शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण

आइतबार, २२ साउन २०७९, २१ : ३१
आइतबार, २२ साउन २०७९

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका बिरामीहरुका लागि एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण गरेको छ । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा आइतबार भएको एक कार्यक्रम आयोजना गरी प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेलाई एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण गरेका हुन् ।

बागमती प्रदेश सरकारको १ करोड रुपैयाँ लागतमा आपूर्ति केन्द्रबाट सोसाइटीलाई १ हजार १३० भाइल औषधी उपलब्ध गराएको आपूर्ति केन्द्रका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिए ।

सोसाइटीको सम्पर्कमा हालसम्म देशभर हेमोफिलियाका २० महिलासहित ७ सय ८० र बागमती प्रदेशमा २ सय ५० जना बिरामी रहेको रहेको अध्यक्ष घिमिरेले बताए । औषधी अभावमा गत वर्ष ४ जनाको मृत्यु भएको उनले बताए ।

नेपालभर करिव तीन हजारभन्दा बढी यस रोगका बिरामी रहेको अनुमान सोसाइटीले गरेको बताउँदै तौल र केशअनुसार औषधिको मात्रा प्रयोग गर्नुपर्ने उनले बताए । गतवर्ष १० लाख ५० हजार मात्रा प्रयोग गरिएको उनको भनाई छ । यसवर्ष होमियोफेलिया बिरामी बढ्दो क्रममा रहेकाले प्रदेश सरकारले उपलब्ध गराएको औषधी अपुग हुने उनले बताए ।

विगत लामो समयदेखि बाहिरी देशका दाताहरुले उपलब्ध गराएको केही मात्रामा औषधि प्रयोग गरेर बिरामीहरुको उपचारमा प्रयोग गरिएको उनले बताए । उक्त औषधी बजारमा सर्वसुलभ नपाइने र एक भायलको करिब ८ हजार रुपैयाँभन्दा बढी पर्ने हुनाले बिरामीहरुले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

पछिल्लो वर्षदेखि संघीय र प्रदेशका सरकारले खरिद प्रक्रिया अगाडि बढाएर उपलब्ध गराउँदै आएकाले केही सहायता भएको अध्यक्ष घिमिरेले बताए । उनले यस्तो रोग वंशानुगत ७० र पोषणका कारण ३० प्रतिशत रोग लाग्ने सम्भावना रहने बताए ।

नागरिकको स्वास्थ्य उपचारप्रति सरकार गम्भिर छ : मन्त्री लामा

कार्यक्रममा बोल्दै मन्त्री लामाले प्रदेशका नागरिकको स्वास्थ्य उपचार प्रति सरकार गम्भिर रहेको बताएका छन् । उनले विकास बजेट कटाएर भएपनि प्रदेशका नागरिकहरुलाई स्तरिय र सर्वसुलभ स्वास्थ्य उपचार दिलाउन प्रदेश सरकार सक्रिय रहेको बताए ।

उनले बागमती प्रदेश सरकारबाट प्राप्त सहयोगको औषधी हेमोफिलियाका बिरामीका लागि सर्वसुलभ रुपमा उपलव्ध गराउन हेमोफिलिया सोसाइटीलाई आग्रह गरेका छन् । उनले प्रदेश सरकार यस्तै खाले अन्य रोगका विरामीहरुको लागि औषधी र उपचारको व्यवस्था गर्न प्रतिवद्ध रहेको बताए ।

मन्त्री लामाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले औषधी एवं उपकरण र औषधी खरिदका लागि बजेट विनियोजन गरिसकेकाले खरिद प्रकृया अघि बढाइएको समेत बताएका थिए । उनले विद्यालय नर्स कार्यक्रममा पनि यस्ता रोगबारे जानकारी गराउनुका साथै त्यस्ता बिरामीहरु पत्ता लगाउन आग्रह गरिने बताए । गत वर्ष पनि औषधी उपलब्ध गराएको र यस वर्ष अनि आगामी वर्षका लागि पनि आवश्यक बजेट राखिएको बताएका छन् ।

के हो हेमोफिलिया ?

हेमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशानुगत समस्या हो । सामान्य मानिसको शरीरमा घाउ चोट लाग्दा बगेको रगत जमाउने तत्व हुन्छ । यसले सामान्य चोटपटक लाग्दा धेरै रक्तश्राव हुन दिँदैन । रगत जमाउने सोे प्रक्रियालाई ‘क्लटिङ फ्याक्टर’ भनिन्छ । तर, हेमोफिलियायुक्त व्यक्तिमा भने क्लटिङ फ्याक्टर कम मात्रामा हुन्छ । यसले सामान्य चोटपटकमा पनि लामो समयसम्म रक्तश्राव भइरहन्छ ।

‘क्लटिङ फ्याक्टर’ ले रक्तस्राव भएको स्थानका रक्तनलीहरूमा सङ्कुचन, प्लेटलेट प्लागको निर्माण, छालामा फाइब्रिन जालोको निर्माण गरी शरीरले रक्तश्राव रोक्छ । तर, हेमोफिलियायुक्त व्यक्तिमा फ्याक्टर ८ वा फ्याक्टर ९ को मात्रा रगतमा कम हुने भएकाले छिट्टै फाइब्रिन जालोको निर्माण हुन सक्दैन र रक्तश्राव धेरै समयसम्म जारी रहन्छ र थप जटिलता सिर्जना हुन्छ ।

‘फ्याक्टर ८’ कमी हुनेलाई हेमोफिलिया ‘ए’ र ’फ्याक्टर ९’ कमी हुनेलाई हेमोफिलिया ‘बी’ भनिन्छ । हेमोफिलिया भएका व्यक्तिहरुलाई घाउ, चोट, ठक्कर आदिका कारण मात्र नभई आन्तरिक रक्तश्राव भइरहने र अत्यधिक पीडा हुने हुन्छ । पटक पटकको रक्तश्रावका कारण जोर्नी वा मांसपेशीहरू सुन्निने र रक्तश्रावका कारण जोर्नीहरू बिग्रने, जोर्नीहरू बिग्रिएपछि नजिकका मांसपेशीहरू सुक्दै जाने र अन्ततः गम्भीर अपाङ्गता सिर्जना हुने समस्या हुन्छ ।

हेमोफिलिया एक ‘प्रसव पीडा’

हेमोफिलियालाई एक प्रकारले प्रसव पीडाको रुपमा पनि परिभाषित गरिन्छ । हेमोफिलियाका कारण समय–समयमा सिर्जना हुने पीडा प्रसव पीडाभन्दा पनि बढी हुने अध्यक्ष घिमिरेको अनुभव रहेको छ । उनले भने– ‘प्रसव वेदनामा नारी बढीमा २/३ पटक पीडित बन्नुपर्ला तर, एउटा हेमोफिलियायुक्त व्यक्तिले जीवनभर रक्तश्रावको घटनासँगै प्रताडित भइरहनुपर्छ ।’

रगतमा १३ वटा प्रोटिनयुक्त तत्व (फ्याक्टर) हुन्छन् । विशेष गरी रगतमा फ्याक्टर ८ र ९ डिफिसेन्सी भएको अवस्थामा हेमोफिलिया हुने गर्छ । हेमोफिलिया रोगको औषधी जीवनभर लिनुपर्छ ।

यो रोग मुख्यतः पुरुषमा बढी देखिन्छ । सो रोग आमाबाट पुरुष सन्तानहरुमा सर्छ । ‘फिमेल क्यारियर, मेल सफरर’ अर्थात महिला वाहक हुने र जन्मिएका पुरुषमा देखिने वंशाणुगत समस्या हो । तर म्युटेसनका एक तिहाई समस्या जो कोहीलाई पनि देखिन सक्छ ।

यो रोग ‘फिमेल क्यारियर, मेल सफर’ वंशानुगत समस्या भएकाले आमा बच्चाहरु बामे सर्दै गर्दा शरीरमा निलडामहरु देखिने, दाँत साटिँदा रक्तश्राव भइरहने, बेलाबेलामा जोर्नी तथा मांशपेशीहरु सुन्निने र अत्यधिक पीडा हुने, दिसा पिसाबमा रगत देखापर्ने लक्षण देखिन्छ ।

हेमोफिलियाका ३ वटा चरणहरु छन् । प्रारम्भिक चरण अन्तर्गत शरीरमा फाल्चा बनाउने घटक ५ देखि ५० सम्म हुन्छ । मध्यम चरणमा घटक एकदेखि ५ प्रतिशतसम्म हुन्छ । गम्भीर स्तरमा घटक एक प्रतिशतभन्दा कम हुने गर्छ । यस्तो रोग बच्चाको जन्मसँगै सुरु हुनसक्छ । कतिपय अवस्थामा बच्चाको जन्मपश्चात नै यो रोग पत्ता लाग्ने गर्छ । हेमोफिलिया मध्यम तथा गम्भीर प्रकारको भएमा बाल्यावस्थामै आन्तरिक रक्तस्रावका केही लक्षण देखा पर्ने गर्दछ ।

गम्भिर किसिमको हेमोफिलिया भएमा खतरा पनि धेरै हुने गर्छ । कहीँकतै तेज झट्का लागे मात्र पनि आन्तरिक रक्तश्राव सुरु हुन थाल्छ । यही रोग हल्का भएमा यसको लक्षणबाट सजिलै पत्ता लाग्दैन । जब बच्चाको दाँत निस्कन्छ र रगत बग्न बन्द हुँदैन, त्यतिबेला मात्र यो रोग पत्ता लाग्छ । कतिपय अवस्थामा के सम्म पनि हुन्छ भने घुँडामा चोट लाग्छ र रगत भित्रभित्रै जमेर बस्छ । जसका कारण घुँडा सुन्निने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप