बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘फोहोरलाई भान्सामै कुहिने र नकुहिने गरी छुट्याए मात्र दिगो व्यवस्थापन’

शुक्रबार, २० साउन २०७९, २१ : २८
शुक्रबार, २० साउन २०७९

सहरी फोहोर व्यवस्थापनको दिगो समाधानका लागि भान्छामै वर्गीकरण गर्नुपर्ने वातावरण सुधार र जनस्वास्थ्य क्षेत्रबाट सुझाव आएको छ । आज राजधानीमा काठमाडौँ महानगरपालिकाको वातावरण तथा कृषि विभाग, फ्रान्सको मेड्सा डु मोन्ड, ग्रीन पाथ नेपाल र संयुक्त सफाइ जागरणले आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव आएको हो ।

कार्यक्रम, स्रोतमा फोहोर वर्गीकरण र दिगो फोहोर व्यवस्थापनमा अनौपचारिक क्षेत्रको योगदान विषयमा केन्द्रीत थियो । केन्द्रीत विषयमा टिप्पणी गर्दै सहभागीबाट फोहोर व्यवस्थापनमा निजी क्षेत्रबाट गरिएको योगदानको पनि सँगसँगै चर्चा गर्नुपर्ने सुझाव राखेका थिए ।  कार्यक्रमको समूहगत छलफलमा बोल्दै काठमाडौँ महानगरको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले, काठमाडौँ महानगरपालिकाले जिम्मेवारीपूर्वक फोहोर व्यवस्थापनमा काम गरिरहेको बताए । उनले फोहोरको व्यवस्थापन महानगरले गर्ने बताए । समूहगत छलफलमा महानगरको वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईले महानगरले फोहोर व्यवस्थापन गर्न समुदायको चेतना बनाउनेदेखि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको काम गरिरहेको जानकारी दिइन् ।  

त्यस्तै ग्रीन पाथ नेपालका निर्देशक प्रदीप अमात्यले, फोहोरलाई कम्पोष्ट गर्न भान्साबाटै काम थाल्नु पर्ने बताए ।  त्यस्तै ब्लु वेस्ट टु भ्यालुका प्रमुख कार्यकारी नविनविक्रम महर्जनले उत्पादनदेखि व्यवस्थापनसम्मको चक्रमा पर्ने सबै कामलाई एकीकृत गरेपछि मात्र फोहोर व्यवस्थापनमा दीगोपना आउने बताए । त्यस्तै संयुक्त सफाइ जागरणकी अध्यक्ष शान्ति तामाङले, ट्रान्सफर स्टेशनमा फोहोर वर्गीकरण गर्न सकिने र यसमा अनौपचारिक क्षेत्रका मानिसहरुले सहयोग गर्ने धारणा राखिन् ।  

कार्यक्रममा वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालले फोहोरको दिगो व्यवस्थापनका लागि नीजि तथा गैरसरकारी र अनौपचारिक क्षेत्रको योगदानलाई संस्थागत गर्नुपर्ने बताए ।  सिफेडका प्रमुख कार्यकारी वातावरण वैज्ञानिक रामचरित्र शाहले, अध्ययन उधृत गर्दै फोहोरमा काम गर्ने व्यक्तिहरुको रगतमा शिशा (लेड) देखिएको तथ्य सुनाए ।  मेड्सा डु मोन्डले काठमाडौँ महानगरसँग सम्झौता गरेर वडा १९ को साविक सहरी स्वास्थ्य क्लिनिकलाई स्तरउन्नती गरेर ओपिडीसहितको सेवा सञ्चालन गरेको छ । अनौपचारिक क्षेत्रबाट फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिहरुलाई लक्षित समूह बनाएर यो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा मेडसा मेड्सा डु मोन्ड फ्रान्स नेपाल मिसनका कार्यक्रम प्रबन्धक अस्मिता थापाले बागमती र विष्णुमती नदी किनारामा रहेका अनौपचारिक क्षेत्रका सफाइकर्मीहरुको स्वास्थ्य तथा सामाजिक विकासका लागि काम भइरहेको बताइन् ।  

कार्यक्रममा काठमाडौँ महानगरको वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, ६ का अध्यक्ष भुवन लामा, २९ का अध्यक्ष कुश ढकाल, मिस नेपाल अर्थ २०२२ डा. सरिसा श्रेष्ठसहित क्षेत्रगत पदाधिकारीहरुले भाग लिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप