फुटबल खेलाडी विदेश पलायनको लर्को : एन्फा मूकदर्शक, फेसबुकमा जुहारी
नेपाली खेलाडीहरू विदेश पलायन हुने कुरा नौलो होइन । तर पछिल्लो समय फुटबल टिमका खेलाडीहरू लगातार विदेश पलायन हुँदा सबैको ध्यान तानेको छ । पछिल्लो दुई महिनामा नेपालका सात जना खेलाडी विदेश पलायन भएका छन् । उनीहरू अस्ट्रेलियामा हुने घरेलु प्रतियोगिताका लागि त्यहाँ पुगेका हुन् । यसले अखिल नेपाल फुटबल संघ (एन्फा)को सर्वत्र आलोचना भइरहेको छ ।
शनिबार नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका फरवार्ड विमल राना र मिडफिल्डर हेमन्त थापा मगर अस्ट्रेलिया प्रस्थान गरे । उनीहरू अस्ट्रेलिया प्रस्थान गरेको खबरले नेपाली फुटबलमा झनै तरङ्ग ल्याएको छ ।
एन्फा एकेडेमीको उत्पादन २४ वर्षीय हेमन्तले गत सिजन शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब बाट खेलेका थिए । उनले सन् २०१६ जुन ६ मा भारतसँगको मैत्रीपूर्ण खेलबाट सिनियर टोलीमा डेब्यू गरेका थिए ।
त्यस्तै नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका फरवार्ड विमल राना अस्ट्रेलिया पुगेका छन् । नेपालका लागि विमलले सन् २०१९ मार्च २१ मा कुवेतविरुद्धको खेलमा डेब्यू गरेका थिए ।
राष्ट्रिय खेलाडी सन्तोष तामाङ, दर्शन गुरुङ, सुमन लामा, आशिष लामा, नविन गुरुङ पनि उतै छन् । मिडफिल्डर हेमन गुरुङ, गोलरक्षक एलन न्यौपाने र जगजित श्रेष्ठसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका विमल बस्नेत पनि दुई वर्षयता अस्ट्रेलियामै रहेका छन् । यसरी विदेशीन पुगेपछि नेपालमा राष्ट्रिय टोलीकै खेलाडीहरू अभाव हुने जस्तो वातावरण बनेको छ ।
एन्फामा नयाँ नेतृत्व आएको दुई महिना पुग्न लाग्दा पनि उनीहरूले कार्यसमिति बैठकबाट एनएसएल र ए डिभिजन लिगको विषयमा कुनै निर्णय गर्न सकेका छैनन् । नेपालमा घरेलु लिग लामो समय नहुनु नेपाल सुपर लिग आयोजनाका लागि पनि कुनै निचोड ननिस्कनुले नै उनीहरू पलायन भएका हुन् ।
एन्फासँग अझै छैन योजना
एन्फाले गत असार ६ गते नयाँ कार्यसमिति पायो । पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई हराउँदै पंकज विक्रम नेम्वाङ एन्फाको बागडोर सम्हाल्न आए । एन्फाको नेतृत्वमा आएपछि उनले लिगलाई व्यवस्थित बनाउने र लामो समयसम्म चल्ने बनाउने बाचा गरेका थिए । तर उनको नेतृत्वले दोस्रो कार्यसमिति बैठक नै गर्न सकेको छैन ।
पछिल्लो एक महिनादेखि एन्फा दोस्रो कार्यसमिति बैठकको प्रतीक्षामा छ । एन्फाले दुई पटक स्थगित भएको कार्यसमिति बैठक २६ साउनमा बोलाएको छ ।
एन्फाको कार्यसमिति बैठकमा शहीद स्मारक ए डिभिजन लिग र नेपाल सुपर लिगको विषयमा चर्चा हुनेछ । लिग कति समयको गर्ने, एनएसएल गर्ने नगर्ने जस्ता विषय कार्यसमिति बैठकको एजेन्डामा राखिएका छन् । एन्फा महासचिव किरण राईले ए डिभिजन लिग या अन्य फुटबल प्रतियोगिता र प्रशिक्षकको विषयमा यसै २६ गते बस्ने कार्यसमिति बैठकमा छलफल हुने बताए ।
‘ए डिभिजन लिगको विषयमा दोस्रो कार्यसमिति बैठकमा छलफल हुनेछ । एनएसएलको विषयमा पनि सोही दिन निचोड निस्कनेछ,’ राईले रातोपाटीसँगको कुराकानीमा भने ।
उनले पछिल्लो समय खेलाडीहरू विदेशिने क्रम नराम्रो भएपनि खेलाडीको व्यक्तिगत जीवनमा एन्फाले केही गर्न नसक्ने बताए । उनले एन्फाले पनि यसलाई गम्भीर रूपमा लिएको र आगामी बैठकमा यो विषय प्राथमिकताका साथ उठ्ने बताए ।
‘खेलाडीहरू आफ्नो भविष्य उज्ज्वल देखेर राम्रो देशमा लिग खेल्न जान्छन् भने त्यो राम्रो हो । तर, नेपालमा नै खेलिरहेको खेलाडी विदेशीन लाग्दा एन्फालाई पनि नराम्रो लागेको छ । हामी यस विषयमा पनि छलफल गर्नेछौँ,’ राईले भने ।
प्रतियोगिता नै कम
एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो कार्यकालमा धेरै प्रतियोगिता गरे भनेर मज्जाले गफ दिए । तर उनको कार्यकालमा उमेर समूहको प्रतियोगिता धेरै भएनन् ।
घरेलु प्रतियोगिता नहुँदा अहिले एन्फाले सूचना निकालेर खेलाडी छनोट गरिरहेको छ । कम तयारी र फितलो खेल संरचनालाई छिचोल्दै युवा टोलीले कसिलो प्रदर्शन गरेर आयो ।
यही टिमले नै भविष्यमा नेपाली राष्ट्रिय टोलीको बागडोर सम्हाल्छ । तर, नेपाल फर्किसकेको टोली अब एन्फामा फर्किने कहिले हो भन्ने आङ्कलन गर्न सकिँदैन । उमेर समूहको घरेलु संरचना कमजोर हुँदा राष्ट्रिय टोली नै कमजोर हुन्छ ।
यता नेपाली राष्ट्रिय टोलीले प्रतियोगिता आएको केही समय अघि मात्र तयारी गर्छ । प्रतियोगिता पनि धेरै हुँदैनन् । ए डिभिजन लिग पनि मात्र तीन महिना चल्छ । त्यहीबाट खेलाडीहरूको टुङ्गो लाग्छ ।
एन्फाको नयाँ नेतृत्व आउँदै गर्दा लिगहरू लामो समय चलाएर खेलाडीलाई व्यावसायिक बनाउनु पर्छ भन्ने चर्चा हुन्छ । तर, त्यो कुरा गफैमा सीमित हुन्छ । त्यसैले खेलाडीहरूले आफ्नो खेल जीवनको लागि विदेशी भूमि नै उपयुक्त ठान्छन् । एन्फाले अझै प्रतियोगिता नगर्ने भने यो लहर चलिरहनेछ ।
खेलाडी र प्रशिक्षकबीच जुहारी
खेलाडीहरू विदेश पलायनको विषयलाई लिएर मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शनिबार बिहान फेसबुकमा एक स्ट्याटस हाले ।
पछिल्लो समय नेपाली फुटबल खेलाडीहरू अस्ट्रेलिया पलायन भइरहेको समयलाई इङ्गित गर्दै उनले विदेश जाने खेलाडीहरू दोषी नभएको बताएका हुन् ।
‘आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरूलाई म दोष दिन सक्दिनँ । नेपाली खेलकुदको भविष्य जोगाउन केही गर्न सरकारलाई विनम्र अनुरोध गर्दछु, अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
अल्मुताइरीको यो पोष्ट आएको बेलुका नै नेपाली टोलीका खेलाडी रञ्जित धिमालले अल्मुताइरीको कारण नै नेपाली खेलाडीहरू विदेशीनु परेको बताए । उनले खेलाडीहरुलाई अल्मुताइरीले मानसिक यातना दिने गरेको र त्यसैको उपज खेलाडीहरू विदेश पलायन हुने गरेको बताए ।
धिमालले अल्मुताइरीको कारण नै नेपाल सुपर लिग (एनएसएल) रोकिएको बताए ।
‘तपाईंको हर्कत पनि खेलाडी विदेशिनुको प्रमुख कारण हो । यो त हामी पनि चाहन्छौँ कि फुटबल गतिविधि होस् । तर अहिले त नयाँ खेलाडी पनि सुरक्षित भविष्यको लागि विदेश रोजिरहेका छन् । यो समयमा खेलाडीहरू शारीरिक रूपमा हैन मानसिक रूपमा थकित छन् । तितो सत्य यही हो,’ उनले लेखेका छन् ।
धिमालले एनएसएल रोक्ने मुख्य कारण नै अल्मुताइरी भएको बताए । उनले अल्मुताइरीले एनएसएल रोक्न खोजेको बताए । उनले एनएसएलमा खेल्न जाने खेलाडीलाई नै अल्मुताइरीले व्यक्तिगत रूपमा धम्की दिएको बताए ।
‘एनएसएल रोक्न खोज्ने तपाई नै होइन ? हामी सबैलाई यो घटना याद छ । एन्फाले एनएसएल गर्न खोज्दा २ हप्ताको लागि प्रशिक्षण योजना पछाडि सार्न भनेको थियो तर, तपाईंले सबै खेलाडीहरूलाई कोठामा बोलाएर व्यक्तिगत रूपमा उनीहरूलाई धम्की दिनुभयो,’ धिमालले लेखेका छन् । खेलाडी विदेशिने विषयमा पछिल्लो समय एन्फाका पदाधिकारी फेसबुकमा जुहारी खेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सैन्य कानून’ घोषणाको बदलामा दक्षिण कोरियाली राष्ट्रपतिलाई महाभियोगको डण्डा
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश