ताइवानविरुद्ध कठोर कदम चाल्न किन सचेत छ चीन ?
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले हालै गरेको ताइवान भ्रमणबाट सिर्जित राजनीतिक तरंग चीनमा अझै कम भएको छैन । नोभेम्बरमा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय कंग्रेस हुन लागेको सन्दर्भमा सीको लागि अहिलेको समय राजनीतिक रूपमा संवेदनशील रहेको बताइन्छ ।
सीले यस पटकको राष्ट्रिय कांग्रेसमा विगतको परम्परा तोड्दै पार्टी प्रमुखको रूपमा तेस्रो कार्यकालको लागि दावी दिँदैछन् । चीनमा केही दशकदेखि दुई कार्यकालको नियमजस्तै बनेको थियो । पेलोसीको भ्रमणविरुद्ध प्रतिक्रिया दिँदै गर्दा सी निकै सन्तुलिन हुनुपर्ने देखिन्छ । सैन्य प्रतिक्रिया सीमाभन्दा पर गए अमेरिका क्रुद्ध हुने कुरामा सी सचेत रहेको बताइन्छ ।
कोभिड–१९ नियन्त्रणका लागि चालिएका ठूल्ठूला लकडाउनबाट भर्खर बाहिरिँदै गरेका चिनियाँ अर्थतन्त्रलाई सी रुसको जस्तो पश्चिमका ठूला अर्थतन्त्रबाट अलगअलग गर्न सक्ने स्थितिमा छैनन् । त्यसैले पछिल्लो समय उनी निक्कै तौलिएर कदम चालिरहेका छन् ।
तर चीनभित्र बढिरहेको राष्ट्रवादी भावनाका कारण राष्ट्रपति सी जिनपिङमाथि केही ठूला कदम चाल्नुपर्ने दबाब परिरहेको छ । ‘सी जिनपिङले अहिले निकै जटिल सन्तुलन कायम गर्नुपर्नेछ । उनलाई आर्थिक वृद्धि कायम राख्नुपर्ने दबाब पनि छ, जुन अमेरिकाविरुद्ध उठाइने गम्भीर कदमले प्रभावित हुनेछ । अर्कोतर्फ ताइवानको बढ्दो अन्तर्राष्ट्रिय स्वीकृतिविरुद्ध कठोर कदम उठाउन चीनभित्रको राष्ट्रवादी शक्तिको दबाब परिरहेको छ,’ क्यानडाको म्याकडोनाल्ड लौरियर इन्स्टिच्युटका वरिष्ठ फेलो स्टीफन नागीले भने ।
चीनले ताइवान वरपरको समुन्द्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास संचालन गरिरहेको छ । उसले पहिलो पटक ताइवानको आकासमाथिबाट मिसाइल उडाएको छ । चिनियाँ अधिकारीहरूले २,००० भन्दा बढी ताइवानी खाद्यान्नको आयातमा प्रतिबन्ध लगाएका छन् भने ताइवानलाई निर्यात गरिरहेको बालुवामा पनि रोक लगाएको छ ।
गत हप्ता ताइवानी सरकारी वेबसाइटहरू विदेशबाट साइबर आक्रमण भएको समाचार आइरहेका छन् । ‘ताइवानलाई तर्साउने खालका चिनियाँ गतिविधि अझै सकिएको छैन । अझै केही महिनासम्म चीनबाट थप उत्तेजक सैन्य गतिविधि हुने मेरो प्रक्षेपण छ । थप साइबर आक्रमण हुनेछन् । चीनमा सञ्चालन रहेका ताइवानी व्यवसायहरू प्रतिबन्धित हुनसक्छन् । यस्ता हर्कतबाट ताइवानीहरूमाथि दबाब बढाउन माध्यमिक प्रतिबन्धहरूको पनि अपेक्षा गर्न सक्छौं ,’ नागीले भने ।
चीनको बढ्दो आक्रामकता कठोर कारबाहीको माग गरिरहेका चिनियाँ जनताको आह्वानले पनि निर्देशित छ । जसै अगस्ट २ को साँझ पेलोसीको विमान ताइपेई अवतरण भयो, चिनियाँ सामाजिक सञ्जाल अमेरिका विरोधी प्रतिक्रियाले भरिएका थिए ।
धेरै चिनियाँ नेटिजनहरूले पेलोसीको अवतरणपछिको रातलाई ‘निद्राविहीन रात’ को संज्ञा दिए । ‘लाखौं मानिसहरूले पेलोसीको विमानलाई ‘फ्लाइट ट्याकर’मा हेरिरहेका थिए । चिनियाँ नेटिजनको पोष्ट हेर्दा उनीहरुलाई साच्चै केही हुन लागेको भान परेको देखिन्थ्यो । तर पेलोसीको अवतरणपछि केही नभएपछि एक खालको निराश र क्रुद्ध भावना व्याप्त भएको थियो ।
‘जवाफी कारबाही’
ताइवानविरुद्ध पहिलेदेखि चर्को अभिव्यक्ति दिँदै आएका ग्लोबल टाइम्सका पूर्व–सम्पादक हू सिजिन बेइजिङले जनताको आशा अनुरुप बल प्रयोग नगरेकोमा खेद प्रकट गरेका थिए । ‘ताइवानविरुद्ध आम आक्रोस बढाउन हुले ठूलो भूमिका खेलेका थिए । उनले पेलोसीको विमानाई खसाल्न सकिने सुझाव दिएका थिए ,’ वाट्सन वेइबोकी प्रधानसम्पादक तथा चिनियाँ समाजिक संजालकी विश्लेषक मान्या कोएत्सेले भनिन् ।
चीन विज्ञ नागीका अनुसार सीले अहिले ताइवानविरुद्ध कठोर प्रतिक्रिया दिनुपर्ने ठूलो दबाब झेलिरहेका छन् । ‘चीन लोकतन्त्रिक मुलुक नभए पनि त्यहाँको सत्तारुढ पार्टीले महत्वपूर्ण मुद्दामा आम नागरिकको प्रतिक्रियामा जवाफ दिनुपर्ने आवश्यक ठान्छ,’ नागीले भने ।
विगतमा राज्य आफैले प्रवद्र्धन गरेको राष्ट्रवादी शिक्षा अनुरुप जनताले कठोर कदमको माग गर्न थालेपछि सरकार अफ्ठ्यारोमा परेको छ ।
‘सी विरोधी गुट हेर्दैछ दाउ’
चीनले अनलाइन माध्यममा आउने सामाग्रीहरुलाई कडा सेन्सर गर्ने गर्छ । तर यस पटक सरकार अनलाइन सुरु भएको उग्र राष्ट्रवादी वहस रोक्न ढिलो भएको हुन सक्ने कोएत्सेले आशंका गरिन् । चीनमा सिनजियाङ वा ताइवानको विषयमा हुने हरेक वहस धेरै संवेदनशील मानिने हुनाले यसअघि त्यसबारे गरिने हरेक छलफल छिट्टै सेन्सर हुन्थ्यो ।
तर ढिलै भए पनि पेलोसीको अवतरणपछि धेरै मानिसले वेईबोमा पहुँच पाउन सकेका थिएनन् । तिनले वेईबो खोल्न खोज्दा सर्भरमा समस्या आएको सन्देश आईरहेको थियो । उक्त अवरोध वेइबोमा गर्माएको राष्ट्रवादी भावनालाई मत्थर पार्न जानाजान गरिएको आशंका गरिएको कोएत्सेले बताइन् ।
चिनियाँ राष्ट्रपति सी नजिकिँदै गरेको महत्वपूर्ण पार्टी कंग्रेसको पूर्वसन्ध्यामा पार्टीभित्रकै उनका विरोधी आवाजप्रति पनि सचेत छन् । पार्टीपंक्तिका सीका विपक्षीहरूले पेलोसी भ्रमणलाई उनीविरुद्ध प्रयोग गर्ने दाउका रुपमा हेरिरहेका छन् ।
‘सी विरोधी गुटले पहिलेदेखि नै सीको १० वर्षे शासनमा चीनको अवनती भएको आरोप लगाउँदै आएका छन् । पश्चिमसँग सम्बन्ध चिसिएको, विश्वभर चीनको स्वीकार्यता हालसम्मकै न्युनस्तरमा पुगेको र अर्थतन्त्र संरचनात्मक तथा भूराजनीतिक रूपमा एक दशक अघिको भन्दा खराब स्थानमा खस्केको तिनले आरोप लगाईरहेका छन् ,’ नागीले भने । आन्तरिक विरोधको बावजुद ताइवान मुद्दाले सीको तेस्रो कार्यकाल प्राप्त गर्ने सम्भावनालाई खतरामा नपार्ने नागीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु