काठमाडौँका १० सिटमा काँग्रेसबाट को–को छन् दाबेदार ?
आसन्न मङ्सिर ४ मा निर्वाचन घोषणा भएसँगै उम्मेदवारको चर्चा सुरु भएको छ । उम्मेदवारका आकाङ्क्षीले टिकटको लबिङदेखि निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।
यसमध्ये पनि संघीय राजधानी रहेको काठमाडौँका १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुन पार्टीबाट को उम्मेदवार बन्ने भनेर चासोका साथ हेरिएको छ । काठमाडौँमा स्वतन्त्र व्यक्तिले उम्मेदवारी घोषणा गरे पनि प्रमुख दल आन्तरिक रणनीति बनाउन व्यस्त छन् ।
सत्तारुढ दल नेपाली काँग्रेसले भने ०७४ मा काठमाडौँबाट निर्वाचित भएका सबैलाई दोहोर्याउने तयारी गरेको छ । काठमाडौँमा मुख्यतः पाँच दलीय सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेसले काठमाडौँका सबै जसो क्षेत्रमा दाबेदारी प्रस्तुत गरेको छ । तर ०७४ मा ९ वटा निर्वाचन (काठमाडौँ–७ राप्रपालाई छोडेको) क्षेत्रमा उम्मेदवारी दिएको काँग्रेसलाई अहिले गठबन्धनमा आबद्ध दलहरूलाई पनि समेटेर लिनुपर्ने चुनौती पनि छ । काठमाडौँ– २ र ८ मा नेकपा एकीकृत समाजवादीको दाबेदारी छ ।
काठमाडौँ २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनाव जितेको क्षेत्र हो भने ८ मा एकीकृत समाजवादीकै जीवनराम श्रेष्ठ प्रतिनिधिसभा सांसद छन् । नेपालले आसन्न निर्वाचनमा रौतहट १ बाट चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ भने ८ नम्बरमा श्रेष्ठको सशक्त दाबी छ ।
साङ्गठनिक शक्तिका हिसाबले १० वटै निर्वाचन क्षेत्रमा दाबी गरे पनि काँग्रेसले २ वटा क्षेत्र एकीकृत समाजवादीलाई छोड्न मनस्थिति बनाएको नेताहरू बताउँछन् । बाँकी ८ वटामा सत्ता गठबन्धनबाट काँग्रेसले उम्मेदवारी प्रस्तुत गर्ने रणनीतिका साथ काम गरिरहेको नेताहरूको भनाई छ ।
माओवादी केन्द्रलाई भने काठमाडौँमा सिट दिन नहुने काँग्रेस नेताहरू बताउँछन् । काठमाडौँको सट्टा माओवादी बलियो भएको जिल्लामा काँग्रेसले बढी सिट छोड्ने गरी जानुपर्ने काँग्रेस नेताहरूको भनाइ छ । काँग्रेस सांसद भीमसेनदास प्रधानले काठमाडौँमा माओवादीले प्रतिनिधिसभा सिट पाउने सम्भावना नरहेको बताए । उनले भने, ‘माओवादीलाई काठमाडौँमा छोड्ने कुरा एमालेलाई बुझाए जस्तै हो । यहाँ गठबन्धन जिताउने कुरा छ । काठमाडौँको सट्टा माओवादी बलियो भएको जिल्लामा काँग्रेसले बढी सिट छोडिदिनुपर्छ ।’ काठमाडौँका ८ वटा निर्वाचन क्षेत्रमा काँग्रेसको उम्मेदवारी पक्का जस्तै भएको उनको भनाइ छ ।
काँग्रेसबाट काठमाडौँ १ मा प्रकाशमान सिंहको उम्मेदवारी निश्चित जस्तै छ । शनिबार थापाथलीमा भएको कार्यक्रममा सिंहले काठमाडौँ १ बाटै चुनाव लड्ने सङ्केत दिएका थिए । ‘म यो क्षेत्रको जनप्रतिनिधि हुँ, मैले आफ्नो काम गरेको छु । यसको लेखाजोखा अब यहाँको समुदाय र जनताले गर्ने बेला आएको छ । मैले जनप्रतिनिधिका रूपमा इमानदारिताका साथ आफ्नो भूमिका निभाएको छु,’ सिंहले भनेका थिए ।
२०७४ को निर्वाचनमा सिंहले काठमाडौँ–१ मा विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई ८१८ मतान्तरले हराएका थिए । सिंहको १० हजार ९३६ र मिश्रको १० हजार ११८ मत आएको थियो । सिंहको क्षेत्रमा स्थानीय निर्वाचनको परिणाममा काँग्रेस एमालेभन्दा ३५४ मतले अगाडि छ ।
काठमाडौँ–१ मा काँग्रेसको ९ हजार ८९५, एमालेको ९ हजार ५४१, राप्रपाको १ हजार ३७६, माओवादीको १ हजार १५९ मत छ । काठमाडौँ–१ मा विवेकशील साझा गत स्थानीय निर्वाचनमा प्रतिस्पर्धामै आउन सकेन ।
काठमाडौँ २ मा काँग्रेसबाट प्रतिमा गौतम, दीपक कुइँकेल, लोकेश ढकाल लगायतको चर्चा छ । तर एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र भएकाले यहाँ काँग्रेसको दाबी कमजोर छ । नेपालले काठमाडौँ–२ छोडेर गृह जिल्ला रौतहटबाट निर्वाचन लडेमा काँग्रेसको दाबी केही बलियो हुने छ । तर समाजवादी काठमाडौँमा दुई वटा निर्वाचन क्षेत्र खोजेको अवस्थामा काँग्रेसले २ वा कुनै अर्को क्षेत्र छोड्नुपर्ने अवस्था हुने छ ।
स्थानीय चुनावमा काठमाडौँ–२ मा एमालेको १७ हजार ३२८, काँग्रेसको १४ हजार १२८, एकीकृत समाजवादीको ७ हजार ९११, राप्रपाको ७ हजार २०० र माओवादीको ३ हजार १३१ मत आएको थियो । स्थानीय मतका आधारमा यहाँ एकीकृत समाजवादी तेस्रो दलका रूपमा स्थापित छ ।
काठमाडौँ ३ मा काँग्रेसबाट अम्बिका बस्नेतको दाबेदारी छ । ०७४ मा एमालेका कृष्ण राई विजयीसँग बस्नेत पराजित भएकी थिइन् । उनले १९ हजार १६९ मत ल्याउँदा बस्नेतले १४ हजार ८८४ प्राप्त पाएकी थिइन् ।
गठबन्धनबाट उम्मेदवार भएको अवस्थामा बस्नेतलाई यसपटक सहज देखिन्छ । स्थानीय निर्वाचनमा पनि काठमाडौँ २ मा काँग्रेस पहिलो भएको छ । यहाँ काँग्रेसले १५ हजार ७९५, एमाले १४ हजार ८७६, माओवादी १ हजार ७३०, राप्रपा १ हजार ३१४, एकीकृत समाजवादीले १ हजार ५६ प्राप्त गरेको अवस्था छ ।
काठमाडौँ ४ मा काँग्रेसका महामन्त्री गगन थापाको उम्मेदवारी निर्विकल्प जस्तै छ । ०७० र ०७४ मा थापा काठमाडौँ–४ बाट निर्वाचित भएका थिए । ०७४ मा थापाले वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डा. राजन भट्टराईलाई ३ हजारभन्दा बढी मतान्तरले हराएका थिए । थापाले २१ हजार ५५८ मत ल्याउँदा भट्टराईले १८ हजार १४० मतमात्र पाएका थिए । तर वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको गणितमा काठमाडौँ–४ मा काँग्रेस एमालेभन्दा पछाडि छ ।
काठमाडौँ–४ मा एमालेको १६ हजार ५०७, काँग्रेस १५ हजार ७६३, एकीकृत समाजवादीको २ हजार ४१४, राप्रपाको २ हजार २९३, माओवादीको ८४४ र जसपाको ३१७ मत छ ।
काठमाडौँ – ५ मा पनि काँग्रेसको दाबेदारी छ । ०७४ मा काँग्रेस नेता (वर्तमान प्रवक्ता) डा. प्रकाशशरण महतले चुनाव लडेको क्षेत्र हो । वाम गठबन्धनबाट एमालेका उम्मेदवार ईश्वर पोखरेलसँग महत ९ हजार ८ सय ६० मतान्तरले पराजित भएका थिए । पोखरेलले २३ हजार २९ मत पाउँदा महतले १३ हजार १६९ मत ल्याएका थिए । काठमाडौँ–५ मा स्थानीय निर्वाचन परिणाम पनि एमालेको पक्षमा छ । यहाँ पाँच दलीय गठबन्धनका वडाध्यक्षले पाएको मतभन्दा एमाले एक्लैले पाएको मत बढी छ ।
काठमाडौँ–५ मा एमालेको १९ हजार ७०३ काँग्रेसको १४ हजार ८५३, राप्रपाको २ हजार ८२२, एकीकृत समाजवादीको १ हजार ८२७, माओवादीले १ हजार १६८ र जसपाको ५८ मत छ । आसन्न निर्वाचनमा महत नुवाकोट–२ बाट चुनाव लड्ने तयारीमा छन् ।
महत नुवाकोट गएपछि यहाँ नैनसिंह महरले उम्मेदवार बन्ने इच्छा प्रकट गरेका छन् । उनी यसका लागि लबिङ गरिरहेको चर्चा छ । यद्यपि महरले कैलाली–४ का लागि पनि प्रयास गरिरहेका । कैलाली–४ का केही नेता–कार्यकर्ताले महरलाई उम्मेदवार आग्रह गरिरहेका छन् ।
काठमाडौँ–६ मा काँग्रेसबाट भीमसेनदास प्रधान सशक्त दाबेदार हुन् । प्रधानले ०७४ वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदी पराजित गरेका थिए । प्रधानले १६ हजार ७८५ मत पाउँदा सुवेदीले १५ हजार ४८५ मत पाएका थिए ।
यहाँ स्थानीय तहको मत परिणामले पनि काँग्रेस बलियो देखिन्छ । काँग्रेसको १७ हजार २७७, एमालेको १४ हजार ३०३, माओवादीको २ हजार ४६२, एकीकृत समाजवादीको १ हजार ८५९ र राप्रपाको १ हजार ८१६ मत रहेको छ ।
गएको निर्वाचनमा राप्रपालाई छोडेको काठमाडौँ–७ मा यसपटक काँग्रेसले उम्मेदवार खडा गर्ने छ । राप्रपासँगको तालमेलका कारण काँग्रेसले ०७४ मा यो क्षेत्र राप्रपालाई छोडेको थियो । बाम गठबन्धनबाट एमालेका रामवीर मानन्धरसँग राप्रपाका विक्रम थापा पराजित भएका थिए ।
मानन्धर १८ हजार १०२ मत ल्याउँदा थापाले १० हजार ७९ मतमात्रै पाएका थिए । स्थानीय निर्वाचनमा काठमाडौँ–७ मा काँग्रेस पहिलो पार्टी बनेको छ । यहाँ काँग्रेसले १४ हजार १६७, एमाले १२ हजार २०२, एकीकृत समाजवादीले ३ हजार ८३९, राप्रपाले २ हजार २७, माओवादीले ५ सय ७६ र जसपाले १ सय ६२ मत पाएका थिए । यहाँ अहिले विजय माली र लक्षु पौडेलको दाबीदारी छ ।
साथै यहाँ नेता प्रदीप पौडेल उम्मेदवार हुने चर्चा छ । तनहुँ क्षेत्र नम्बर २ मा दाबी राखेका पौडेलले विकल्पका रूपमा काठमाडौँ–७ लाई पनि हेरेको चर्चा छ । यद्यपि पौडेलले भने तनहुँबाटै चुनाव लड्ने बताउँदै आएका छन् ।
काठमाडौँ–८ मा काँग्रेसको दाबेदारी केही कमजोर छ । यहाँ एकीकृत समाजवादीको दाबी छ । यहाँ पर्यटन मन्त्री जीवनराम श्रेष्ठ गठबन्धनबाट चुनाव लड्ने सम्भावना बलियो छ । ०७४ मा पनि श्रेष्ठले जितेकाले यहाँ उनी नै उम्मेदवार हुने सम्भावना रहेको बुझिएको छ । बाम गठबन्धनबाट उम्मेदवार बनेका तत्कालीन एमालेका नेता श्रेष्ठले ०७४ काँग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए ।
श्रेष्ठले १३ हजार ३ सय ७ मत पाउँदा जोशीले १२ हजार ९ सय ५३ मत पाएका थिए । जोशीको निधनपछि यहाँ काँग्रेसबाट राजुराज जोशी, नवीन्द्रराज जोशीकी पत्नी सपना जोशीको नाम चर्चामा छ ।
स्थानीय निर्वाचनमा काठमाडौँ–८ मा पहिलो भएको थियो । काँग्रेसको १० हजार ८७२, एमाले ९ हजार २५३, एकीकृत समाजवादीको ५ हजार १४२, राप्रपाको ३ हजार १६०, माओवादी १ सय ८९ मत छ । गठबन्धनका कारण काँग्रेसले तेस्रो मत भएको एकीकृत समाजवादीलाई छोड्नुपर्ने अवस्था छ ।
काठमाडौँ ९ मा पनि काँग्रेसको उम्मेदवारी रहेन देखिन्छ । यहाँ ध्यान गोविन्द रञ्जित, नानु बास्तोला, तीर्थराम डंगोल, किरण गिरी र जयकृष्ण महर्जन लगायतको दाबी छ । गिरी दुई वर्ष अगाडि राप्रपाबाट काँग्रेस प्रवेश गरि पार्टीको केन्द्रीय सदस्य भएका थिए ।
आफू काम र संगठनमा बिश्वास गर्ने व्यक्ति भएको भन्दै काठमाडौं ९ का १४ वटै वडामा निरन्तर सक्रिय रहेको उनले बताए । गिरीले भने, ‘साथीहरूको चाहना र नेतृत्वको निर्णय मान्न तयार छु । ९ नम्बर क्षेत्रमा सशक्त र प्रभावकारी रुपमा पार्टी संगठनमा सक्रिय छु ।’
रञ्जित ०७४ मा कृष्णगोपाल श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठले २२ हजार ८ सय ५२ मत ल्याउँदा रञ्जितले १४ हजार ८ सय २ मत ल्याएका थिए । स्थानीय निर्वाचनमा भने काँग्रेस १९ हजार ९१६ मतसहित पहिलो छ । एमालेको १९ हजार २८२, राप्रपाको २ हजार ४०१, माओवादीको ६ सय ९५, र एकीकृत समाजवादीको ४ सय ६५ मत छ ।
काठमाडौँ १० मा राजन केसीको पनि उम्मेदवारी पक्का जस्तै छ । ०७४ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतान्तरले हराएका थिए । केसीले २४ हजार १९० र शाक्यले २१ हजार ९०७ मत पाएका थिए ।
स्थानीय निर्वाचनमा काठमाडौँ–१० मा काँग्रेस फराकिलो मतान्तरले अगाडि छ । काँग्रेसले २४ हजार ६७५, एमाले १८ हजार ८३८, माओवादी ४ हजार ९४२, राप्रपा २ हजार ४९६, एकीकृत समाजवादीको १ हजार ३४२ मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक