बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दार्चुलामा अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण

आइतबार, २२ साउन २०७९, १६ : ४२
आइतबार, २२ साउन २०७९

स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले दार्चुलामा तीन जना अल्लो उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गरिएको छ । दार्चुलाको सदरमुकाम खलंगामा आज आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रविधि हस्तान्तरण गरेका हुन् ।

त्यसक्रममा उद्योगमन्त्री बडूले ग्रामीण क्षेत्रका घरेलु, साना तथा मझौला उद्योगहरुको प्रवद्र्धन, उद्यमीहरूलाई प्रोत्साहन र गुणस्तरीय उत्पादनका लागि प्रविधि हस्तान्तरण गरिएको बताए । उनले साना तथा मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले यस्ता उद्योगलाई प्राथमिकतामा राखेर सहयोग गरिरहेको बताए ।

‘सरकारले घरेलु, साना तथा मझौला उद्योगका लागि उपयुक्त वातावरण निर्माण गरि देशका ७५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने नीति लिएको छ’ मन्त्री बडूले भने, ‘स्थानीय उद्यमी र उत्पादनको संरक्षण एवं विकासका लागि तीनै तहका सरकारले आवश्यक समन्वय र सहकार्य गरि यसको उपयोग गर्न जरुरी छ ।’

मन्त्री बडूले औद्योगिक ग्राम बनाउन सरकारले तीन करोड रुपैयाँ लगानी दिने गरेकोले जनताको जीवनस्तर उकास्नका लागि दार्चुलाका स्थानीय तहलाई यसबाट लाभ लिन आग्रह गरे । मेशिन पाएपछि अल्लो व्यवसायीहरुले पनि व्यवसायको विकास, स्तरोन्नती र गुणस्तरीय सामान उत्पादन गर्न सहज हुने उनले बताए ।

अल्लो उद्यमी गणेशदत्त जोशीले २०४४ सालदेखि आवश्यक प्रविधिका लागि सरकारलाई आग्रह गरे पनि मन्त्री बडूको पहलमा अहिले अल्लो प्रशोधन मेसिन प्राप्त गरेकोमा खुशी व्यक्त गरे । ‘२०४४ सालदेखिको सपना आज पूरा भयो । अहिलेसम्म प्रायः सबै प्रधानमन्त्री, मन्त्रीज्यूलाई माग गरे तर आश्वासनबाहेक केही पाएन’ उनले भने, ‘आज विकास प्रेमी नेता उद्योग मन्त्री भएपछि मैले मेसिन पनि पाए । अब मेरो भावी पुस्ताले यसबाट भरपूर लाभ लिनेछ ।’

मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा महाकाली नगरपालिका, मार्मा गाउँपालिका र अपी हिमाल गाउँपालिकाका एक–एक जना गरि ३ जना अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप