शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सात दिनभित्र जवाफ पेस गर्न सिरहा नगरपालिकालाई आयोगको आदेश

शुक्रबार, २० साउन २०७९, १४ : ३१
शुक्रबार, २० साउन २०७९

राष्ट्रिय सूचना आयोगले सिरहाको सिरहा नगरपालिकालाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।  आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ्ग आयुक्तहरु कमला वली थापा र रत्नप्रसाद मैनालीले सूचना उपलब्ध नगराउनुको कारणसहित ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएका हुन् ।

विष्णुपुर गाउँपालिका वडा नम्बर १ का परशुराम साहले सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३२ बमोजिमको सजायको माग दावीसहित आयोगमा पुनरावेदन गरेका थिए ।  सूचना  मागकर्ताको माग दावी ठहर भए, २५ हजारसम्म जरिवाना र विभागीय सजाय अथवा दुवै हुने व्यवस्था ऐनमा छ ।

साहले नगरपालिकासँग विभिन्न १४ बुँदे सूचना माग गरेका थिए । साह शिक्षक रहेको र शिक्षकले सूचना माग गर्न नपाउने भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले उनलाई उल्टै सारश्वरनाथ माध्यमिक विद्यालयबाट माध्यमिक विद्यालय लगडी गदीयानीमा काज सरुवा गरेका थिए ।  उनले सूचनाका लागि दिएको निवेदन फिर्ता लिन दवावसमेत दिएका थिए ।
   
काज सरुवा गरिएका विद्यालय साहको घरदेखि लगभग १४ किलोमिटरको दुरीमा रहेको छ । शिक्षक शारीरिक अपाङ्गता भएका व्यक्ति हुन् । माग गरेको सूचना दिनुको सट्टा उल्टै विद्यालयबाट अन्यत्र सरुवा गरेको र विद्यालय जानमा रोक लगाएको भन्दै उनले उजुरी गरेका थिए । सोही उजुरीमाथि सुनुवाइ गर्दै आयोगले पालिकालाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप