शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वका १०० भन्दा बढी मुलुकले एक चीन नीतिप्रति प्रतिबद्धता जनाएका छन् : विदेशमन्त्री वाङ यी

आइतबार, २२ साउन २०७९, १८ : १२
आइतबार, २२ साउन २०७९

चीनका विदेशमन्त्री वाङ यीले कम्बोडियाको राजधानी फ्नोम पेनमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको पछिल्लो ताइवान भ्रमणको आलोचना गरेका छन् ।  उनलाई सोधिएका अधिकांश प्रश्न र उनले दिएको जवाफ पेलोसीको भ्रमणबारे केन्द्रित थिए । 

आसियान तथा साझेदार मुलुकहरुको विदेश मन्त्रीहरुको ५५ औं बैठकमा भाग लिन यी कम्बोडिया गएका थिए । त्यहाँ उनले चिनियाँलगायत विदेशी पत्रकारहरुको विभिन्न प्रश्नको जवाफ दिएका थिए । यीले सुरुमै पेलोसीको भ्रमणले चीनको सार्वभौमसत्तालाई गम्भीर प्रहार भएको आरोप लगाए । अमेरिका आफैले विगतमा ‘एक चीन नीति’प्रति प्रतिबद्धता जनाएको तर अहिले उसले उक्त नीतिको बेवास्ता गर्न लागेको यीको आरोप थियो । ‘यस्ता हर्कतले ताइवानमा कायम शान्ति र स्थीरतामा असर पर्छ ,’ यीले चेतावनी दिए । 

उनले ‘आफूहरुले चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने र चीनलाई घेर्न अमेरिकाले प्रयोग गरिरहेको ताइवान कार्डलाई निस्तेज बनाउने’ दावी पनि गरे । साथै उनले वर्तमान ताइवान सरकारले अमेरिकाको सहयोगमा स्वतन्त्रताको प्रयास गरिरहेको तर त्यो कल्पनाबाहेक केही नभएको बताए ।  

सन् २०१६ मा सत्तामा आएदेखि ताइवानको सत्तारुढ दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी ‘ताइवान स्वतन्त्रता’को दीर्घकालिन लक्ष्यमा अघि बढिरहेको वाङको संकेत थियो । वाङले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित अन्य देशको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सम्मान गर्न आग्रह गरे । ‘अहस्तक्षेपको नीतिलाई बेवास्ता गरियो वा परित्याग गरियो भने अमेरिका पूर्ण निर्लज्जताका साथ अन्य देशलाई धम्क्याउन थाल्नेछ । यो हुन नदिन सबै मुलुक एक जुट हुनुपर्छ,’ वाङले भने । 

विश्वका १०० भन्दा बढी मुलुकले एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको पनि उनले स्मरण गराए । विगतमा पनि अमेरिकी सभामुखले ताइवानको भ्रमण गरिसकेकाले अहिले पेलोसीको भ्रमण नौलो नभएको भन्ने अमेरिकी भनाइबारे सोधिएको प्रश्नमा वाङले ‘विगतको गल्तीलाई पुन गल्ती दोहो-याउने वहाना हुन नसक्ने ’ बताए । सन् १९९७ मा तत्कालिन सभामुख न्युट गिङरिचमा ताइवान भ्रमणमा गएका थिए । 

‘चीनले ताइवान वरपरको यथास्थिति बदल्ने प्रयास गरिरहेको छ भन्ने आरोप लाग्छ नि’ भन्ने पत्रकारको प्रश्नमा संयुक्त राष्ट्र संघ र अमेरिकाले एक चीन नीतिमा सहमती जनाएकाले आफूहरुले त्यो स्थितिमा कुनै फेरबदल नगरेको जोड दिए । बरु एक चीन नीतिप्रति अमेरिकाको प्रतिवद्धता धरमराएको उनको भनाइ थियो । 

वाङले ताइवान वरपर अमेरिकाको सैन्य तैनाथी बढेको प्रति सबै चनाखो हुन पनि बताए । ‘अमेरिकाको नीति नै छः पहिले समस्या सिर्जना गर्ने अनि त्यस समस्यालाई उसको कुत्सित मनोकांक्षा पुरा गर्न प्रयोग गर्ने । चीनको हकमा यस नीतिले काम गर्दैन । कुनै ठूलो संकट सिर्जना नगर्न हामी अमेरिकालाई चेतावनी दिन्छौं ,’ वाङले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप