शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

बदलिँदो विश्व र भारतीय परराष्ट्र नीतिमा सुधार

सोमबार, २९ जेठ २०७४, ११ : ३०
सोमबार, २९ जेठ २०७४


नेपालको राजनीतिक सन्दर्भमा सबैभन्दा बढी प्रयोग गरिने थेगोको रुपमा भारतीय विस्तारवादले जरा गाडेको सर्वविदित छ । यही थेगो राजनीतिक उत्कर्षको माध्यम पनि धेरै राजनीतिक दलहरुले बनाएका छन् । यहाँ प्रश्न उठ्छ– के नेपालमा भारतीय विस्तारवाद छ ? के नेपालको सार्वभौमसत्ता माथि भारतले आँखा गाडेको हो ? के भारतले नेपाललाई आफ्नो उपनिवेशका रुपमा प्रयोग गर्न प्रयास गरेको हो ? यी प्रश्नहरुको उत्तर खोज्न इतिहास र वर्तमानलाई केलाउँदै जाने हो भने र तटस्थ मनन गर्ने हो भने अवश्य नै भारतले नेपालमाथि आफ्नो प्रभुत्व जमाएको हो भन्न सकिन्छ ।

कसैले यो कुरालाई नकार्छ भने या ऊ तटस्थ छैन वा सत्य बोल्न सक्दैन । सबै राजनीतिक दलका मुख्य नेता प्रतिपक्षमा हुँदा भारतको घोर विरोधी हुने र सत्तापक्षमा रहँदा भारत परस्त हुने र सत्ताका लागि भारतका सामु नतमस्तक रहने प्रवृत्ति पनि जनमानसमा गढेको एउटा तीतो यथार्थ हो । यसबाट हामीले के मनन गर्न सक्नुपर्दछ भने समस्या हामी आफैमा छ, भारतमा होइन ।


तर यसो भन्दैमा भारतले नेपालमाथि गरेको अन्याय र अत्याचार ढाकछोप गर्नु भनेको सूर्यलाई हत्केलाले छोप्नु जस्तै हुन्छ । नेपालको भौगोलिक अवस्था, आर्थिक परिवेश र सामाजिक संरचनाको नाजायज फाइदा भारतले लिएको हो र यसमा केही हदसम्म भाइ फुटे गँवार लुटे भन्ने उक्ति पनि चरितार्थ हुन आउँछ । नेपालकै केही दाजुभाइ देशलाई भारतमा गाभ्न पाए खुशी हुने खालका छन् भन्ने पनि यदाकदा सुनिनु, आर्थिक परिवेशमा विश्वकै एक गरिब राष्ट्र हुनु र भूपरिवेष्ठित हुनुले उक्त तथ्यलाई सावित गर्दछ । यहाँ मननीय तथ्य के हुन्छ भने के भारतको उक्त नीति आजको बदलिँदो विश्व परिवेशमा यथार्थपरक छ ? के यसबाट भारतले फाइदा लिन सक्छ ? आजको उदीयमान शक्ति राष्ट्र भारतका शक्तिशाली प्रधानमन्त्री, जसको ओज विश्वभर फैलिँदै छ, ले यसतर्फ ध्यान दिने कि नदिने ? परराष्ट्र नीति परम्परागतरुपमा यथावत् राख्नु उपयुक्त हुन्छ वा बदलिँदो विश्वसँगै लचिलो र उदार बनाउनु आजको आवश्यकता हो भन्ने कुरामा जतिसक्दो चाँडो भारतका प्रधानमन्त्रीले निर्णय गर्दछन्, त्यति नै नेपाल र भारत दुवैका लागि हितकर हुन्छ । दुई देशलाई मात्र नभई दक्षिण एसियाकै लागि लाभप्रद हुने देखिन्छ ।


भनिन्छ, छिमेकी गतिलो भए सुख र साथ पाइन्छ । छिमेकी धनी, सम्पन्न र शिक्षित भए आवश्यक सहयोग, पारिवारिक उन्नति र सहकार्य बढेर जान्छ । भोलिको भारतलाई प्रकोप आइपर्दा नेपाललाई सहयोग गर्न सक्ने अवस्थामा पु¥याएमा नेपाल र भारत दुवैलाई लाभ हुन्छ । यसर्थ भारतले आफ्नो विदेश नीतिलाई जतिसक्दो चाँडो परिमार्जन गरी अगाडि बढ्नु आजको चरम आवश्यकता हो न कि भारतका पूर्व प्रधानमन्त्री आई.के. गुजरालले भने जस्तै भारतको राष्ट्रियता र परराष्ट्र नीति सरकार बदलिँदैमा बदलिँदैन । यस्तो परम्परागत ढाँचा अँगाल्दै नेपालमा अघोषित औपनिवेशिकता कायम गर्न प्रयास गर्दै जानुले नेपालको उन्नति त रोक्छ नै, भारत पनि आवश्यकताअनुसार अग्रगामी हुन सक्दैन किनभने उसले आफ्नो ऊर्जा गलत कामका लागि प्रयोग गर्नुपर्ने हुन्छ । गलत प्रयोजनमा प्रयोग गरिएको त्यही ऊर्जा र शक्ति सही ठाउँमा प्रयोग गर्ने हो भने गुणात्मक असर निम्त्याउँछ र चाँडोभन्दा चाँडो रात पनि उज्यालो हुँदै जान्छ, दुवैको समुन्नति र समृद्धि तीव्र गतिमा बढ्दै जान्छ ।


अर्कोतर्फ भारतको प्रतिस्पर्धा धेरै जनसङ्ख्या भएको चीनसँग घोषित तथा अघोषित दुवैरुपमा भइरहेको यथार्थ बदलिँदो विश्वलाई चिन्ने सबैले बुझेको कटुसत्य हो । चीनको परराष्ट्र नीति, आर्थिक नीति र बदलिँदो विश्वमा उसले छर्न लागेको बीउलाई बुझ्न नसक्नु भारतका लागि आजको अन्धकार र भोलिको दुर्भाग्य हुनेछ । कतै नेपाललाई पनि भुटान र पाकिस्तानलाई जस्तै श्वास फेर्न पनि नदिने नकारात्मक सोचमा भारतीय ऊर्जा र शक्ति प्रयोग गर्दै जाँदा आफ्ना सकारात्मक कदमहरुलाई भारतले बिर्सने त होइन भन्ने पीर लाग्नु सामान्य नेपालीलाई स्वाभाविक हो किनभने हामीसँग धेरै सांस्कृतिक, आर्थिक र पारिवारिक एकता छ । साथसाथै प्रत्येक नेपाली भारतको समृद्धि चाहन्छन् किनभने छिमेकी समृद्ध हुनु भनेकै आफू समृद्ध हुनु हो भन्ने नेपालका सचेत नागरिकले बुझेका छन् । यो कुरालाई नबुझेर भारतले उही परम्परागत नीतिलाई अँगाल्दै जानु भारतको दुर्भाग्य होइन भनेर कसैले भन्न सक्दैन । फेरि भारतको दुर्भाग्य नेपालको पनि दुर्भाग्य हो भनेर बुझ्न नसक्नु कतिपय नेपाली राजनीतिक दलका नेताको अदूरदर्शिता हो वा धमिलो पानीमा माछा मार्न खोज्नु हो भन्ने बुझ्न नसक्नु हाम्रा नेतागण र बुद्धिजीवीहरुको ठूलो भूल हो । यो कटु सत्यलाई हामीले छातीमा हात राखेर मनन गर्दै अगाडि बढ्नु पर्दछ, जसले भारतको हामीप्रति हेर्ने र गर्ने नीति परिवर्तन होस् ।


चीनको छिमेकी समृद्ध पार्दै जाने परराष्ट्र नीति र भारतको हस्तक्षेपकारी नीतिबीच क्रममा दुवै शक्ति उन्मुख एसियाका राष्ट्रहरुमा चीनले आफ्नो प्रभुत्व जमाउँदै जानेछ भनेर नबुझ्नु भारतको ठूलो कमजोरी हो । तीनतिर सीमान छोएको छिमेकी भारतको यो कमजोरी नै नेपालको सबैभन्दा ठूलो दुर्भाग्य र अन्य दक्षिण एसियाली मुलुकहरुका लागि केही मात्रामा आर्थिक र सामाजिक क्षति हो, जसले आजसम्म दक्षिण एसियका मुलुकहरुलाई गरिब मुलुकहरुको पनि निकै पुछारमा रहन बाध्य पारेको छ । यो विषयमा एउटा ठूलो अनुसन्धान हुन सक्दछ र क्षतिको आँकलन पनि हुन सक्छ । यहाँ प्रस्तुत गर्न खोजिएको तथ्य के हो भने हालको भारतीय परराष्ट्र नीति नेपाल र अन्य सार्क मुलुकहरुको हितमा छैन र यसले ती राष्ट्रहरुमा मात्र होइन भारत स्वयंलाई पनि नोक्सान पु¥याइरहेको छ । एक नेपालीले भन्न सक्छ, भारतको फाइदा वा बेफाइदामा हामीलाई के तात्विक भिन्नता ? तर एक छिमेकी भारतको साथसाथै अन्य छिमेकीको पनि समुन्नति चाहन्छ, जसबाट आफू पनि समृद्धिको मार्गमा अग्रसर हुन सकियोस् ।


चीनको परराष्ट्र नीतिअनुसार नेतृत्व तहले नै हरेक मुलुकमा आफ्ना नागरिकहरु पु¥याउन उत्साहित गराएको चिनियाँहरु सगर्व स्वीकार गर्दछन् र अर्कोतर्फ भारतीयहरु येनकेन प्रकारेण आफ्नो बुद्धिमत्ताले फैलिएको स्वीकार्दछन् । चीन समुद्रमा माछा मार्ने उपायको खोजीमा निस्किएर सबै मित्रराष्ट्रसँग हात बढाइरहँदा भारत परम्परागत औपनिवेशिकतामा अल्झिएर आफ्ना मित्रराष्ट्रहरुमा गोला बारुद बिच्छ्याउन व्यस्त रहने हो भने बदलिँदो विश्वसँगै भारत पछाडि पर्ने यथार्थ भारतले जति चाँडो बुझ्न सक्छ । त्यति चाँडो नेपाल पनि समुन्नत हुन्छ । नेपाल भारत र चीनको उत्तम पुल पनि हो, जसको प्रतिस्थापन असम्भव छ । अब भारतले धमिलो पानीमा माछा मार्ने परराष्ट्र नीति होइन, सौहार्दताको हात सबै मित्रराष्ट्रसँग फैलाउनुपर्छ ।

हात फैलाउँदा मुखमा राम राम बगलीमा छुरा भन्ने उक्ति चरितार्थ हुन दिनु हुँदैन । यसले भारतको पतन सुरु नहोस्, साथसाथै दक्षिण एसियाले पनि प्रगतिको पथ लिन सक्दैन ।


तेजस्वी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनसँगै देखिएको दक्षिण एसियाली आशा बिस्तारै सेलाउँदै गएको आभाष सबैले गर्न थालेका छन् । कुटिल रुपमा दिएको चौरासी व्यञ्जन भन्दा स्वच्छ मनले दिएको ढिँडो र सिस्नुले बढी आनन्द दिन्छ । चिनियाँ परराष्ट्र नीतिको एउटै उद्देश्य छ, आफ्नो व्यापारको विस्तार । जसका लागि चीनले आफ्ना छिमेकीलगायत अन्य विकसित राष्ट्रहरुमा सहयोग र लगानी दुवै बढाउँदै आफ्नो प्रभुत्व बढाइरहेको देखिन्छ ।

अर्कोतर्फ भारत आफ्नै परम्परागत रुपमा रही रहँदा भोलिका यी दुई उदीयमान शक्तिमध्ये भारत पछाडि पर्ने यथार्थ भारतले देख्न नसक्नु भारतको ठूलो भूल हुने हुँदा उसले परराष्ट्र नीतिमा अविलम्ब परिवर्तन गर्न जरुरी छ, जसबाट नेपाललगायत अन्य छिमेकीहरुले सुखको श्वास फेर्न सकून् । भारतले चीनले जस्तो सहयोग र लगानी बढाउन सक्दैन तर आफ्नो परराष्ट्र नीति परिवर्तन गरेर सौहार्दताको हात बढाउन सक्दछ । अघि भने जस्तै ढिँडो र सिस्नुको आनन्द त दिन सक्छ, जसले सबै छिमेकीको समुन्नतिको ढोका पनि खोलि दिन्छ । एकपटक भारतीय नेतृत्व र उसका नीति निर्माताले यसतर्फ अविलम्ब सोच्नु जरुरी छ ।                               
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्यामकृष्ण अधिकारी
श्यामकृष्ण अधिकारी
लेखकबाट थप