बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इजरायलद्वारा गाजा क्षेत्रमा हवाई आक्रमण

शनिबार, २१ साउन २०७९, १५ : २६
शनिबार, २१ साउन २०७९

वर्षौंदेखि इजरायलले घेराबन्दीमा रहेको गाजा पट्टीमा शुक्रबार इजरायली युद्धविमानले आक्रमण गर्दा इस्लामिक जिहाद समूहका कमाण्डर र एक बालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।

इस्लामिक जिहादको सैन्य शाखा अल–कुद्स ब्रिगेडका कमाण्डर तैसिर अल–जबारी गाजा शहरको मध्यभागमा रहेको प्यालेस्टाइन टावरको एउटा अपार्टमेन्टमा मारिएका थिए । सो टावरमा इजरायली युद्धविमानले आक्रमण गरेको समूहले जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अल–जबारी र पाँच वर्षीया एक बालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ । आक्रमणमा कम्तीमा ५५ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको मन्त्रालयले बताएको छ । 

पाँच वर्षीया बालिका अला कद्दौम आफ्नो बुबासँगै सामान किन्न मोटरसाइकल चढेर बजार जाँदै थिइन् । उनी सवार मोटरसाइकलमा मिसाइल प्रहार भएको थियो । उनकी आम अहिले पति र छोरीको मृत्युपछि बेहोस रहेको अस्पताल स्रोतले बताएको छ । 

प्यालेष्टाईन भवनको सातौँ तलाबाट धुवाँ निस्किरहेकै समयमा सिभिल डिफेन्स टोलीले घटनास्थलमा फसेका मानिसहरूलाई बाहिर निकालिरहेका देखिन्थे । उनीहरूले आक्रमणका कारण लागेको आगो पनि निभाए । 

शुक्रबार गाजाभर धेरै वटा विस्फोटहरू सुनिएको थियो । इजरायली ड्रोनहरूले शरको आकाशमा चक्कर लगाएको सुनिएको थियो । 

आक्रमणको प्रतिक्रियामा गाजाबाट हमासले पनि इजरायलतर्फ रकेट प्रहार गरेको थियो । जसमध्ये धेरैलाई इजरायलको मिसाइल प्रतिरक्षा प्रणाली ‘आइरन डोम’ प्रणालीले आकाशमै नष्ट गरेको थियो । 

पछिल्लो आक्रमण नियन्त्रित वेस्ट बैंकको जेनिनबाट प्यालेस्टाइनी नेता बसम अल–सादीलाई गिरफ्तार गरेपछि इस्लामिक जिहाद र इजरालबीच बढेको तनाबपछि सुरु भएको हो ।

गाजा क्षेत्रमा शासन गरिरहेको हमास समूहका एक वरिष्ठ अधिकारी गाजी हमादले ‘पछिल्लो आक्रमण एक क्रुर अपराध र गाजा क्षेत्रका बासिन्दाविरुद्धको नरसंहार’को संज्ञा दिए । हमासले इजरायलको पछिल्लो आक्रमणको कुनै तर्कसंगत कारण नभएको बताए । 

गाजामा शासन गर्ने हमासबीच विगत १५ वर्षमा चारवटा युद्ध भइसकेका छन् भने धेरै साना झडपहरूमा संलग्न छन् । 

इजरायलले यस हप्ताको सुरुदेखि नै गाजा वरपरका सडकहरू बन्द गरेर सीमानामा आउजाउ कडाइ गरेको थियो । ती कदमबाट उसले कुनै कारबाहीको सङ्केत गरिसकेको थियो ।

इस्लामिक जिहादका एक अधिकारी अहमद मुदलालले समूहले इजिप्टका मध्यस्थकर्ताहरू मार्फत इजरायलको हिरासतमा रहेका नेता अल–सादी र अर्का एक कैदीको रिहाइ, वेस्ट बैंक आक्रमणहरू रोक्नुपर्ने र गाजामाथिको वर्षौंदेखिको नाकाबन्दी हटाउनेलगायतका मागहरू राखेको बताए । तर इजरायले त्यसको कुनै प्रतिक्रिया नदिएको पनि उनले बताएका थिए । अमेरिकाले शुक्रबार नै इजरायलको घातक हवाई हमलाको प्रतिरक्षा गर्दै वक्तव्य निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप