बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीका १० जिल्लामा अपराधको ग्राफ उकालो लाग्यो

शुक्रबार, २० साउन २०७९, १६ : १४
शुक्रबार, २० साउन २०७९

बागमती प्रदेशका जिल्लाहरुमा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/०७९ मा अपराध सम्बन्धी मुद्दा दर्ता बढेका छन् । काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेकका प्रदेशका १० जिल्लामा १ दशमलव ४० प्रतिशतले अपराध सम्बन्धी मुद्दा दर्ता बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा अपराध सम्बन्धी ४ हजार ३४३ मुद्दा दर्ता भएको थियो भने गत आर्थिक वर्षमा भने मुद्दा दर्ता संख्या बढेर ४ हजार ४०५ पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा भने गत आर्थिक वर्ष २०७८/२०७९ मा मुद्दा दर्ता संख्या घटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४ हजार ५९४ वटा अपराध सम्बन्धी मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा भने ४ हजार ४०५ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा धेरै मुद्दा फछ्र्यौट भएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार गत आर्थिक वर्षमा अपराध सम्वन्धी ४ हजार ४०५ वटा मुद्दा दर्ता भएकोमा २ हजार ५११ वटा फछ्र्यौट गरिएको छ भने १ हजार ८९४ वटा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका ४ हजार ३४३ वटा मुद्दामध्ये २ हजार ३६६ वटा फछ्र्यौट गरिएको थियो भने १ हजार ९७७ वटा मुद्दा गत आर्थिक वर्षको लागि जिम्मेवारी सरेर आएको थियो ।

बढ्दो क्रममा लागूऔषध र यौनजन्य हिंसाको घटना
प्रदेशमा लागु औषध, यौनजन्य अपराधका घटनाहरु बढ्दो क्रममा रहेको तथ्यांकमा देखिएको छ । कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी नायव उपरिक्षक दिपक रेग्मीका अनुसार पछिल्लो समय प्रदेशका १० जिल्लामा लागूऔषधका घटनाहरु तीव्र रुपमा वृद्धि भएको छ । उनले प्रदेशमा लागु औषध प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहेकाले घटनामा पनि वृद्धि भएको बताए ।

प्रहरीको तथ्याङ्क हेर्ने हो भने लागु औषध र यौनजन्य हिंसाका घटनाहरु बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा लागु औषध अपराधका घटना २८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षमा मात्र बागमती प्रदेशको १० जिल्लामा मात्र १८ वटा लागु औषध प्रयोग तथा ओसार प्रसारका घटना भएको तथ्याङ्क रहेको छ भने ११ वटा यौन हिंसा (जवरजस्ती करणी) सम्बन्धी घटना भएका छन् ।

विगतको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७६/०७७ मा लागु औषध सम्बन्धी २७० वटा घटना भएका छन् भने जवरजस्ती करणीका २५६  वटा घटना भएका छन् । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा लागूऔषध   २६० वटा र जवरजस्ती करणीका ३०७ वटा घटना भएका छन् । आर्थिक वर्ष २०७८/०७९ प्रदेशका १० जिल्लामा लागूऔषधका घटनाहरूमा उच्च वृद्धि भएको छ ।  सो आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा ३३४ वटा लागु औषध सम्बन्धी घटना भएका छन् । उक्त आर्थिक वर्षमा जवरजस्ती करणीका २६५ वटा घटनामा भएका छन् ।

खुला सिमा र नाकालाई सुरक्षित गर्न नसक्दा लागु औषध सम्बन्धी अपराधका घटना बढिरहेको पाइन्छ । भारतका विभिन्न सिमाबाट आयात हुने सिन्थेटिक ड्रगहरुलाई रोक्न नसक्दा अपराध पनि बढिरहेको प्रहरीको भनाइ छ । भारतका सीमाबाट आयात हुने त्यस्ता कस्मेटिक ड्रगहरुलाई नाकाहरुमा नै रोक्न सक्ने अवस्था बन्न सकेको छैन । यता पछिल्लो समयमा यौन दुव्र्यवहार (यौनजन्य हिंसा)का घटना पनि बढ्दो क्रममा रहेको छ । पछिल्लो समय आफन्तबाटै यौनजन्य दुर्व्यवहारका घटनाहरु बढी हुने गरेको प्रहरीको तथ्याङ्क रहेको छ ।

यस्ता घटना बढ्नुको मुख्य कारण प्रविधिको गलत प्रयोग गर्नु नै रहेको प्रहरीको बुझाइ छ । यस्तै प्रविधिको उचित प्रयोग गर्न नसक्नु पनि अपराधका बढ्नुको अर्को कारण रहेको प्रहरीको निष्कर्ष छ । त्यस्तै पारिवारिक विखण्डन र वैदेशिक रोजगारका कारण दैनिक रुपमा सम्बन्ध विच्छेद (डिभोर्स)का मुद्दाहरूमा पनि वुद्धि भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप