शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपन मिलनचोक : पानी पर्दा खहरे खोला, घाम लाग्दा बगरे बाटो (भिडियो रिपोर्ट)

बाढी नियन्त्रणका लागि ५ सय इनार बनाउँदैछौँः मेयर अधिकारी
आइतबार, २२ साउन २०७९, ०९ : ४३
आइतबार, २२ साउन २०७९

सामाजिक सञ्जालमा काठमाडौंको कपन मिलनचोकको सडकमा आएको बाढीले मोटरसाइकल बगाएको दृश्य देखिनु आजभोलि सामान्य भइसकेको छ । सडक, ढलको उचित व्यवस्थापन नहुँदा हरेक वर्ष पानी परेका बेला यस क्षेत्रका स्थानीयले हैरानी पाउँदै आएका छन् । 

जब आकाशमा बादल देखिन थाल्छ तब कपन मिलनचोकका सडक छेउमा रहेका व्यापारी आकाश हेरेर हतार हतार पसलको माथिल्लो भागमा समान सार्ने गर्छन् । पानी परेपछि पसल अगाडिको बाटो खोलामा परिणत भइदिन्छ । एकछिन अघिसम्म बाटो रहेको ठाउँ पानी पर्न थालेपछि खहरे खोलामा परिणत हुन्छ । वर्षौदेखि यस्तो हैरानी पाउँदै आएका उनीहरू नेता, जनप्रतिनिधिले बेवास्ता गरेका कारण सडकको अवस्था यस्तो हुन पुगेको बताउँछन् । 

यहाँ वर्षायाममा पानी परेका बेला हरेक दिनजसो यहाँको सडकमा बाढी आउने गरेको छ । बाढीले सडक छेउछाउमा रहेका पसलका सामान बगाउने गरेको छ भने बेला बेला मोटरसाइकल समेत बगाउने गरेको स्थानीय बताउँछन् । 

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा पर्ने कपन मिलन चोक खहरे सडकको हालत वर्षौँदेखि यस्तै छ । आकाशमा बाक्लो बादल देखिएपछि सडक छेउ तथा सटरमा व्यापार गर्नेहरू आफ्नो सामान सार्न थाल्छन् । पानी परेपछि बाटोमा यसरी बाढी आउँछ कि त्यो सडक हो वा खोला छुट्याउन गाह्रो पर्छ । पानी परेका बेला पसलमा हिलो बाढी पसेपछि सफा गर्दा गर्दा स्थानीय हैरान हुँदै आएका छन् । मिलनचोकमा कपडा पसल सञ्चालन गर्दै आएकी सरिता राजवंशी वर्षायामको दैनिकी यसरी नै बित्दै आएको छ । बाढी रोकिए पनि उनी पसलभित्र बाढीले छोडेर गएको लेदो हटाउँदैमा आजित भएकी छिन् । बाढीका कारण खुला रहेको मंगाल नदेख्दा बालक परेर मृत्यु हुँदा समेत सडक सुधार नभएको उनले बताइन् । 

कतै कतै ग्राभेलको नाममा बाटोमा ठूला ठूला ढुङ्गा हालिएको छ जसमाथि मोटरसाइकल तथा हलुका सवारी साधन गुड्न मुस्किल हुन्छ भने बेला बेला मोटरसाइकल, स्कुटर पल्टनु सामान्य भइसकेको छ ।

१० मिनेट पानी परेपछि गोकर्ण जगडोलदेखिको बाढी आउने स्थानीय व्यापारी दीप बहादुर कटुवालले बताए । बाढी आएपछि बाटो छेउका पसल डुबानमा पर्ने र सडक छेउ रहेका व्यापारीका गाडा नै बढाउने गरेको उनले बताए ।

पसलभित्र बाढी छिरेर सामानहरू नष्ट हुने गरेको, हरेक दिन पसलभित्रको हिलो सफा गर्दा गर्दा हैरान भएको कल्पना कार्की बताउँछिन् । स्थानीय तहका जनप्रतिनिधि शिक्षित भएका कारण समस्या समाधानमा नलागेको भन्दै उनी व्यङ्ग्य गर्छिन् ।  बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कपन मिलनचोकका बासिन्दा त्यहाँका जनप्रतिनिधिसँग आक्रोशित छन् ।

अघिल्लो वर्ष बर्षातका बेला बाटोमा ढलको मुख (मंगाल)मा परेर बेपत्ता भएका एकजना स्कूले बालक बागमती खोलामा मृत भेटिएका थिए । यस्तो घटना हुँदा पनि सडक र ढलको सुधार नगरेको स्थानीय बताउँछन् । 

यो बाहेक हरेक वर्ष वर्षायाममा आएको बाढीले कपन मिलनचोक खहरे क्षेत्रमा सानातिना घटना भइरहने गरेको छ । बौद्ध, गोकर्ण–जगडोलदेखि जाने ढल र बाढीले त्यहाँको सडक खोलामा परिणत हुने र बाढीले बाटोमा गुडिरहेको मोटरसाइकलदेखि सडकछेउका पसलका सामग्री समेत बगाउने गरेको छ । 

बाढी नियन्त्रणका लागि ५ सय इनार बनाउँदैछौँः मेयर अधिकारी 

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सो क्षेत्रमा वर्षातका कारण आउने बाढी नियन्त्रणका लागि यो वर्ष ५ सय घरमा छतको पानी भर्न इनार बनाउने बताए । इनारमा हालेको पानी जमिनमा ‘रिचार्ज’ हुने गरी छतको पानीलाई रोक्ने गरी काम अघि बढाउन लागेको बताए । 

रातोपाटीसँग कुरा गर्दै मेयर अधिकारीले भने–‘पहिले पहिले पानी पर्दा खेतको गह्रामा जम्दै बिस्तारै तल झर्थ्यो । अहिले ती खेतहरू घरहरूले भरिए । पानी पर्दा निकास जाने ठाउँ कतै छैन । पानी कतै जान नपाएपछि सडकमा बाढी आउने अवस्था आयो । हामीले त्यस क्षेत्रमा प्रत्येक घर घरमा छतको पानी नियन्त्रण गर्न ५ सय वटा ६ फिट चौडाइ र ३० फिट गहिराइको इनार बनाएर छतको पानी हाल्ने प्रणाली विकास गर्न लागेका छौँ ।’

पानी परेका बेला घर घरको कौसीको पानी सडकमा जान नदिई इनारमा सङ्कलन गर्ने र त्यो पानी जमिनमा रिर्चाज हुने उनले बताए । आगामी १८ महिनाभित्र यो काम सम्पन्न गर्ने र बाढी नियन्त्रण गर्न अरू के के काम गर्न सकिन्छ त्यसका लागि मरिमेटेर लाग्ने दाबी गरे । 

हेर्नुहोस् भिडियो  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप