रमोद अर्का एक व्यक्तिसँग कुराकानी गरिरहेका थिए । ढाका टोपी लगाएका लामा जस्ता देखिने ती व्यक्तिसँग प्रमोदले लामो कुराकानी गरे । ती व्यक्तिले पसलमा कपडा किन्दा दिने जस्तो एउटा सामान्य झोला बोकेर आएका थिए । लामो कुराकानीपछि ती व्यक्तिले प्रमोदलाई उक्त झोला दिए । प्रमोद आँफै उक्त झोला आफ्नो गाडीमा राख्न गए । अनि उक्त झोला राखेर प्रमोद पूर्णलाई भेट्न फेरि रेस्टुरेन्टमा उक्लिए । यी सबै दृश्य पूर्णले अलिक टाढाबाट हेरिरहेका थिए । सोही समयमा अख्तियारको टोलीले पनि उक्त होटल घेरिसकेका थिए ।

अनि थोरै समयको कुराकानी लगत्तै प्रमोदले पैसा मागे । आफूले पैसा ल्याएको तर आफ्नै झोलामा रहेको भनेपछि प्रमोदले अब काम बन्ने र पैसा आफ्नो गाडीमा राखिदिन भने । पूर्णले आफूले बोकेर ल्याएको ६ लाख रुपैयाँ प्रमोदको गाडीको ड्यासबोर्डमा राखिदिए र गाडीबाट बाहिर निस्किए । त्यसपछि प्रमोद गाडी चलाएर निस्कनै लाग्दा अख्तियारको टोलीले प्रमोदलाई नियन्त्रणमा लियो ।

अख्तियारको टोलीले सोधपुछ गर्दा उपसचिव नेपालले अख्तियारका कर्मचारीलाई उल्टै हप्काए । सूचना तथा जानकारी माग गर्दा पनि उनले कुनै जानकारी दिएनन् । सुरुमै गाडीको अगाडि रहेको ड्यासबोर्डबाट अख्तियारको टोलीले रकम झिकी यो रकम कहाँबाट आयो भनेर जानकारी माग गर्दा उपसचिव नेपालले आफूलाई उक्त रकमबारे केही जानकारी नभएको बताए । अख्तियारले सोधपुछ गर्दै गर्दा सँगै रहेका होटलका एक कर्मचारीले रातोपाटीसँग भने, ‘केही मान्छेहरू आएर सरकारी प्लेटकै गाडीलाई नियन्त्रणमा लिएर सोधपुछ गरे । अनि गाडीको अगाडिबाट पैसा निकालेर यो पैसा कसले किन दिएको भनेर सोध्दा उनले त्यो पैसाबारे आफूलाई जानकारी नभएको र कसैले फसाउनका लागि उक्त पैसा राखिदिएको हुनसक्ने भनेका थिए ।’

होटलका ती कर्मचारीका अनुसार उपसचिव नेपालले अख्तियारका कर्मचारीसँग पनि हप्कीदप्की गरेका थिए । अख्तियारको टोलीले सुरुमा गाडीको अगाडि भागबाट ६ लाख रुपैयाँ मात्रै बरामद गरेको थियो । त्यसपछि गाडीको खानतलासी गर्ने क्रममा गाडी भित्रबाट अर्को १६ लाख ५० हजार रुपैयाँ पनि बरामद भयो । तर त्यो पैसाको स्रोत पनि उनले खुलाउन सकेनन् ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालको गाडी खानतलासी गर्दा गाडीको पछाडिको सिटमा राखेको अवस्थामा थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो । उक्त रकमको स्रोतबारे सोध्दा उनले चित्तबुझ्दो जवाफ दिन नसकेको प्रवक्ता भण्डारीले बताए ।

भण्डारीले रातोपाटीसँग भने, ‘सुरुमा हामीलाई ६ लाख रुपैयाँको मात्रै जानकारी थियो । सोही आधारमा हाम्रो टोली अनुसन्धानका लागि खटिएको थियो । तर जब ६ लाख घुस दिएर सेवाग्राही निस्किए, त्यस लगत्तै उपसचिव नेपाललाई पक्राउ गरी गाडी खानतलासी गर्दा गाडीको पछाडिको सिटबाट पनि थप १६ लाख ५० हजार रुपैयाँ बरामद भयो । उक्त रकमको स्रोतबारे सोध्दा उनले चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् । हामीलाई उक्त रकम पनि घुसबापत नै लिएको हो कि भन्ने शङ्का रहेको छ ।’

उता पीडित पर्यटन व्यवसायी पूर्ण चौलागाई उक्त रकम पनि घुसकै रकम भएको दाबी गर्छन् । आफू त्यहीँ रहँदा एक व्यक्तिसँग लामो कुराकानीपछि ती व्यक्तिले उक्त झोला दिएको पूर्णले बताए ।

आरोपितहरू भन्छन्, ‘मलाई केही भन्नु छैन’

प्रमोद नेपाल घुस प्रकरणमा मुछिएसँगै पर्यटन व्यवसायी पूर्ण चौलागाईले आफूले कुन कुन मितिमा कस कसलाई कति रकम घुस दिए भनेर फेहरिस्त खुलाएपछि हामीले मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोल र एरोनोटिकल इञ्जिनियर तनुजा पोखरेललाई सो प्रकरणबारे सोधेका थियौँ । दुवै जनाले यस सम्बन्धमा आफ्नो केही पनि भन्नु नरहेको रातोपाटीलाई बताए । सुरुमा तनुजालाई सम्पर्क गर्दा २ लाख घुस लिएको बारे आफूलाई थाहा नभएको बताएकी तनुजाले पछि मिति, स्थान र समयसमेत भनेपछि उनले ‘ए–ए’ मात्रै भनिन् । अन्तिममा ‘यस विषयमा आफूलाई केही भन्नु नरहेको’ भन्दै तनुजाले फोन काटिन् ।

त्यसैगरी आरोपित मुकेश डंगोलले आफू बिरामी भएर घरमै रहेको बताए । घुस प्रकरणसम्बन्धी समाचार लेख्न लागेको बताएपछि उनले ‘मलाई भन्नु केही छैन’ भन्दै फोन राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप