शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चार करोड सकिएपछि लम्सुवाघाट पुलको ठेक्का रद्द

आइतबार, २२ साउन २०७९, १४ : ३४
आइतबार, २२ साउन २०७९

झण्डै चार करोड रुपैयाँ खर्च गरेपछि भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीमा बन्दै गरेको लम्सुवाघाटको पुलको ठेक्का रद्द गरिएको छ । बाह्र वर्षसम्म पनि पुल निर्माण नभएपछि ठेक्का प्रक्रिया रद्द गरिएको  हो । 

पुल निर्माणमा हालसम्म तीन करोड ८५ लाख रुपैयाँ खर्च भइसकेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । पुल निर्माणको कामलाई चाँडो सम्पन्न गर्न पटक÷पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले ढिलाइ गरेपछि ठेक्काको सम्झौता नै रद्द गरिएको सडक डिभिजन कार्यालय  तुम्लिङटारका प्रमुख राजेन्द्रप्रसाद शाहले जानकारी दिए ।  

स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा पुल निर्माण सुरु गरेको थियो । सम्झौता अनुसार पुल २०७० सालमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । निर्माणमा ढिलाइ भएको विषयमा जानकारी माग्दा निर्माण कम्पनीका प्रमुख दयाराम लामिछानेले पुल बनाउन नसक्ने लिखित जबाफ दिएपछि ठेक्का रद्द गरिएको शाहले बताए । 

'हामीले कार्यालयको तर्फबाट गर्न सक्ने काम गरेका हौँ । निर्माण कम्पनीलाई पटक÷पटक काम चाँडो गर्न आग्रह गर्दा गर्न नसक्ने जानकारी दिएको छ,' उनले भने । पुल निर्माणका क्रममा जग खन्ने ठाउँमा ठूलो चट्टान भेटिएको भन्दै कम्पनीले कामलाई अघि बढाउन नसेकेको बताउँदै आएको थियो । ठेक्का रद्द गरेर अहिले कम्पनीको धरौटीबापतको रु ७७ लाख रुपैयाँ रोकेर कालोसूचीमा राख्नका लागि पत्र पठाएको शाहको भनाइ छ । धरौटी नरोक्न तथा कालोसूचीमा नहाल्न कम्पनीले पाटन अदालतमा मुद्दा हालेको शाहले बताए । 

मुद्दा परेपछि काम नगर्न अदालतले आदेश दिएकाले थप प्रक्रिया अघि बढ्न नसकेको शाहले जानकारी दिए । 'हामीले बैंकमा रहेको धरौटी बापतको रकम रोक्का गरेर कालो सूचीमा हाल्ने प्रक्रिया थालेका छौँ’' उनले भने । 

पुल निर्माणका  लागि छ पिलर उठाइएको भए पनि काम अघि बढ्न सकेको छैन । पुल नबन्दा स्थानीयवासी जोखिम मोलेर काठको डुङ्गाबाट यात्रा गर्न बाध्य छन् । तत्कालीन समयमा सडक डिभिजन कार्यालय धनकुटा र निर्माण कम्पनीबीच सम्झौता भएको भए पनि पछि उक्त पुल सडक डिभिजन कार्यालय तुम्लिङटार मातहत आएको बताइएको छ । 

पुलको डिजाइनमा समेत त्रुटी रहेको पाइएको छ । यहाँ सुरुमा १६० मिटर लामो पुल बनाउने सम्झौता गरिएको थियो । पछि १२ मिटर बढाएर १७२ मिटर निर्माण गर्ने गरी काम थालिएको थियो । प्राविधिकले डिजाइन गरे भन्दा करिब ६२ मिटर छोटो रहेको पाइएको छ । 'घाटको जम्मा लम्बाइ २३४ मिटर छ । सम्झौता १७२ मिटर लामो बनाउन भएको छ,' शाहले भने । 

पुलले भोजपुरको षडानन्द नगरपालिका–६ सतिघाट र सङ्खुवासभाको मनकामनालाई जोड्ने छ । पुल बनाउन संघीय सरकारले रु २४ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप