शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा क्षेत्रीय दल हुँदै पतनको बाटोमा : बाबुराम भट्टराई

विचार मिल्ने दलहरूसँग गठबन्धन गरिने
शनिबार, २१ साउन २०७९, १४ : १५
शनिबार, २१ साउन २०७९

नेपाल समाजवादी पार्टीका नेताका डा.बाबुराम भट्टराईले समाजवाद ल्याउनका लागि सडक, सदन र सरकारबाट संघर्ष गर्ने बताएका छन् । शनिवार नेपाल समाजवादी पार्टीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले समाजवाद, आर्थिक समृद्धिका लागि संघर्ष गर्ने र त्यसका लागि आफूहरूले हरेक मोर्चालाई प्रयोगमा ल्याउने बताएका हुन् । 

उनले जसपालाई आफूहरूले रूपान्तरण गर्ने प्रयासस्वरुप असारको २८ र २९ गते बैठक पनि बसे पनि रूपान्तरणको कुनै सङ्केत नदेखिएको गुनासो गरे । जसपा क्षेत्रीय दल हुँदै पतनको दिशामा रहेको उल्लेख गर्दै उनले जसपाले देशको वैकल्पिक शक्तिको कार्यभार पूरा गर्न सक्दैन भन्ने बुझेर नै नेपाल समाजवादी पार्टी गठन गरेर अगाडि बढेको बताए । 

उनले भने, ‘जसपाले सङ्कीर्ण एउटा क्षेत्रगत, जातिगत सङ्कीर्णता राखेर देश र जनताको हित गर्न नसकेको देखियो । हामीले सङ्घर्षहरू गर्‍यौँ, बहसहरु गर्‍यौँ । जब त्यो परिणाममा देखा पर्न सकेन । हामी त्यहीँ पार्टीलाई रूपान्तरण गरेर अघि बढ्न सक्ने अवस्था देखिएन । त्यसपछि हामीले गत असार २८ र २९ गते केन्द्रीय समितिको विस्तारित बैठक आयोजना गरेर रूपान्तरणको केही सम्भावना हुन्छ कि भन्ने हामीले अन्तिम प्रयत्न गर्‍यौ । तर जो मानिसहरू उही पुरानै बाटोमा हिँड्न अभ्यस्त थिए । उनीहरूले रूपान्तरणको कुनै सङ्केत देखाएनन् । उल्टै पार्टीलाई एउटा नयाँ ढङ्गले विघटनको दिशातिर, विसर्जनको दिशातिर लिएर जाने जुन प्रयत्न गरे । त्यसबाट यो पार्टी रूपान्तरण हुन सम्भव छैन, यसलाई पुनर्गठन नै गर्नुपर्छ भन्ने निष्कर्ष निकालेर जनता समाजवादी पार्टी सङ्कीर्ण जातीय, क्षेत्रीय बाटोमा पतन हुने देखियो । त्यसले अव देशको वैकल्पिक राजनीतिको कार्यभार पुरा गर्न सक्दैन । त्यसैले अव हामी फेरी नयाँ ढङ्गले पुनर्गठन गरेर जानुपर्छ भन्ने मान्यताका साथ हामीले जनता समाजवादी पार्टी निर्माण गरेर हामी अघि बढेका छौँ । वैधानिक ढङ्गले यसले पूर्णता प्राप्त गर्न अझै बाँकी छ । यो केन्द्रीय समितिको हाम्रो मुख्य मक्सद भनेको पुनर्गठित यो पार्टीको वैधानिकतालाई पूरा गर्ने र त्यसपछि विभिन्न पक्षहरूसँग राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिको समेत आङ्कलन गर्दै आगामी दिनको कार्यभार तय गर्ने यो नै हाम्रो यो बैठकको मूल एजेण्डा हो ।’

अगामी चुनावमा भाग लिनका लागि विचार मिल्ने दलहरूसँग गठबन्धन गर्न सकिने बताउँदै उनले एक्लै अगाडि बढेर हुन्छ कि विचार मिल्नेसँग सहकार्य गर्ने त्यस विषयमा छलफल गरेर अगाडि बढ्ने बताए ।  नेता भट्टराईले भने, ‘अब जहाँसम्म आगामी निर्वाचनको कुरा छ । अस्तिमा मात्रै निर्वाचन घोषणा भइसकेपछि धेरै मानिसहरूमा जिज्ञासा छ । अव यो नयाँ नेपाल समाजवादी पार्टीले निर्वाचनलाई के गर्छ ? भन्ने जहाँसम्म जिज्ञासा छ । मैले अघि पनि सङ्केत गरेँ–हामी सदन, सडक र सरकार अर्थात् सडक सङ्घर्ष, चुनावी सङ्घर्ष र सरकारमा गएर पनि गरिने सुधारात्मक काम यी सबैको संयोजनबाट मात्रै हामीले अगाडि सारेको समावेशिता, सङ्घीयता, सुशासन, समृद्धि समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने हाम्रो मान्यता छ । त्यस अनुरूप जुन हाम्रो आगामी निर्वाचन छ, यसबारेमा पनि हामीले यो बैठकमा गम्भीर छलफल गरेर यसलाई कसरी हामीले प्रयोग गर्ने यसको निम्ति हामी एक्लै अगाडि बढेर हुन्छ या विचार मिल्ने नजिकका शक्तिहरूसँग सहकार्य गरेर हुन्छ, त्यसबारेमा पनि हामी गम्भीर विचार विमर्श गर्नेछौँ । र, त्यसको आधारमा हामीले निष्कर्ष निकाल्नेछौँ । म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु–सहभागी साथीहरूलाई आश्वस्त पार्न चाहन्छु–हामीले नयाँ इतिहास कोर्ने जुन हिम्मत र साहस गरेको छौँ । त्यो बाटो केही अप्ठ्यारो भए पनि अन्ततः विजय हाम्रै हुनेछ । किनकि जसले इतिहासको आवश्यकतालाई बुझेर, त्यसका नियमहरूलाई बुझेर अग्रगामी परिवर्तनका साथ लाग्ने साहस गर्दछ । ढिलो वा छिटो जित उसैको हुन्छ । र, निर्वाचनका निम्ति हामीले सम्भव भएसम्मका नजिकका विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल, गठबन्धन आदिका निम्ति प्रयास गर्नुछ । र, जनताको मुद्धाहरुलाई, जनताका विषयबस्तुहरुलाई चुनावको क्रममा पनि महत्त्वपूर्ण ढङ्गले उठाउने प्रयत्न गर्नुछ । यी सबै विषयहरूमा हाम्रो छलफल भएर आवश्यक निर्णय लिनेछौँ ।’

नेपाल समाजवादी पार्टीको केही कानुनी प्रक्रियाहरू पुरा गर्न बाँकी रहेको र त्यसलाई पुरा गर्दै संगठन निर्माण गरी अगाडि बढ्ने उनले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप