सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
संस्मरण

त्रिवि कीर्तिपुरको एक बिहान

शनिबार, २१ साउन २०७९, ०७ : १९
शनिबार, २१ साउन २०७९

जीवन एक यात्रा हो । यात्राका क्रममा जीवनमा कति ओराली कति उकालीहरू चढियो, कति  चौतारीमा सुस्ताइयो । ती यात्राबारे केही लेखौँ जस्तो लागेन । तर कुनै कुनै यात्रा यति विशेष लाग्छन्, त्यसबारे केही नलेखी बस्न मन नमान्दो रहेछ । यस्ता विशेषमध्ये कीर्तिपुरतिरको एक बिहानको यात्राबारे केही लेख्ने कोसिस गर्दैछु । 

बिहान सबेरै मेरो यात्रा भक्तपुरबाट सुरु हुन्छ । आफ्नै अध्ययनको सिलसिलामा भक्तपुरबाट कीर्तिपुरसम्मको यात्रा तय गर्दछु । बिहानको खाली र शान्त सडक कोही आफ्नै मानिसको प्रतीक्षा गर्दै कुरिरहेझैँ लाग्छ । बाटोमा केही सवारी साधन, स्कुल र कलेजका केही विद्यार्थीहरू देखिन्छन् । उनीहरूतिर एक नजर लगाउँदै म अगाडि बढ्दै जान्छु ।

बिहानको समय ठाउँ ठाउँमा सवारी साधन चेकिङ गर्न बसेका सक्रिय ट्राफिक प्रहरी पनि देखिन्छन् । नक्खुबाट बिस्तारै अगाडि बढ्दै गर्दा सानेपाको मूल सडक छेउकै इनारतिर आँखा पुग्छन् । कति पटक मैले यही बाटो भएर यात्रा गरेको छु तर त्यहाँ इनार भएको पत्तो पाएको थिइनँ । आजकल सबेरै हिँड्ने क्रममा त्यस ठाउँमा केही महिलाहरू इनारबाट पानी झिकिरहेको भेटिन्छन् । त्यो इनार सडकको बाहिरी सतह बराबर भएको हुनाले झट्ट कसैले याद गरेको हुँदैन । मैले पनि बिहान सबेरै हिँड्ने क्रममा मात्र याद गरेकी हुँ । 

त्यतिकैमा त्रिवि परिसरमा बिहान टहल्न आउनेहरूको हुल पनि  त्यतिकै बाक्लो हुन्छ । तर ध्यानमग्न विद्यार्थीलाई ती कुनै कुराले असर गरेको हुँदैन ।

केही अगाडि बढेपछि बल्खु चोकमा प्रायः कामदारहरूको भीडभाड देखिने गर्दछ । अलिकति पर बस कुरिरहेका केही मानिसहरू पनि देखिन्छन् । बल्खुबाट त्रिभुवन विश्वविद्यालयतिर जाने बाटो लाग्दै गर्दा त्रिवि गेटसँगै ट्राफिक प्रहरीहरू सवारी साधनको चेक गरिरहेको भेटिन्छन् । देश र जनताप्रति समर्पित ती यौद्धाप्रति मनमनै नमन गर्दै अगाडि बढ्छु । 

त्रिविको गेटबाट जब भित्र छिर्छु, एकाएक मेरो मनमा विशेष किसिमको उत्साह जाग्छ । जसलाई शब्दमा व्यक्त गर्न सक्दिनँ । 

यतिकैमा प्रातः भ्रमणमा निस्केका र बिहानी कक्षाका लागि पाइला अगाडि बढाइरहेका हुल देखिन थाल्छ । सबेरै विश्वविद्यालय परिसर एकदमै शान्त हुन्छ । 

यहाँको बगैँचामा विभिन्न रङका फूल फुलेका छन्  । सायद ती फूल पनि कसैको प्रतीक्षामा रहेर मुस्कुराइरहेको भान हुन्छ । हावाको सुस्तरी लहरमा विश्वविद्यालय परिसर  वरपर ध्यानमग्न भएर पढिरहेका विद्यार्थीहरूको दृश्यले मन निकै रमाउँछ । मानाँै भगवान्मा विश्वास गर्नेहरू सबेरै उठेर मन्दिर पुगेजस्तै ती विद्यार्थीहरू एकाबिहानै विश्वविद्यालयको परिसर आएर एकचित एकभक्त रही सरस्वतीका पूजा अर्चना गरिरहेका छन्, आफ्नो लक्ष्य प्रगतिका लागि । कोही कोर्सका किताब पढिरहेका हुन्छन् त कोही लोकसेवा, राष्ट्र बैङ्कको तयारी गरिरहेका । 

त्यतिकैमा त्रिवि परिसरमा बिहान टहल्न आउनेहरूको हुल पनि  त्यतिकै बाक्लो हुन्छ । तर ध्यानमग्न विद्यार्थीलाई ती कुनै कुराले असर गरेको हुँदैन । हुन त अरू बेला पनि विश्वविद्यालय परिसरको चौरमा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरू नदेखेको त होइन तर पनि एका बिहानैको यो दृश्यले मभित्र पनि एक किसिमको अध्ययनप्रति तरङ्ग ल्याइदिन्छ । 

भनिन्छ नि जस्तो देश उस्तै भेष । समय र परिस्थितिले मानिसलाई आफूजस्तै बनाउन केहीबेर लग्दैन । मानवीय स्वभाव पनि यस्तै छ । त्यसैले मानिसको उद्भवदेखि हालसम्मको अवस्थाको अध्ययन गर्दा मानिसले आफूलाई यो संसारमा टिकाइराख्न अनौठा र अचम्म लाग्दा क्रियाकलाप गर्ने गर्छन् । 

कहाँ पात, बोक्राका लुगा लगाउने, काँचै मासु खाने, कहाँ डिजिटिल युग । हरेक परिवर्तनले आज मानव जीवनलाई सहज बनाइदिएको छ । तर त्यो सहजतासँगै मानिसहरू बिस्तारै परिवार समाजबाट अलग्गिँदै पनि गइरहेको भान भइरहेको छ । 

मानिस अब विभिन्न कारणले समूहमा भन्दा एक्लिएर बस्न मनपराउने भएका छन् । पहिला जात्रा पर्व, चाडलाई विशेष महत्त्व दिने हामी हाल आएर काम चलाउ सरकारको जस्तै स्वभाव देखाउन थालेका छौँ । व्यक्तिवादी स्वभावलाई बढी जोड दिँदैछौँ । 

वर्ष दिन अगाडि म त्रिभुवन विश्वविद्यालयको वातावरणबाट प्रभावित भएर जागिर छोडी मास्टर्स पढ्न विश्वविद्यालय पुगेकी थिएँ । त्यो कुरा सम्झिँदा साँच्चै सही गरेछु भन्ने लगेको छ । विश्वविद्यालयको माहोलले एक किसिमको ऊर्जा प्रदान गरिरहेको हुन्छ । त्यसको वरपरबाट यात्रा गर्ने मानिसमा पनि शिक्षाप्रति आकर्षित पारिरहेको हुन्छ । नेपालको शैक्षिक इतिहास बोकेको पहिलो ठूलो विश्वविद्यालय भएकाले पनि नेपालको शैक्षिक क्षेत्रमा विशेष योगदान गर्दै आइरहेको छ । 

विश्वसामु नेपालको शैक्षिक इतिहासको ज्वलन्त उदाहरणका रूपमा त्रिभुवन विश्वविद्यालय रहेको छ । समयअनुसार त्रिविले नयाँ नयाँ  विषयहरू साथै आधुनिक शिक्षण पद्धतिलाई पनि समेट्दै आएको छ । कोभिडको समयदेखि त्रिविले पनि पहिला जुम र पछि माइक्रोसफ्ट टिमबाट कक्षाहरू सञ्चालन गरिरहेको छ । 

अहिले पनि त एमफिल, पिएचडीका कतिपय कक्षा विद्यार्थीका मागअनुसार केही दिन अनलाइन र शनिबार भौतिक उपस्थितिमा सञ्चालन गरिरहेको छ । पहिलेको तुलनामा अहिले शैक्षिक क्षेत्रको स्तर उन्नतिसँगै त्रिविको प्राकृतिक वातावरण पनि राम्रो भएको छ । 

घर छाडेर टाढा आएर पढ्दा पनि आफ्नो आँगन वरपरको बारीको झझल्लो गराउँछ । यी विभिन्न कार्यमा विभागीय प्रमुखहरु पनि सक्रिय रूपमा लागेको देखिन्छ । 

पहिला बार नलगाउनाले त्रिवि परिसर चौर गाईवस्तु चर्ने गौचरण भएको थियो । तर पछिल्लो समय बारहरू लगाएर अध्ययनशील विद्यार्थीका लागि एउटा राम्रो स्थानका रूपमा चिनिन पुगेको छ । विद्यार्थीहरू हरियो चौरमा बसेर कतै सामूहिक छलफल त कतै एक्लै पढिरहेका हुन्छन् । जता हेरे पनि विद्यार्थीको लर्को देखिन्छ । नेपालका दुरदराजबाट आएका विद्यार्थीहरू हरियो चौरमा बसेर  आफ्ना सुन्दर भविष्यको कोरिरहेका छन् । उनीहरु आफ्ना सपना साकार पार्न हरबखत मेहनत गरिरहेका भेटिन्छन् । 

उपत्यका बाहिरबाट आएका विद्यार्थीलाई डेराभन्दा त्रिविको चौर प्रिय बनेको देख्न सकिन्छ । हाल हरेक विभागले आफ्नो विभाग वरपर विभिन्न फलफूलका बिरुवाहरू रोपेका छन् । साथै घडीघर अगाडिको चौरमा त मकै तथा विभिन्न तरकारी पनि रोपिएको छ । यसले पनि त्रिविको शोभा बढाउने कार्य गरेको छ । 

घर छाडेर टाढा आएर पढ्दा पनि आफ्नो आँगन वरपरको बारीको झझल्लो गराउँछ । यी विभिन्न कार्यमा विभागीय प्रमुखहरु पनि सक्रिय रूपमा लागेको देखिन्छ । 

अलि अगाडि समाजशास्त्रको विभाग पुग्दा विभाग प्रमुख डा. युवराज लुइटेल आफैँ चौरमा आई बगैँचामा काम गरिरहेका कर्मचारीलाई निर्देशन दिइरहनुभएको थियो । टन्टलापुर घामको वास्ता नगरी डा. लुइटेल आफ्नो विभागको बगैँचामा निकै व्यस्त देखिनु हुन्थ्यो । यसरी विभागीय प्रमुखदेखि हरेक कर्मचारी उत्तिकै सक्रिय रूपमा लागेको देखिन्छ । समग्रमा हेर्दा हाल त्रिविको अवस्था निकै राम्रो भइरहेको छ । यहाँको वातावरणले सबैलाई मोहनी लगाउँछ ।  

लेखक ख्वप कलेज भक्तपुरमा समाजशास्त्र विषय अध्यापनरत छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता गाइसी
सुनिता गाइसी
लेखकबाट थप