बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

माओवादीलाई एमालेको ६०/४० को ‘पासा’ !

आइतबार, २२ साउन २०७९, २१ : १०
आइतबार, २२ साउन २०७९

आम निर्वाचनमा सत्तारुढ पाँच दलबीच चुनावी तालमेल गरेर जाने सहमतिसँगै सिटको भागबण्डा गर्न कार्यदल समेत बनिसकेको छ । तर, नेकपा एमाले भने सत्ता गठबन्धन भत्काउने प्रयत्नमा निरन्तर लागिपरेको छ । 
सोही रणनीतिअनुसार एमालेले सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा माओवादी केन्द्रलाई आफूतिर तान्ने प्रयत्न गरिरहेको हो । माओवादीसँग ६०/४० प्रतिशतका आधारमा सिटको भागवण्डा गरेर भएपनि एमालेतिर तान्नुपर्ने दवाव पार्टीभित्र बढ्दै गएको छ । 

उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङले केही दिनअघि मात्रै गठबन्धन भत्काउन अन्तिम समयसम्म एमालेले प्रयास जारी राख्ने बताएका थिए । सोही अनुसार आगामी प्रदेश र प्रतिनिधि सभा चुनावमा पाँच दलीय गठबन्धनमा भन्दा बढी सिट दिएर भएपनि माओवादीलाई एमालेतिर तान्न अध्यक्ष केपी ओलीमाथि नेताहरुले चर्को दवाव दिएका हुन् ।

ओलीले पाँच दलविरुद्ध एमाले एक्लै लड्न काफी भएको भन्दै अभिव्यक्ति दिने गरेपनि भित्री रुपमा एमालेकै दोस्रो तहका नेताहरु माओवादीसँग सहकार्यको नीतिबाट पछि हटेका छैनन् । पाँच दलीय गठबन्धनमा सीट बाँडफाँटका लागि कार्यदल बनिसकेपछि पनि एमालेलाई माओवादीसँग ६०/४० प्रतिशत भागवण्डा गर्न कुनै समस्या नहुने भन्दै ओली निवास बालकोटमा धाइरहेका छन् ।
‘हामीले केपी कमरेडलाई ६०/४० प्रतिशतका आधारमा एमाले माओवादी भागवण्डा गरौं भनेर धेरै पटक प्रस्ताव गर्यौँ । अहिले पनि भनि राखेका छौँ । तर, केपी कमरेडले विश्वस्त आधार खोजेर मान्नु भएको छैन’, एमालेका एक पदाधिकारी भने । 

ती पदाधिकारीका अनुसार एमाले–माओवादी ६०/४० भागवण्डा गरेर आधा आधा कार्यकाल प्रधानमन्त्रीमा सहमति गरेर भएपनि तालमेल गर्नुपर्ने पार्टीका दोस्रो तहका नेताहरुको जोड छ । तर, ओली प्रचण्डबीच यस्तो तालमेल गर्न विश्वासको वातावरण बन्न नसक्दा तालमेलले सार्थकता पाउन नसकेको ती पदाधिकारीको दाबी छ ।

‘जतिसुकै ठुला कुरा गरेपनि पाँच दलविरुद्ध एमाले लड्न गाह्रै छ । सजिलो छैन’ ती पदाधिकारीले रातोपाटीसँग भने, ‘तर, जनमतमा एमाले अझै बलियो भएकाले पहिलो वा दोस्रो दल निश्चित बन्छ भन्ने विश्वास छ ।’
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एमालेले सहकार्य गरेर धेरै फलिफाप नहुने एमाले दोस्रो तहका नेताहरुको बुझाइ छ । माधव नेपालसँग एकता वा सहकार्य नगर्दा पनि सो पार्टीका अधिकाश नेता कार्यकर्ता मूलघर (एमाले)मै फर्किने विश्वास रहेकाले नेपालसँगको सहकार्यमा भर नगरेको एमाले नेताहरुको भनाइ छ । 

माओवादी अध्यक्ष प्रचण्डसँगै छलफल गरेर वाम तालमेल गर्नुपर्ने एमाले दोस्रो तहका नेताहरुको दवाव अध्यक्ष ओलीमाथि बढाएपनि स्थानीय तह चुनावमा राम्रो जनमत पाएकाले प्रदेश र प्रतिनिधि सभाको नतिजा पनि एमालेकै पक्षमा हुन्छ भनेर ओलीले कार्यकर्तालाई हौस्याउने गरेका छन् । 

स्थानीय चुनावमा पाँच दलीय तालमेल थोरै स्थानमा भएकाले एमालेले फाइदा लिएको थियो । मंसिर ४ को चुनावमा भने एमालेलाई स्थानीय चुनावको जस्तो सहज हुने देखिएको छैन । केन्द्रबाटै तालमेल हुने भएकाले एमालेलाई पाँच दलका विरुद्ध जितेर नतिजा ल्याउन गाह्रो हुने भएकाले ओलीले भनेजस्तो नतिजा नआउने दोस्रो तहका नेताहरुको रिपोर्टिङ छ ।

उता माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन, शक्तिबहादुर बस्नेत लगायत एमालेसँगै तालमेल गरेमा दीर्घकालिन हुने भन्दै निरन्तर संवादमा छन् । ‘एमालेसँग जतिसुकै ठुलो मतभेद भएपनि वैचारिक र सैद्धान्तिक रुपमा मिल्ने काँग्रेसभन्दा एमाले नै हो । एमालेसँगै सहकार्य गरेमा पार्टीको वैचारिक उद्देश्यपनि पुरा हुन्छन्’ एक माओवादी स्थायी समिति सदस्यले रातोपाटीसँग भने,‘हामी एमाले विरोधी होइनौँ केपी ओली प्रवृत्तिका विरोधी हौँ । एमाले सिङ्गो नेतृत्व तयार भए तालमेल गर्न कुनै समस्या हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप