मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बजारीकरणका लागि निःशुल्क कृषि एम्बुलेन्स

शुक्रबार, २० साउन २०७९, २१ : ५२
शुक्रबार, २० साउन २०७९

पोखरा महानगरपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकको उत्पादन बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो ।

फलफूल तरकारी मूल्य शृङ्खला विकास आयोजनासँगको साझेदारीमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको पोखरा महानगरले जनाएको छ । एम्बुलेन्स सेवा सञ्चालनसम्बन्धी सम्झौतामा आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कृषि तथा पशुपछि विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल  हस्ताक्षर गरे । कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाहरूबाट कृषि उत्पादनको सङ्कलन केन्द्रमार्फत निःशुल्क ढुवानी गर्नेछ भने उपभोक्ता केन्द्रित वडाहरूमा भने वितरणको काम गर्नेछ ।

ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारी मुख्य बजार क्षेत्रका उपभोक्तालाई स्वस्थ उपज खुवाउने महानगरको वार्षिक नीति तथा कार्यक्रमअनुसार कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको प्रमुख आचार्यले बताए । उनका अनुसार कृषि एम्बुलेन्समार्फत कृषकलाई आवश्यक पर्ने बीउसमेत वितरण गर्न सहज हुनेछ । कृषि एम्बुलेन्सको सञ्चालनले कृषि उपजमा हुने क्षतिको न्यूनीकरण, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित कृषि उपज ढुवानी, समयमा ढुवानी तथा बजारीकरणको अभावका कारण तरकारी बिग्रेर हुने फोहरमा कमी आउने बताइन्छ ।

यसैगरी तरकारीमा हुने चरम बिचौलियापनको अन्त्य, कृषकलाई तरकारी बजारसम्म पु¥याउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धतालगायत फाइदा हुने महानगरपालिकाको कृषि विकास महाशाखाका प्रमुख मनोहर कडरियाले बताए । उनका अनुसार तालिका बनाएर महानगरका विभिन्न क्षेत्रहरूमा दैनिकजसो सञ्चालन गरिने यस सेवाले साना किसानलाई समेत आफ्नो कृषि उपजको बजारीकरणमा सहयोग पुग्नेछ । एक पटकमा तीन टनभन्दा धेरै तरकारीको ढुवानी गर्न सक्ने क्षमताको सो एम्बुलेन्स सञ्चालनलाई महानगरले थप व्यवस्थित गर्दै लैजाने कडरियाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप