शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लेखक–कलाकारमा जनताको मनस्थिति बदल्ने सामर्थ्य हुन्छ : महासचिव पोखरेल

आइतबार, २२ साउन २०७९, १४ : ०९
आइतबार, २२ साउन २०७९

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक– कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामर्थ्य राख्ने भएकाले त्यस भूमिकालाई प्रभावकारीरुपमा प्रदर्शन गर्न सक्नुपर्ने बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आज आयोजना गरेको राजनीतिक, वैचारिक र सांस्कृतिक प्रशिक्षणलाई  सम्बोधन गर्दै उनले जनजीविकाका सवाल र समृद्धिको यात्रामा अग्रगामी विचार र पक्षधरलाई स्रष्टाहरूले साथ दिई मुलुकको स्थायित्व र विकासका लागि योगदान दिन सक्नुपर्नेमा पनि जोड दिए । महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धि हासिल गर्नु अहिलेको आवश्यकता भएको बताए ।

एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले मार्क्सवादीले धर्म र अन्धविश्वासमा आशक्त नभइ वैज्ञानिक खोज र अध्ययनतर्फ विशेष ध्यान दिनुपर्ने बताए । पार्टीको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समृद्धिको लक्ष्य लिएको एमालेलाई विजयी गराउन आग्रह गरे ।

महासङ्घका कार्यवाहक अध्यक्ष भूमिका सुब्बाले आगामी दिनमा रचनाशिल्प र विविध विधागत सवालमा प्रशिक्षण सञ्चालन गरिने जानकारी दिए । उपाध्यक्ष आरसी न्यौपानेले ‘जनताको बहुदलीय जनवाद’ को साहित्य र सौन्दर्यबारे जागरण ल्याउनुपर्ने बताए । प्रशिक्षणमा महासङ्घका विभिन्न सात घटकका केन्द्रीयस्तरका प्रतिनिधि र वाग्मती प्रदेश कमिटीका पदाधिकारी सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप