शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान प्रस्थान

शुक्रबार, २० साउन २०७९, २२ : ३२
शुक्रबार, २० साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने भ्रमणका सिलसिलामा शुक्रबार राति जापान प्रस्थान गरेका छन् ।  नेपाल एयरलाइन्सको विमानमा प्रमुख स्वकीय सचिव गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरणसहित उनी जापान प्रस्थान गरेका हुन् । 

प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल, नेताहरु देव गुरुङ वर्षमान पुन, शक्ति बस्नेत, ओम शर्मालगायतले प्रचण्डलाई बिदाइ गरेका थिए । 

 नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्ड त्यहाँ हुने विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको छ । प्रचण्डले शनिबार जापानको  फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्ने कार्यक्रम छ । आइतबार प्रचण्डले हिरोसिमाको पनि भ्रमण गर्नेछन् । शनिबार हिरोसिमा घटना भएको ७५ बर्ष पूरा हुँदैछ । 

यस्तै आइतबार नै प्रचण्ड नेपाली जन प्रगतिशील मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् । 

त्यहाँ रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे सचिवालयले जनाएको छ ।  प्रचण्डको भ्रमणले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्नुका साथै नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपाली बीचमा विश्वास र सहकार्यमा बढोत्तरी हुने विश्वास लिइएको छ ।  जापान भ्रमण पुरा गरेर प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप