अर्थमन्त्रीमा जनार्दनको कमब्याक र चुनौती

person explore access_timeसाउन २०, २०७९ chat_bubble_outline0

शान्ति प्रक्रियासँगै गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा  पहिलो पटक शान्ति तथा पुनः  निर्माण मन्त्री भएका जनार्दन शर्मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रभावशाली नेता मानिन्छन् । उनी अझ प्रभावशाली तब मानिए,जब उर्जा मन्त्रीमा नियुक्तिपछि गरिएको पत्रकार सम्मेलनमा लोडसेडिङ अन्त्य गर्ने घोषणा गरे र सोही बमोजिम काम पनि गरेर देखाए ।


साँच्चै भन्ने हो भने नेपालमा अठार घण्टा लोडसेडिङ र विद्युत प्राधिकरण पन्ध्र सोह्र अर्ब घाटामा गएको अवस्थाबाट लोडसेडिङको पूर्ण अन्त्य र एघार अर्ब नाफा सुरक्षित गर्नु भनेको दैवी चमत्कार जस्तै थियो । त्यतिबेला हटाइएका प्राधिकरण प्रमुख मुकेश काफ्लेले त लोडसेडिङ अन्त्य भए आफूले जागिर नै नखाने भनेर घोषणा गरेका थिए ।  मान्छेहरु त्यस कार्यको जस कुलमानलाई दिन्छन् तर कुलमान आफै भन्छन्,जिम्मेवारीका हिसाबले काम मैले गरेको भए पनि प्रचण्ड र जनार्दन नहुँदा हुन् त मैले यो जिम्मेवारी नै पाउने थिइनँ ।



पैसा नै कमाउन खोजेको भए त्यतिबेला इन्भर्टर व्यापारी र सित्तैमा विद्युत उपयोग गरिरहेका ठूला भनिने उद्योगीहरु करोडौं रकम दिन तयार थिए । तर जनार्दनले त्यसो नगरेर सदाको लागि लोडसेडिङको नामोनिशान मेटाइदिए । यति हुँदा पनि जनार्दनलाई नचिन्ने मान्छेहरु अझै देख्दा उदेक पनि लाग्छ ।



उर्जाको सफलतापछि गृहमन्त्री भएको बेला पनि शान्तिसुरक्षा र बिपद् व्यस्थापनमा रातदिन खटेर काम गरे । उर्जाको जत्तिको देखिने गरी काम गर्न समय पर्याप्त थिएन । छोटो समयमै सरकार परिवर्तन हुनाले उनले सोचेजस्तो काम गर्न नपाए पनि बदनामी भने कमाएनन् ।

नेकपा एकता प्रक्रियामा पनि राम्रो भूमिका निभाएका जनार्दन केपी ओलीको संसद विघटन काण्डपछि बनेको देउवा सरकारमा अर्थमन्त्री बनाइए । सुरुमै देउवाले जनार्दन जस्तो केही गर्ने ईच्छा भएको उर्जाशील व्यक्ति अर्थमन्त्री पाएको भनेर प्रशंसा गरेका थिए । त्यसपछि सरकारमा राम्रै काम गर्न कसरत गरिरहेका देखिए पनि सरकार बनेको केही महिनामा देशमा आर्थिक अवनति भएका आँकडा आउन थाले । शेयर बजारमा गिरावट आयो र शेयरमा एक दुई लाख लगानी गरेका व्यक्तिले समेत असक्षम अर्थमन्त्री भन्न भ्याए ।

अपितु शर्माले हार मानेनन् र २०७९/०८० को बजेट निर्माण गरेर संसदमा पेश गरे । बजेटमा दफावार छलफल भयो । छलफलमा उठेका बिषयमा स्पष्टीकरण दिएर बजेट पारित गरियो । प्रतिपक्षले पनि खासै खोट लगाउने ठाउँ नभेटेर होला,उल्लेख्य खोट लगाउन सकेन । बरु ठूला योजना केही ल्याउन नसकेको सम्म भन्न भ्यायो । विपक्षले बजेटका विषयमा त्योभन्दा ठूलो आरोप पनि लगाएन,अवरोध पनि गरेन ।

जवाफमा मन्त्री शर्माले यो आर्थिक संकटबाट देशलाई  जोगाउने बेला भएकोले आत्मनिर्भरतामा ध्यान दिएर निर्यातमुखी र उत्पादनमुखी अर्थनीति अबलम्बन गरिएको बताए । यति हुँदा हुँदै पनि जनार्दनलाई मिथ्या आरोप किन लगाइयो ?सो आरोप संसदीय समितिबाट किन पुष्टि भएन ?भएको के हो ?कि कतै जनार्दनले गल्ती गरेकै हुन् ?यो प्रश्न अहिले टड्कारो बनेको छ । यसको खास कुरा स्पष्ट बुझेर पनि आँखा चिम्लेर हात्ती छाम्नेहरुलाई त के भन्न सकिन्छ र ?तर साँच्चै नबुझेका नागरिकलाई यसको तथ्य खुलाएर स्पष्ट पार्नु उत्तिकै जरुरी छ ।

भएको  के हो त ?खासमा केही भएकै हैन । समाजवादी मोडेलको बजेट देखेर पुँजीपतिहरू आत्तिए,गरीब तथा सर्वहारालक्षित बजेट देखेर समाजवादको दुहाइ दिने तर समाजवादको आधार तयार गर्न कन्जुस्याइँ गर्नेहरू तर्सिए । आफ्नो जत्तिको सम्मानित जीवन तल्लो वर्गले पाउनु हुँदैन भन्नेहरूलाई ईख जाग्यो । जनार्दनले परम्परागत बजेटलाई अलिअलि सुधार गरेर गरीब र निमुखाहरूको हित हुने क्षेत्रमा पस्किन खोजे ।

जनार्दनले देश आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई प्रोत्साहन गर्नैपर्दछ भन्ने मान्यताका साथ कृषिमा अलिकति बजेट वृद्धि गरे । इन्धनमा विद्युतको उपयोग गर्ने नीतिअनुसार विद्युतीय साधनमा प्रोत्साहन गर्न खोजे । देश आर्थिक संकटमा गएको अवस्थालाई मध्यनजर गर्दै सरकारी कार्यालयलाई नयाँ गाडी खरिद गर्न रोक लगाइदिए । पुरानालाई मर्मत गरेर प्रयोग गर्न निर्देशन गरे । यस्तै यस्तै उनको नजरले देखेका र गठबन्धनको सहकार्यमा चित्त नदुख्ने गरी बजेटको हेरफेर गरे ।

पुँजीपति र भ्रष्ट माफियाहरू यति असहिष्णु हुन्छन् कि यति सानो हेरफेरले पनि उनीहरू अत्तालिए । मुख्य रूपमा हिजो बजेटको दुइ तिहाई अंश पचाउने बानी परेका भ्रष्ट कर्मचारी,माफिया,बिचौलिया र उच्च पुँजीपति वर्ग अत्तालियो । राजनैतिक संस्कार रत्ति नभएको ‘बा’ पार्टी सत्ताच्युत भएदेखि नै उखरमाउलो भैरहेको थियो । विरोधी पार्टीका कुन नेतालाई कुन आरोप लगाउँदा  जनतामा दिगो भ्रम छर्न सकिन्छ भन्ने निम्न स्तरको ज्ञान भएका चतुर र क्षुद्र अभिव्यक्ति दिन माहिरहरुको नजरमा जनार्दन शर्मा परे ।

त्यसो त उनले यस्तो आरोप पहिल्यै लगाउन सक्थे । यस्तै कुनै आरोप लगाएर बजेट नै रोक्ने उनको चाहना थियो होला । तर उनका हातेभारेहरूले कस्तो आरोप लगाए जनार्दन र उनको बजेटलाई कमब्याक गर्न सकिन्छ भन्ने वियषमा समयमै विचार पुर्‍याउन सकेनन् । अर्थमन्त्री जनार्दन शर्मा वा समग्र अर्थ मन्त्रालयलाई असफल बनाउन भूमिगत रूपमा गभर्नर बनाइएका एम अधिकारी उर्फ महाप्रसाद अधिकारीले थुप्रै पटक टकराव दिए ।

अधिकारीलाई जनार्दन शर्माले कार्बाही पनि गरे तर अदालत बाधक भैदियो । यो परिवेशमा अनधिकृत मान्छे भित्र्यायो भनेर हल्लाखल्ला मच्चाए । जसमा साइबर स्यालहरुको प्रयोग गरियो । यस्तरी हल्ला गरे कि जनार्दनका समर्थकहरू पनि होला कि भन्न बाध्य भए ।

यहाँ एउटा कथा भन्न मन लाग्यो । एकजना किसान खसी किनेर बाटोमा जाँदै थियो । चोरहरूले देखे । उनीहरूले त्यो खसी कसरी फुस्क्याउने भनेर सोचे र जुक्ति लगाए । दस–बाह्र जना मिलेर किसानको बाटोमा ठाउँ ठाउँमा बस्ने र किसानले त कुकुर डोर्‍याएर पो हिँडिरहेको छ भनेर सबैले हल्ला गर्ने योजना बनाए ।

यसरी सबैले पूर्वयोजना गरे अनुसार एक जनाले खसीलाई कुकुर भनेर खिसी गर्दा त किसानले उल्टै पागलले जिस्क्याए जस्तो ठान्यो । फेरि अर्को ठाउँमा जाँदा पनि खसीलाई कुकुर नै भनेपछि अलि हतारियो । पाँच  ठाउँमा पाँचै जनाले कुकुर नै भनिदिँदा ऊ दोधारमा पर्‍यो । अझै चोरहरु कुकुर डोर्‍याइरहेको भनेर मरिमरि हाँस्न थाले । सात आठ जनाले कुकुर नै भन्दिदा उसले डोर्‍याइरहेको खसी नभई कुकुर नै हो भन्नेमा पुग्यो । उसलाई लाग्यो कि खसी बेच्ने मान्छेले आफूलाई जादु गरेर कुकुरलाई खसीजस्तो देखिने बनाएर झुक्क्याएछ । अनि त्यो किसान खसी छोडेर रित्तै घरतिर लाग्यो ।

यहाँ जनार्दनलाई पनि ठीक यसै गरियो । यसलाई राजनैतिक भाषामा गोयबल्स शैली भनिन्छ । “जनार्दनले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरायो । जनार्दनले करका दर हेरफेर गर्‍यो ।’ यसैलाई नारा बनाएर भट्याइ रहे । गोयबल्सले असत्यलाई पनि सयचोटि सत्य भनेर भट्याउने हो भने त्यो सत्य सिद्ध  हुन्छ भन्थे । ठीक यो शैली र तरिका ‘बा’माले पार्टीले नेपालमा राम्ररी प्रयोग गरेको छ । यसमा थुप्रै नेपाली जनता झुक्किराखेका छन् ।

यहाँसम्म कि प्रधानमन्त्रीलाई समेत कि बर्खास्त गर्ने कि छानबिन गर्न विवश हुने अवस्था सिर्जना गराए । बिना गल्ती  राजीनामा नदिने भनेर अड्डी कसेका जनार्दनलाई समेत राजीनामा दिलाएर कार्बाहीको सामना गर्न बाध्य बनाइदिए । यो गोयबल्सहरूको नकरात्मक सफलता हो ।

छानबिन समिति बन्यो । कति सदस्यीय बन्यो ?कोको समितिमा परे सुरुमा गोयबल्सहरूले केही बोलेनन् । किनकि उनीहरूलाई यो छानबिन गर्नु नै थिएन । गल्ती नै नभएकोलाई के छानबिन गर्ने ?उनीहरूको योजना त यत्ति थियो कि जनार्दन गलत हो भन्ने भ्रम जनतामा फैलाउनु मात्र । अब उनीहरू छानबिन समितिमा त बसे तर छानबिन समितिका अरु सदस्यहरू सत्य पत्ता लगाउन मरिमेट्दा गोयबल्सहरू भने अब छानबिनको निस्कर्षपछि के भ्रम फैलाउने त्यो योजना बुन्न थाले ।

अन्ततः छानबिन समितिले कुनै दोष भेट्टाएन । दोष नभेटाएकोमा उनीहरू पनि सहमत छन् । तर दोष नभेट्टिनुमा सिसिटिभी फुटेज डिलिट गरिनु र समितिमा सत्ता पक्षको बहुमत हुनु हो भनेर अर्को भ्रम फैलाइरहेछन् । समितिले बाध्यात्मक रूपमा जनार्दनलाई क्लिन चिट दियो । तर जसले भ्रम फैलायो,त्यो अझै भ्रमकै सहारा लिइरहेको छ । किनकि उसको काम अरुलाई सके भौतिक रूपमा,नसके नैतिक रूपमा बदनाम गरेर  सिध्याउने र राज्यसत्ता हात परेर दोहन गर्ने हो । यस्तो खालको बदनीयतपूर्ण काम उनीहरू कहिल्यै छोड्दैनन् ।

एमालेहरू एमसिसी एसपिपी लगायतका बिषयमा जनतामा विरोध गरेको नौटंकी गरेर भ्रम छर्छन्  तर संसदमा एक शब्द बोल्दैनन् । उनीहरूले पहल गर्ने हो भने यी सबै बिषय रोकिन्थे । तर उनीहरु मौन समर्थन गरेर पास हुन दिन्छन् । बरु सत्ता गुमाएको झोकमा बिना कारण नौ नौ महिना संसद अवरुद्ध गर्छन् । उनीहरुको काम यस्तै यस्तै झुठ,भ्रम,जालझेल,तिकडम र छुद्रता हो ।

आज केही जनतामा भ्रम अझै बाँकी रहे पनि बुझ्नेले जनार्दनको नैतिकता र इमान्दारिता बुझेका छन् । तर यत्तिले जनार्दनहरू आरामले बस्न पाउने छैनन् । यस्ता आरोप र लाञ्छनाहरूका प्रहार दिनरात बर्सिरहने छन् ।

जनार्दन शर्मा अर्थमन्त्रीको पुनः नियुक्तिपछिको जिम्मेवारी झनै चुलिएर आएको छ । देशमा आर्थिक संकटको त्यत्तिकै खतरा छ । त्यसको सम्पूर्ण दोष बाह्र हात उफ्रेर जनार्दनकै थाप्लोमा खन्याउने छन् । आफ्नै भन्नेहरूले पनि सहज रूपमा अघि बढ्न नदिन सक्छन् ।

उता देशको प्रमुख आर्थिक जिम्मेवारी आफ्नो हातमा भैरहेका बेला हिजो आफ्ना लागि जीवन दिएका घाइते अपाङ्ग र सहिद परिवारको दर्दनाक अवस्थाले चिथोरिरहने छ । गरीब किसानहरू खान,लाउन नपाएको दयनीय स्थितिले गिजोलिरहनेछ । विदेशबाट फर्किने उर्जाशील युवाहरूले भरिएका राता बाकसले निदहराम गरिदिनेछन् । आफ्नो पार्टीलाई जनतामा स्थापित गर्न र जनतालाई पार्टीप्रति विश्वास दिलाउन पनि आफैले ठूलो भूमिका खेल्नु छ ।

यस्ता थुप्रै चुनौतीका पहाडहरूसंग पौठेजोरी खेल्न बाँकी नै छ । हुन त जनार्दनले रोजेकै बाटो संघर्षको हो । अथक एवम् सत्यको मार्ग हो । तर त्यो बाटोको यात्रा यतिबेला अझै पेचिलो र चुनौतीपूर्ण छ । संघर्षका मैदानमा खारिएर नेतृत्वको जन्म हुन्छ भनिन्छ ।

आशा छ तीब्र विरोध र नौटङ्कीको वावजुद यसपालिको सफलता जनार्दन शर्माको लागि उर्जा बन्ने छ र आगामी दिनमा सबैखाले चुनौतीलाई परास्त गर्दै सफल,सक्षम र सबैले विश्वास गर्ने नेताको रूपमा उनलाई देख्न पाइनेछ । जनार्दन सफल भए भने अर्थतन्त्र पनि सफल हुनेछ । अर्थतन्त्र सफल भए देश पनि आर्थिक संकटबाट बच्ने छ । आज गाली गरेका मान्छेहरुले पनि भोलि ताली पिटेर उनलाई धन्यवाद भनून् । त्यसैले मिथ्या र पूर्वाग्रही लाञ्छना लगाएर हैन,सत्य र तथ्यमा आधारित भएर सुधारात्मक आलोचना गर्दै नेता र पार्टीहरूको विरोध या समर्थन गरौँ ।

यतिबेला जनार्दनको शिरमा जे चुनौती छ,ती जनार्दनका मात्र हैनन् । ती चुनौती सिङ्गो माओवादीका हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।