यसरी नै चल्ने हो भने ५ वर्षभित्र लोकतन्त्र ध्वस्त हुन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै जसरी शासन सत्ता चल्ने हो भने अबको ५ वर्षभित्र लोकतन्त्र नरहने बताएका छन् । शुक्रबार एमाले प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारका कामकारवाही लोकतन्त्रविरोधी रहेको टिप्पणी गर्दै अझै ५ वर्ष यसरी नै चल्ने हो भने नेपालमा लोकतन्त्र नरहने बताएका हुन् ।
उनले एमाले जित्छ जित्दैन भन्ने प्रश्न मुख्य नभएको भन्दै देश जित्छ कि जित्दैन भन्ने प्रमुख रहेको बताए । ‘पाँच वर्ष यसैगरी चल्ने हो भने नेपालमा लोकतन्त्र ध्वस्त हुन्छ, लोकतन्त्र भन्ने चिज नै रहँदैन’, ओलीको भनाइ छ । उनले अबको जमानामा लोकतन्त्र रहेन भने हाम्रो जस्तो देशमा भूराजनीतिको खतरा पैदा हुने बताए । उनले गठबन्धन सरकार बनेपछि नेपाललाई विषय बनाएर विभिन्न शक्ति राष्ट्रका वक्तव्य आइरहेको पनि उनको भनाइ ।
‘यो सरकार बनेपछि नेपाललाई विषय बनाएर विभिन्न शक्ति राष्ट्रका कस्ता वक्तब्य आइरहेका छन् ?’, ओलीले प्रश्न गर्दै भने, ‘यस्ता कुराहरूले भोलि गएर हाम्रो देशलाई अस्वस्थ क्रिडास्थल बनाउँदै जाने र अप्ठेरोमा पार्ने सम्भावना हुनसक्छ । त्यसर्थ हामीले आगामी निर्वाचनमा जित्नैपर्ने गरी ध्यान दिनुपर्छ ।’