शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जघन्य अपराधमा प्रहरी नै संलग्न

वैशाख यता ४ प्रहरी पक्राउ
सोमबार, २३ साउन २०७९, ०७ : १०
सोमबार, २३ साउन २०७९

काठमाडौँ । समाजमा शान्ति र अमनचैन गराउने जिम्मेवारी पाएका प्रहरी कर्मचारी नै जघन्य प्रकृतिका अपराधमा संलग्न हुन थालेका छन् । विगतमा ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । तर, पछिल्लो समय लुट, अपहरण र बलात्कार प्रयास जस्ता जघन्य अपराधमा प्रहरी कर्मचारी संलग्न भएका घटना बाहिरिएका छन् । 

साउन १८ मा चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहायक सूर्य बहादुर राई अपहरणमा परे । लैनचौर स्थित चिनियाँ याङको फ्ल्याटमा पुगेका ६ जनाको समूहले उनीहरूलाई अपहरण गरेका हुन् । 

अपहरण गर्ने समूहमा पाटन उच्च अदालतका न्यायाधीशका निजी सुरक्षा अधिकृत (पिएसओ) ३६ वर्षका कर्ण बहादुर गुरुङ र प्रहरी वृत्त बालाजुमा कार्यरत २८ वर्षका शिव सुनुवार पनि संलग्न थिए । पिएसओ गुरुङ प्रहरी हवल्दार हुन् भने सुनुवार सादा पोसाकमा खटिने जवान हुन् । 

उनीहरू दुवैलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर  ‘अपहरण तथा शरीर बन्धक मुद्दा’मा अनुसन्धान गरिरहेको छ । चिनियाँलाई बन्धक बनाएर राखेको गोंगबु मित्रनगर स्थित स्वर्गद्वारी प्युठान होटल एण्ड लजबाट प्रहरीले हतकडी पनि बरामद गरेको थियो । सो हतकडी प्रहरी जवान सुनुवारले अपहरणमा प्रयोग गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

कानुन कार्यान्वयन गर्ने जिम्मा लिएका प्रहरी नै अपहरण जस्तो गम्भीर अपराधमा संलग्न हुनुमा ‘साङ्गठनिक नियन्त्रण प्रणाली’को कमजोरी रहेको बताउँछन् पूर्व आईजीपी सर्वेन्द्र खनाल । रातोपाटीसँग कुरा गर्दै खनालले भने–‘प्रहरीलाई गलत काममा संलग्न हुनबाट रोक्न साङ्गठनिक नियन्त्रण प्रणाली निर्भीक र मजबुत हुनुपर्छ ।’ 

२०७९ जेठ ८ मा काठमाडौँ महानगरपालिका–२६ लैनचौर स्थित ब्याडमिन्टन कोर्टबाट एक जना सुन व्यापारी लुटिए । लुटपाटमा संलग्न आरोपमा नुवाकोटको दुप्चेश्वर घर भएका २५ वर्षीय पेम्बा तामाङ र  दाङको बंगलाचुली घर भएका ३४ वर्षीय सालिकराम नेपाली पक्राउ परे । वैशाख १८ मा पक्राउ परेका सालिकराम नेपाली प्रहरी हवल्दार हुन् । उनी प्रहरी वृत्त मालिगाउँमा कार्यरत थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई डाँकाचोरी सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । लैनचौरको ब्याडमिन्टन कोर्टस्थित खाजा घरमा सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर नेपाली सहितको समूहले ३५ लाख लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईं अहिले हिरासतमा छन् । मुद्दा शाखामा कार्यरत चौलागाईंलाई हिरासतमा रहेकी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । आरोपपछि उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।  

साउन ११ मा बहुविवाह गरेका कसुरमा एक महिला थुनामा परेकी थिइन् । उनलाई असई चौलगाईंले साउन १२ मा राति २ बजे सोधपुछका लागी हिरासतबाट झिकाएका थिए । सोधपुछको आवरणमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

चौलागाईं विरुद्ध महिलाले जबरजस्ती करणी प्रयास गरेको आरोपमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर उनीमाथि अनुसन्धान भइरहेको छ । 

कानुन कार्यान्वयन गर्ने निकायका अधिकृतहरू निष्ठावान् र नैतिकतामा बस्नु जरुरी हुने बताउँछन् पूर्व आईजीपी खनाल । उनी भन्छन्–‘कमाण्डरले गलत काम गर्नेहरूलाई निर्मम रूपमा प्रहार गर्नुपर्छ किनभने, अपराध नियन्त्रण गर्ने जिम्मेवारी लिएकालाई आफूले बदमासी गर्ने छुट हुन्न ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप