शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्रीको कार्यदक्षता माथि प्रश्न

शाही भन्छन्, ‘मैले भने अनुसार कर्मचारीले काम गरेनन्’
शनिबार, २१ साउन २०७९, ११ : ३२
शनिबार, २१ साउन २०७९

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले ०७८,१६ कार्तिकमा मुख्यमन्त्री पद सम्हाल्दै गर्दा दाबीका साथ भनेका थिए,‘चालु आवमा बजेट कार्यान्वयन ८० प्रतिशत भन्दा बढी हुन्छ ।’ सोही अनुसार पटक–पटक कर्मचारीहरूलाई निर्देशन दिँदै आएका थिए भने विभिन्न सार्वजनिक कार्यक्रमहरूमा पनि बजेट कार्यान्वयन पहिलो प्राथमिकता भएकाले सरकार त्यसमा कटिबद्ध भएर लागिपरेको उनको कथन हुन्थ्यो । 

प्रमुख प्रतिपक्षको भूमिकामा हुँदा उनले सरकारले बजेट कार्यान्वयन नै गर्न सकेन भनेर संसद्मा चर्को आलोचना मात्र होइन, व्यङ्ग्यसमेत गर्थे । तर उनकै कार्यकालको पहिलो वर्षमा लक्ष्य अनुसार बजेट कार्यान्वयन हुन सकेन ।  गत आर्थिक वर्ष ०७८–०७९ मा कुल ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेट मध्ये जम्मा २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ रुपैयाँ अर्थात् ६२.३७ प्रतिशत बजेट खर्च भयो । जबकि आर्थिक वर्ष ०७७–०७८ मा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार विनियोजन गरेको मध्ये ६५.५२ प्रतिशत बजेट कार्यान्वयन गरेको थियो । त्यति बेला महेन्द्रबहादुर शाही मुख्यमन्त्री थिए । 

जीवनबहादुर शाही नेतृत्वको सरकारले अघिल्लो पटकको हाराहारीमा पनि बजेट कार्यान्वयन गर्न नसक्दा सरकारको चर्को आलोचना भइरहेको छ । एक त प्रदेशको आफ्नै आयस्रोत छैन, संघबाट अनुदानमा आएको बजेट कार्यान्वयनमा पनि उदासिन बन्दा मुख्यमन्त्री शाहीको कार्यदक्षतामाथिनै प्रश्न उठीरहेको छ । 

लामो समय मन्त्रिपरिषद् विस्तार गर्न नसकेका उनले सार्वजनिक रूपमै मन्त्री नहुँदैमा सरकारको कुनै पनि कार्यसम्पादनमा असर नपरेको दाबी गर्थे । ‘चाहेपछि मुख्यमन्त्री एक्लैले पनि सरकार चलाउन सक्दो रहेछ,’ मुख्यमन्त्री बनेको दुई महिनापछि पत्रकार सम्मेलनका उनले भनेका थिए, ‘मैले सचिवज्यू समेतलाई यही बोलाएको छु । सोध्नुहोस्, कामकारबाहीमा समस्या भएको छ कि छैन ?’ 

सुरु–सुरुमा २÷३ महिनामा आफूले गरेको कामको फेहरिस्त सुनाउन पत्रकार सम्मेलन गरेका मुख्यमन्त्री शाहीले चालु आव सकिएको दुई महिना पुग्नै लाग्दा समेत पत्रकार सम्मेलन समेत गरेका छैनन् । आफ्नो दाबी अनुसार बजेट कार्यान्वयन गर्न नसकेका उनले बिहीबारको एक समीक्षात्मक कार्यक्रममा भने बजेट कार्यान्वयनको सम्पूर्ण दोष कर्मचारी माथि थुपारे । उनले त्यहाँ भनेका थिए, ‘मैले भने अनुसार कर्मचारीले काम नगर्दा काम गरेको रकमसमेत जनताले पाउन सकेनन् । असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनेर पटक–पटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले काम गरेको करोडौँ रकम पाएनन् ।’ 

‘मैले तपाईंहरूलाई मौखिक र लिखित रूपमै सिस्टम असार २५ गते बन्द हुन्छ भुक्तानीको काम समयमा सक्नुस् भनेको थिएँ, तपाईंहरूले के हेरेर बसेको ?,’ भन्दै उनले कर्मचारीमाथि आक्रोशसमेत पोखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप