ad
x

अबोध छोरीको आँसु

person explore access_timeसाउन २१, २०७९ chat_bubble_outline0

सामाजिक परम्पराको दस कर्ममध्ये एक हो– गुन्युचोली । जुन कर्म नेपाली धर्म र संस्कृतिमा छोरीलाई सात वर्षको उमेरमा पूरा गरिन्छ । नेपाली परम्परामा गर्भधान, न्वारान, अन्न प्रासन, अष्टचिरञ्जीवीपछि गुन्युचोली पाँचौँ कर्ममा पर्न आउँछ । 


यसै क्रममा गुरुले परम्पराअनुसार छोरीलाई गुन्युचोली दिन सत्यनारायणको पूजा र होमको साइत पर्सि छ भन्नुभयो । त्यहीअनुसार साइतको तयारी भयो । 



उहाँ विदेशिनु भएको पनि पाँच वर्ष भइसक्यो । ‘यो घर बनाएको ऋण तिरिसक्न पाए घर फर्कन्छु’ भन्नुभएको छ । त्यतिन्जेल मैले आमा र बाबा दुवैको भूमिका निर्वाह गर्नुपर्नेछ । 

पूजाका लागि सामान जोरजाममा जुटेकाले आज घाँस काट्न जान भ्याइनँ । गाईलाई परालले मात्र नहोला भनेर हतार हतार करेसाबारीको सानो घाँसको रुख इपिल इपिललाई नै आजको घाँस बनाएर गोठमा राखें । साँझको खाना तयार पार्न भान्सामा जाँदै थिएँ । छोरी दगुर्दै ‘ममी भोक लाग्यो’ भन्दै कुर्ताको फेरो समाउन आइपुगी । 

छोरीलाई भोक लाग्नु पनि स्वाभाविक थियो । दिउँसो स्कुलमा के खाजा खाई ? थाहा छैन । मैले भने बिहानको खानापछि उसलाई केही दिएकै थिइनँ । त्यसैले उनले भोक लाग्यो भन्दा कति ढिलो नगरी उनका लागि दिउँसो बजारबाट फर्कंदा ल्याएको पाउरोटी र दूधको व्यवस्था गरी साँझको खाना बनाउनतिर लागेँ । 

आज माइतबाट आमा पनि आउँछु भन्नु भएको थियो । तर साँझसम्म पनि आइपुग्नु भएन । किन होला भनेर फोनमा आमासँग कुरा गरेँ । आमाले आज आउन भ्याइनँ छोरी भोलि आउँछु भन्नुभयो । भोलि चाँडै आउनुस् है भन्दै फोन राखेँ । दिउँसो गाँसेका टपरी मिलाउन लागेँ । छोरी मेरो छेवैमा बसेर दूध र पाउरोटी खाँदै मलाई सोध्न लागिन्, “ममी मेरो गुन्युचोलीमा मेरा कुन कुन साथी बोलाऊँ ?

गुन्युचोलीको अर्थ उनले बुझेकी थिइनन् । तर उनी खुसी थिइन् । उनलाई मैले भनेको थिएँ, “गुन्युचोलीमा मेरी छोरीलाई परीजस्तै देखिन्छ,  गाजल टिकी अनि यो चोली र गुन्यु लगाइ दिनेछु ।” उनलाई ल्याइदिएका शृङ्गारको समान देखाएदेखि नै उनको खुसीको सीमा नै थिएन । उनीसँगै म पनि खुसी थिएँ । 

उनको बोलीसँगै आफ्नो शब्द मिसाउँदै भने–“बोलाऊ न, ककसलाई बोलाउन मन छ । हाम्रो घरमा सत्यनारायण भगवान्को पूजा छ, अनि मेरो गुन्युचोली पनि छ भन है ।” 

मेरो उत्तरले हर्षित थिइन् उनी । आजको रात कहिले जाला है मामु भन्दै होमवर्क गर्न कोठातिर कुदिन् । कुद्दै गर्दा पनि उनको एक्लो भलाकुसारी जारी थियो !

भोलि त म मेरा सबै साथीलाई भन्छु, आज त मैले मेरो मिल्ने साथीलाई मात्र भनेँ मामुले के भन्नु हुन्छ भनेर । भोलि त सबैलाई भन्छु । उनको भलाकुसारी सुनेर म आफैँ हाँस्दै थिएँ । 

एक आवाज आयो “नानी !”

कसले बोलाउनुभयो भन्ने लागेर बाहिर हेरेँ । पल्लो घरकी आमाले नानी भन्नुभएको रहेछ । 

उहाँले हातमा एउटा कार्ड समात्नुभएको थियो । नानी निम्तो लाऊ त भन्दै उक्त कार्ड मेरो हातमा दिनुभयो । “पर्सि नातिनीको गुन्युचोली,” अनि भन्नुभयो, “भोलि हल्दीको रसम छ, भोलि पनि आऊ है ।” मैले हुन्छ भन्दै विवाहको जस्तै रातो कार्ड समातेँ निम्तो स्वरूप । 

निम्तो त मलाई पनि दिनु थियो । दिउँसो सुपारी ल्याएकी थिएँ झोलामा तर सबैलाई भोलि नै भन्नुपर्ला झैँ लागेर मुसुक्क हाँस्दै निम्तो समातेँ अनि सोधेँ, “कुन नातिनीको हो आमा ?” उहाँले उत्तर दिनुभयो, “कलाको कान्छी छोरी उत्शिखाको । तिम्री छोरी र उत्शिखा त एकै सालका हुन् नि । तिम्री छोरीको पनि बेला भयो त !” 

हो आमा पर्सिको साइत राम्रो छ अरे, नारायणको पूजाको लागि पनि । त्यसैले नारायणको पूजा लगाएर नानीलाई पनि गुन्युचोली दिने विचार गरेकी छु । 

आमा कस्तो एकै दिन परेछ भन्दै झोलाको सुपारी निकालेर पहिलो निम्तो नै आमालाई भयो । सत्यनारायणको जलप्रसाद ग्रहण गर्न आउनुहोला, चुले निम्तो है भन्दै सुपारी दिएँ । उहाँले पनि भ्याएसम्म आउँछु नानी भन्दै सुपारी समाएर ल म गएँ है त भन्दै निस्कनुभयो । 

मेरी छोरी भने यी सब कुरा निकै चाखिलो पारामा सुनिरहेकी थिई । 

पल्लो घरकी आमा जानासाथ एउटा प्रश्न सोधिहालिन्, “ममी, यो हल्दीको रसम भनेको के हो ?” 

खै नानी हल्दीको रसम भनेको त म पनि बुझ्दिन । हाम्री आमाले हामीलाई गुन्युचोली दिँदा दसैँको टीकाको दिन टीका लगाएर दिनुभएको थियो । यति भन्दै म आफ्नै काममा लागेँ । उनी जिज्ञासु मनसँगै होमवर्क गर्न लागिन् । 

बिहान ४ बजे नै उठेर भोलिको तयारीमा जुट्नु थियो । आज आमा पनि आउनुभयो । बिहानै परिवारका सबै सदस्यको पनि जमघट भयो । बल्ल मलाई काममा सघाउने हातहरू भए । सबै मिलेर भोलिको तयारीमा लाग्दा काम सहजै सिद्धियो । बिहानैदेखि छोरीको खुसीको सीमा नै थिएन । स्कुल पनि साथीहरूलाई बोलाउन भनेर नै जान खोजेझँै लागेको थियो । 

स्कुलबाट उनी नाच्दै आएको देखेर सबैले उनलाई नै जिस्क्याइरहेका थिए । उनी गमक्क थिइन् । उनको खुसीमा मेरो मन पनि दङ्ग थियो । हैन कति राम्री छोरी पाएकी हो भन्दै हुनुहुन्थ्यो पल्लाघरे काकी । म मुसुक्क हाँस्न पछि परिनँ । घरमा खुसीको माहोल छाएको थियो । 

पल्लो घरमा गीत बजेको आवाज आफ्नै घरमा बजेजसरी आउन थाल्यो । गाउँका सबै पहेँलो, हरियो भएर हल्दीको रसम भनेर जान लागे । मेरी छोरी पनि दगुर्दै पल्लो घर गई । मलाई पनि हल्दीको रसम भनेको के रहेछ हेर्न मन लाग्यो । घरमा आउनु भएको पाहुना यसै छाडेर जाने कुरो आएन । त्यसैले हेर्न जाऊँ कस्तो रहेछ हल्दीको रसम हामीलाई पनि बोलाउनुभएको छ, कार्ड नै छ भनेर सबैलाई हल्दीको रसम हेराउन लगेँ । 

त्यहाँ रमाइलो थियो । गाना घन्किएको थियो । सबै पहँेला र हरिया थिए । भोलिको गुन्युचोली भनेर आज यो रसम गरेको अरे । उत्शिखालाई पहँेलो पहिरनमा सजाइएको थियो । पहेँलै गहना हातमा मेहेन्दीसँगै बेसार र दूधले नुहाउने कार्यक्रम रहेछ । खानाको राम्रो बन्दोबस्त थियो । जसले जे खाँदा पनि पुग्ने जसरी । 

खाना खानेको पनि घुइँचो नै थियो । कोही नाच्दै थिए, कोही खाँदै त कोही पालैपालो फोटा खिच्दै थिए । मेरी छोरी पनि त्यसै माहोलको एक कुनामा बसेर यो दृश्य हेरिरहेकी रहिछ । मेरा आँखा छोरीमाथि परे । उनको नजर सबैतिर घुमिरहेको थियो । 

अचानक उनको अनुहारमा भएको चमक हराएझैँ लाग्यो मलाई । उनको अनुहारमा अलमलताको भाव झल्केझैँ लाग्यो । कता कता छोरीको असजहतालाई देखेर मलाई त्यहाँ बस्न मन लागेन । त्यसैले छोरीलाई हिँड घर जाऊँ भने । उनी पनि लुरुक्क परेर मसँग घर आइन् । हामी आमाछोरी त्यहाँबाट घर आयौँ । मेरा अरू पाहुना त्यहाँको रमाइलोमा भुलेका थिए । मैले कसैलाई बोलाइनँ पनि ।

उनी मेरो हात समातेर घर हिँडेदेखि नै मनमा उब्जिएको प्रश्न सोध्न थालिन् । मामु मेरो पनि त भोलि गुन्युचोली हो नि, अनि मेरो चाहिँ हल्दीको रसम गर्नु पर्दैन ? उत्शिखालाई कति राम्रो देखिएको है मामु । त्यो लुगा अनि उनले घाँटीमा लगाएको के हो ?

अनेकौँ थिए उनका प्रश्न । ती प्रश्नका उत्तर मसँग थिए तर उनको सानो मस्तिष्कले मेरो उत्तर बुज्ने थिएन । त्यसैले उनलाई के भनेर सम्झाउने, मैले मेसो नै पाइनँ । अघिसम्म उनको अनुहार अलमलिएको अनुभूति पाउने म अहिले उनको प्रश्नले आफैँ अलमलमा परेँ । 

भोलिको काम खासै बाँकी थिएन । त्यसैले म छोरीसँगै बसेर उनको होमवर्क गराउनतिर लागेँ । उनलाई पढ्न मन थिएन सायद । हातमा पेन्सिल दिनासाथ उनी निदाइन् । 

आज पूजाको दिन धेरै काम थियो । घरमा धेरै सदस्य हुनुभएकाले सजिलै पूजाको समयमा सबै काम भ्याइयो । घरमा खाना पकाउने जिम्मा बैनी र नन्दको थियो । हामी पूजामा बस्यौँ । 

नारायणको पूजा सिद्धिन झन्डै चार घन्टा लाग्यो । पूजा सिद्धिन लागेपछि गुरुले छोरीलाई पनि चरु होमका लागि बोलाउनुभयो । मैले पनि बहिनीलाई छोरी खोइ भनेर सोधेँ । बहिनी छोरी खोज्नतिर लागी । छोरी पल्लो घरको गुन्युचोलीमा गएकी रहिछन्, लिएर आइन् । छोरीलाई चरु होम्न लगायौँ । अन्त नजाऊ गुन्युचोली दिने समय हुन लाग्यो भनेँ । उनले चुपचाप मुन्टो हल्लाइन् । 

होम सिद्विएपछि खोज्दा फेरि पल्लो घरमा नै थिइन् र आफैँ लिन गएँ । त्यहाँ छुट्टै रौनक थियो, गाना र खानाको, फोटा र पहिरनको । उत्शिखालाई परीजस्तै सजाइएको थियो । कलेजी लेहेङ्गा, गलामा हार, बेहुलीको जस्तो शृङ्गार, साँच्चै राम्री देखिएकी थिइन् । त्यहाँको रौनकमा मेरी छोरी हराएकी थिइन्, मेरा नजरले मात्र भेट्ने ठाउँमा । उनलाई मैले छोरी हिँड गुन्युचोली दिने बेला भयो भनँे । मेरो हात समातेर हिँडिन् गर्वका साथ ।

आमाले लिन आउनुभयो, अब म पनि सजिने छु उत्शिखाझैँ, म पनि परीजस्तै हुन्छु भनेझैँ खुसी हुँदै मसँग आइन् । मैले उनलाई ल्याइदिएको ढाका सुतीको चोली र त्यसै कपडाको फरिया थियो । आँखामा गाजल, पातलो गुम्टो र ओठमा हल्का लिपग्ल्स लगाइदिएँ । मेरो नजरमा उनी परीभन्दा कम देखिइनन् । 

गोडा धोएर पानी खाई टीका लगाइदिएँ र धैरै पढ्नु भनेर आशीर्वाद दिएँ । घरमा आएका सबैले पालैपालो टीका लगाएर आशीर्वाद दिए । तर छोरीको अनुहार हाँसेन । उनलाई ती पहिरन मन परेन सायद ।

मेरो पछि पछि लागेर मामु म यो लुगा खोलेर अर्काे लुगा लगाएर पल्लो घर जान्छु भनिन् । यतिकै जाउ न भन्दा रुन लागिन् अनि केही भनिनँ । म चुपचाप आफ्नो काममा लागेँ । उनी रुँदै मेरो पछि लागिन् । 

मलाई यो लुगा सुहाएन, म यो लाउँदिनँ । पल्लो घरमा कति रमाइलो छ, म त्यहीँ जान्छु । उत्शिखाको गुन्युचोली कति राम्रो छ । सबैजना मेरा साथी त्यहीँ छन् । हाम्रो घरमा कोही छैनन्, त्यही जान्छु भनिन् । उनका आँसु अगाडि मेरो केही लागेन । 

साँच्ची भन्दा उत्शिखाको जस्तो पहिरन ल्याइदिन सक्ने मेरो अवस्था नै थिएन । उनको जस्तो रौनकताको भोज गर्न सक्ने मेरो आर्थिक अवस्था नै थिएन । तर म मेरी छोरीको अबोधताको अगाडि निरीह र विवश थिएँ । छोराछोरीको आवश्यकता पूरा गर्नुपर्ने दायित्व मेरो पनि हो । तर म लाचार थिएँ, उनको आँसुको अगाडि । त्यसैले मैले उनको कपडा फेरिदिएर दसैँमा ल्याइदिएको घाँघर लगाइदिएँ । उनी आँसु पुछ्दै पल्लो घरतिर लागिन् । म अवाक् मुद्रामा उनका पाइला नियालिरहेँ । 

मन खिन्न भयो । चुपचाप काममा लागेँ तर मनमा अनेकौँ प्रश्न उठ्दै सेलाउँदै गरे । धर्म संस्कार सबैले पूरा गर्नुपर्ने हुन्छ । धर्मको नाममा आएको विकृतिले संस्कार राम्रो बसाल्दैन । हुनेले गरेको रमाइलोमा नहुनेको मन कति जल्छ, कति ऋण बढ्छ । कति समवेदना पोखिन्छ । सुन्दरता सादापनमा पनि हुन्छ । मैले कति सुन्दर देखेको मेरी परी परको आकर्षण नियाल्दै होली । 

धर्मकर्म मान्ने र मनाउने नै हो भने त्यसको वास्तविकता बुझेर मनाइयोस् । अन्यथा धर्म र परम्पराको नाममा विकृति नभित्र्याइयोस् । अचेल मलाई न तीज मन पर्छ, न तिहार, न वैवाहिक समारोह मन पर्छ, न व्रतवन्ध । धर्म र परम्परालाई देखावटी लेपनमा बेरेर परम्परा मनाउन थालिएको छ । आज मेरी अबोध छोरीको आँखाबाट झरेको आँसु त्यही विकृतिको प्रमाण थियो । 

मन अझै भारी थियो । साँझको ८ बज्न लाग्यो । म छोरी लिन फेरि गएँ । उनी अघिकै कुनामा थिइन् । एक्लै त्यही रौनकलाई नियाल्दै । म छोरीको छेउमा पुगेँ । सानु हिँड अब घर जाऊँ । उनले आँसु पुछ्दै मेरो हात समातिन् । उनको हातको स्पर्श जब मेरो हातले पायो, उनलाई ज्वरो पो आएछ भन्ने थाहा पाएँ । म छोरी बोकेर घर लागेँ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।