शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालकथा : बाघ र बाँदरको दोस्ती

आइतबार, २२ साउन २०७९, ११ : ३०
आइतबार, २२ साउन २०७९

एकपटक बाघ र बाँदरबीच विवाद भयो । विवादको विषय थियो शारीरिकबल बुद्धिबल कुन ठूलो भन्ने । बाघ शारीरिक बललाई ठूलो भन्थ्यो बाँदर बुद्धिबललाई । उनीहरू दुवै आ–आफ्ना तर्कमा दृढ थिए । बाँदर भन्थ्यो महाराज ! घमन्ड छाडेर यथार्थमा आउनुस् । जब शारीरिक बलले काम गर्न सक्दैन त्यतिबेला बुद्धिकै आवश्यकता पर्छ तर बाघ उसको कुरा सुन्नै चाहँदैनथ्यो । ऊ बलियो थियो, शरीरको बल बाहेक अर्को कुरै गर्दैनथ्यो । पाखुरामा बल भए जे पनि गर्न सकिन्छ भन्ने उसको मान्यता थियो । त्यसैले नानाभाँतीका तर्क गरी आफ्नो भनाइ सिद्ध गर्ने प्रयास गथ्र्यो । 

उनीहरूबीचको विवाद लम्बिँदै गयो । दुवै आ–आफ्ना अडानमा टसमस भएनन् । अन्त्यमा बाघलाई निकै रिस उठेछ र गर्जिँदै भन्यो–

‘चुप लाग तुच्छ बाँदर । बकबक गर्नुको कुनै अर्थ छैन । निर्बल छस्, त्यसैले बुद्धिको कुरा गर्दैछस् । यस्ता बेतुकका कुरा गरेर उम्किन पाइन्न बुझिस् । शरीरबलको अगाडि बुद्धिबल केही पनि होइन । बलबान छु जे पनि गर्न सक्छु तर तैँले सक्छस् । यदि मैले चाहेँ भने एकै झापडमा तेरो प्राण लिन सक्छु । त्यतिबेला के गर्छस् ? के त्यस्तो बेला तेरो बुद्धि बचाउन आउँछ ?’

बाघको कुरा सुनेर बाँदर एकछिन मौन रह्यो र एकैछिनपछि केही सोचेजस्तो गर्दै भन्यो–

‘ठीकै छ महाराज ! त्यस्तै भन्नुहुन्छ भने भन्नु केही छैन । अहिलेलाई जाँदैछु तर मेरो अडान कायमै छ र एकदिन त्यसलाई सिद्ध गरेरै देखाउनेछु । त्यतिबेला देख्नुहोला शारीरिकबल ठूलो कि बुद्धिबल ठूलो भन्ने कुरा ।’

बाँदरको कुरा सुनेर बाघले थप गर्जिँदै भन्यो–

‘भो भो फुर्ती न लगा । म पनि हेर्नेछु कस्तो चमत्कार देखाउँदो रहेछस् । साँच्चै त्यस्तो काम गरेर देखाइस् भने मानौँला होइन भने बुझिराख फोस्रो घमण्डको मूल्य कति महङ्गो हुँदो रहेछ भन्ने कुरा ।’

समय बित्दै गयो । लामो समयसम्म उनीहरूको भेटघाट भएन । यत्तिकैमा एक दिन शिकार गरेर गुफातिर फर्कँदै गर्दा बाघ एउटा खाल्टोमा खस्यो । उसले बलै खाल्टोबाट आफुलाई बाहिर त ल्यायो तर खुट्टा मर्किएकाले हिँड्न भने सकेन । जब बाघ उठेर हिँड्ने प्रयास गर्दै थियो कतैबाट एउटा शिकारी आएर उसमाथि धनुष तेस्र्यायो । विचरा बाघ के गरोस् न आफू भाग्न सक्थ्यो न शिकारीलाई भगाउनै ।

जब शिकारीले धनुषबाट बाँड छोड्नै लागेको थियो पछाडिबाट कसैले शिकारीमाथि ढुङ्गा वर्षाउन लाग्यो । लगातार ढुङ्गा वर्षिन थालेपछि शिकारी हडबडायो र ज्यान बचाउन धनुष लिएर भाग्यो । बाघले त्यस घटनाको रहश्य बुझ्न सकेन र आश्चर्यमान्दै यताउता हेर्न लाग्यो । बाघले आश्चर्य मानेको देखेर नजिकैको रुखमा लुकेर बसेको बाँदरले मुस्कुराउँदै भन्यो–

‘महाराज ! अब त थाहा पाउनुभयो होइन शारीरिकबल र बुद्धिबलमा कुन ठूलो रहेछ भन्ने कुरा ? तपाईँ बलबान भएर पनि आज आफ्नै प्राण बचाउन नसक्ने अवस्थामा पुग्नुभो तर मेरो बुद्धिबलले यस्तो बेला पनि काम ग¥यो र तपाईँको प्राण बच्यो ।’

बाँदरको कुरा सुनेर बाघले विनीत स्वरमा भन्यो–

‘ओ हो बन्धु ! तिमी ? यहाँ कसरी आइपुग्यौ र कसरी यस्तो तरक्की गर्न सफल भयौ ?’

त्यसपछि बाँदरले वस्तुस्थिति बोध गराउँदै भन्यो–

‘महराज ! तपाईँ जुन खाल्टोमा पर्नुभएको छ त्यो खाल्टो खन्ने काम यही दुष्ट शिकारीले गरेको हो, जुन मैले पहिले नै देखेको थिएँ । जुन दिन देखेँ त्यही दिनदेखि दालमा केही कालो छ भन्ने लागेर पिछा गर्दै आएको थिएँ । जब तपाईँ खाल्टोमा पर्नु भयो तब उसले खाल्टो तपाईँकै शिकार गर्न खनेको रहेछ भन्ने पक्का भयो र केही ढुङ्गा जम्मा गरी यही रुखमा लुकेर बसेँ । जब शिकारी आएर आफ्नो योजना सफल भएकोमा खुसी हुँदै तपाईँमाथि धनुष तेस्र्याउन लाग्यो तब तिनै ढुङ्गा प्रयोग गरी उसलाई भगाउन सफल भएँ ।’

बल्ल बाघको होश ठेगानमा आयो । उसले आफ्नै अगाडि शारीरिकबलभन्दा बुद्धिबल नै श्रेष्ठ रहेको देख्यो र विगतको व्यवहारप्रति क्षमा माग्दै भन्यो–

‘बाँदर भाइ ! तिमी नै सही रहेछौ । आपत परेको बेला बुद्धिबलले नै काम गर्दो रहेछ । शारीरिकबलको घमन्डले त्यतिबेला आँखा देखिन र भन्नुनभन्नु भनेँ आज पश्चात्ताप लाग्दैछ । धन्य छौ भाइ ! तिमी, बुद्धिबल प्रयोग गरेर आफ्नो भनाइ सिद्ध गर्ने काम मात्र गरेनौ मेरो प्राण बचाएर ठूलो उपकार पनि ग¥यौ । आभारी छु, भन यसवापत के सहयोग गरौँ ।’

बाघको कुरा सुनेर बाँदरले खुसी हुँदै भन्यो–

‘केही छैन महाराज ! ढिलै भए पनि वास्तविकता स्वीकार्नुभयो । यही नै ठूलो कुरा हो । हो, शारीरिक बलको महत्व नभएको होइन । छ, बढी नै तर त्यो एकपक्षीय नै हुन्छ । एउटा विन्दुमा पुगेर त्यसले काम गर्न सक्दैन तर बुद्धिबल भने सर्व पक्षीय हुन्छ र जुनसुकै अवस्थामा पनि काम गर्न सक्छ । आजकै घटनालाई हेर्नुस् न । शिकारी तपार्ईँभन्दा कमजोर थियो त्यसैले बुद्धि बल प्रयोग गरी खाल्टो खनेर तपार्ईँलाई नियन्त्रणमा लियो । म शिकारीभन्दा कमजोर थिएँ त्यसैले मैले पनि बुद्धिबल प्रयोग गरी उसलाई भगाउन सफल भएँ ।

बाँदरको कुरा सुनेर बाघ थप खुसी भयो । उसले प्रशन्नता व्यक्त गर्दै बाँदरसँग अङ्कमाल गरी गहिरो दोस्ती बन्ने कसम खायो । त्यस दिनदेखि उनीहरूले आपसमा मित्रता गरी सुखपूर्वकले रहन लागे ।

निसन्देह शारीरिकबल र बुद्धिबल दुवै सत्य हुन् र दुवै आ–आफ्ना स्थानमा उत्तिकै महत्वका छन् तर जतिबेला शारीरिकबलले काम गर्दैन वा गर्न सक्दैन बुद्धिबलले भने त्यतिबेला पनि काम गरेर देखाउन सक्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप