बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी गठबन्धनका लागि सीके राउतको दौडधुप

हाललाई एमालेसँग चुनावी गठबन्धन गर्न सहज
आइतबार, २२ साउन २०७९, १७ : ५७
आइतबार, २२ साउन २०७९

डा सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश तथा संघीय चुनावमा गठबन्धनका लागि विभिन्न दलका नेताहरुको घर घर पुगेर वार्ता थालेको छ । तर कुन दलसँग गठबन्धन हुने भन्नेमा निश्चित भएको छैन । जनमत पार्टीले हालसम्म एमाले, काँग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल गरिसकेको छ । यी वार्ता गरेको दलमध्ये जनमतलाई एमालेसँग चुनावी गठबन्धन गर्न सहज भए जस्तो देखिन्छ ।

जनमत पार्टीका एक शीर्ष नेताले भने, ‘अहिलेसम्म हामी जुन जुन दलसँग वार्ता गर्यौं, त्यसमध्ये एमालेसँग गठबन्धन हुने सम्भावना बढी देखिएको छ ।’ काँग्रेस, जसपा पहिलादेखि गठबन्धनमै छन् । लोसपा पनि सत्ता गठबन्धनमै जाने लगभग पक्काजस्तै भएको छ । त्यही भएर उनीहरु मनैदेखि सकारात्मक नदेखिएको ती नेताले बताए ।

एमाले अहिले कुनै दलसँग गठबन्धन नगरेको कारण त्यो दलसँग जनमतको गठबन्धन हुने सम्भावना रहेको ती नेताले बताए । कुन चुनावी क्षेत्रमा गठबन्धन गर्न सकिन्छ, त्यसको अध्ययन गरौं र गठबन्धन बनाएर अगाडि बढौं भनी एमालेबाट कुरा आएको जनमत पार्टीका ती नेताले बताए ।

साउन २ गते तपोवनमा नौ दिने ध्यान शिविरमा जानुअघि राउत र महासचिव चन्दन सिंहले जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका थिए ।

जनमत पार्टीका अध्यक्ष राउतले उनीहरुसँग भेटेको तस्विर सार्वजनिक गर्दै भनेका छन्, ‘जसपा अध्यक्ष उपेन्द्र यादव आफ्नो निर्वाचन क्षेत्र बदल्दै आउनु भएको छ । उहाँ पहिला मोरङ्ग, पछि सुनसरी, त्यसपछि सप्तरी आउनुभएको हो । र, यसपालि सप्तरीबाट लड्नुहुन्न भनेर चर्चा हुँदै आएको छ । जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि केही दिन अगाडि डा.राउतको निकै सकारात्मक भेटघाट भएको हो । उहाँहरूले अर्को क्षेत्र रोज्नुहुन्छ र डा. राउतलाई सघाउनु हुन्छ भनेर हामी विश्वस्त छौं ।’

भेटघाटमा संलग्न जनमत पार्टीका महासचिव चन्दन सिंहले लोसपा र जसपा गठबन्धनका लागि सकारात्मक रहेको दाबी गरे । यद्यपी औपचारिक रुपमा कुरा अगाडि बढ्न सकेको छैन । सप्तरी क्षेत्र नं २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले राउतलाई सघाउने कुरामा आफू विश्वस्त रहेको महासचिव सिंहको जिकिर छ । राउतको गृहजिल्लाका साथै उनको आफ्नो घर भएको क्षेत्र हो सप्तरी क्षेत्र नं २ । उनले भने, ‘हामीलाई विश्वास छ, उपेन्द्रजी सप्तरी–२ बाट चुनाव लड्नु हुन्न । अरु ठाउँबाट चुनाव लड्नु हुन्छ अनि त्यहाँ हामीलाई सघाउनु हुनेछ ।’

उनले एमालेसँग पनि गठबन्धनका लागि कुराकानी भइरहेको बताउँदै त्यहाँ पनि अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए । अरु दलभन्दा एमालेसँग अलि सकारात्मक कुरा भएको तर फाइनल नभएको सिंहको भनाइ छ ।

जेलमा रहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग पनि चुनावी गठबन्धनका लागि छलफल भइरहेको छ । रेशम चौधरीले पश्चिममा आफूलाई सघाए, पूर्वमा जनमतलाई सघाउने कुरा राखेको सिंहले बताए ।

त्यसो त जसपा अध्यक्ष यादवसँगको भेटमा राउतले ‍आफू सप्तरी–२ बाट चुनाव लड्ने विषयमा चर्चा समेत गरेका छैनन् । राउत तपोवनबाट फर्केपछि जसपाका अध्यक्ष यादव र लोसपाका अध्यक्ष ठाकुरसँग प्रत्यक्ष कुराकानी गरेका छैनन् । साउन १९ गते बसेको जनमत पार्टीको बैठकले अध्यक्ष राउत सप्तरी–२ नम्बरबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने निर्णय गरेको छ ।

जसपाका अध्यक्ष यादवले पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारी विगत पाँच वर्षदेखि गर्दै आएका छन् । जसपा सप्तरीका अध्यक्ष केदार यादवले केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाटै चुनाव लड्ने र त्यसको तयारी भइरहेको दावी गरे । यद्यपी अध्यक्ष उपेन्द्र यादव यसपटक पनि अन्यत्र कतैबाट चुनाव लड्न सक्ने चर्चा पनि पार्टीभित्र रहेको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप