समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका छन् । ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि आफूहरू प्रयत्नशील रहेको र विदेशिएका नेपालीलाई एक दिन स्वदेश फर्कनका लागि अपिल गर्ने दिनको प्रतिक्षामा आफू रहेको बताए ।
उनले नेपाली समुदायमा नकारात्मक प्रवृत्ति रहेको भन्दै त्यसलाई सकारात्मक नतिजामा परिणत गर्नुपर्नेमा जोड दिए । “हाम्रो समाजमा अहिले पनि नकारात्मक सोच राख्ने र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने मानिस रहेका छन् ।” उनले भने, “हिरोसिमामा बम हानेको ठाउँ मैले आज हेरेँ । यत्रो दुर्घटना र हत्या हुँदा जापानीको मनमा के होला ? मनोभावना कस्तो होला भनेर सोधेँ । तर जापानीहरूमा कुनै विद्वेष छैन । त्यो बेलाको परिस्थिति त्यस्तै थियो । अब हामीले मिहिनेत गरेर विकासमा केन्द्रित हुनुपर्छ भनियो ।”
पूर्वप्रधानमन्त्री दाहालले नेपालमा भने असाध्यै नकारात्मक सोच्ने मानिस रहेको भन्दै गुनासो गरे । जापानीहरूले पुरानो पीडा भुलेर देशलाई विकासको गतिमा अघि लगिसकेको उल्लेख गर्दै उनले नेपालमा भने देशको निम्ति मर्छु भन्दा पनि सुख नपाइएको बताए । संविधान जारी भएपछि दोस्रो पटक गत वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनले मुलुकलाई स्थिरतातर्फ लैजाने उनको भनाइ छ । उनले हरेक क्षेत्रलाई अगाडि बढाउने मुख्य विषय नै राजनीति नै भएकाले मुलुकमा कसरी राजनीतिक स्थायित्व प्रदान गर्ने होला भन्ने बारेमा सामूहिक रुपमा प्रयत्न गर्नुपर्नेमा जोड दिए ।
विकास र समृद्धिका लागि सुशासन नै प्रमुख आधार रहेको भन्दै उनले त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए । अध्यक्ष दाहालले सुशासन कायम गर्नका लागि देशभित्र र देशबाहिर रहेका सबै नेपाली समुदायको साथ खोज्दै भने, “आफू दुई पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचार भयो भनेर सुन्न परेन । यस आधारमा पनि म भन्न सक्छु, पहल गर्ने हो भने सुशासन सम्भव छ ।” उनले आफ्नै पहलमा मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर र ऊर्जा क्षेत्रमा दीर्घकालीन लक्ष्यका साथ अभियान अगाडि बढाइएको स्मरण गरे । उनले ऊर्जाको व्यापारमार्फत आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका काम अगाडि बढाइएको जानकारी दिए ।
अध्यक्ष दाहालले माओवादीकै पहलमा देशमा सङ्घीयता र गणतन्त्र आएको तथ्य पनि पेश गरे । उनले चालु आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकासका लागि गुणात्मक तबरले लगानी गर्ने वातावरण बनाइएको बताए । उनले देशभित्र राजनीतिक स्थायित्व र विकासका लागि आफूहरू लागि परेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन