शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचनमा धादिङ–१ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ?

नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका ‘हेभी वेट’ छन् आकाङ्क्षी
शुक्रबार, २० साउन २०७९, १२ : ०७
शुक्रबार, २० साउन २०७९

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरिसकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको हो । योसँगै चुनावी चर्चा पनि चुलिएको छ । निर्वाचनको मिति तय भएसँगै दलहरू पनि निर्वाचनको तयारीमा जुटेका छन् भने दलका नेताहरू उम्मेदवारीका लागि आ–आफ्नो चुनाव क्षेत्र लक्षित गतिविधिमा सक्रियता बढाउन थालेका छन् ।

यसै सन्दर्भमा प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ लाई निकै चासोका साथ हेरिएको छ । यो क्षेत्रमा ‘हेभी वेट’ उम्मेदवारबीच प्रतिस्पर्धा हुने लगभग पक्का छ ।

यो क्षेत्र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलको निर्वाचन क्षेत्र भएकाले पनि महत्त्वका साथ हेरिएको छ । दुवै नेताको गृह पालिका पनि सोही क्षेत्रमै पर्छ । दुवै नेता धादिङको गजुरी गाउँपालिकाका बासिन्दा र मतदाता हुन् ।

दुवै नेता सत्ता गठबन्धनमा आबद्ध प्रमुख २ दलका प्रभावशाली नेता हुन् । प्रदेशका मुख्यमन्त्री पाण्डे नेकपा एकीकृत समाजवादी पार्टीको उपाध्यक्ष हुन् भने आर्थिक मामिला तथा योजना मन्त्री जम्कट्टेल नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य छन् ।

यो क्षेत्र विगतदेखि नै कम्युनिष्टहरुको गढको रूपमा रहेको छ । यो क्षेत्रमा नेपाली काँग्रेसको प्रभाव कमजोर छ भने माओवादी केन्द्र र नेकपा एमालेको प्रभाव राम्रो छ । सो क्षेत्रमा एकीकृत समाजवादीको पनि अवस्था सन्तोषजनक देखिँदैन ।

यो क्षेत्रमा आगामी निर्वाचनमा सत्ता गठबन्धनका मुख्य तीन दलबीच भागबण्डामा प्रतिस्पर्धा हुने अवस्था देखिएको छ । पछिल्लो समय आफ्नो संगठनलाई सक्रिय तुल्याएर अघि बढेको काँग्रेसले सो क्षेत्रमा प्रभाव बढाएको देखिन्छ । जसका कारण काँग्रेसले पनि प्रतिनिधिसभातर्फको सो क्षेत्रमा आफ्नो दाबी कसेको छ ।

२०७४ को निर्वाचनमा सो क्षेत्रबाट काँग्रेसका उम्मेदवार पराजित भएका थिए । तत्कालीन समयमा एमाले र माओवादी केन्द्र बीचको गठबन्धनबाट सो क्षेत्रमा एमालेका भूमिप्रसाद त्रिपाठीले जित हात पारेका थिए ।

एमाले धादिङका अध्यक्षसमेत रहेका त्रिपाठीले २७ हजार १५३ मतले काँग्रेसका उम्मेदवार विश्वप्रसाद अर्याललाई पराजित गरेका थिए । त्रिपाठीले ४९ हजार १२१ मत पाउँदा अर्यालले २१ हजार ९६५ मत पाएका थिए ।

आगामी निर्वाचनमा पनि एमालेले त्रिपाठीलाई नै उम्मेदवार बनाउने लगभग पक्का छ । यता, एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे अब प्रदेशसभा छाडेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तरखरमा छन् ।

२०७४ मा त्रिपाठीका कारण पाण्डेले प्रतिनिधिसभातर्फको टिकट गुमाएका थिए । तत्कालीन समयमा एमाले जिल्ला कमिटीको कार्यवाहक अध्यक्ष पदमा रहेका त्रिपाठीले प्रतिनिधिसभाको सो क्षेत्रमा आफ्नो दाबी गर्दै आएका पाण्डेलाई पाखा लगाएका थिए ।

त्रिपाठीले पार्टी केन्द्रमा रहेर काम गरिरहेका पाण्डेको नाम जिल्ला कमिटीबाट सिफारिस हुनबाट रोकिदिएका थिए । पाण्डेको नाम सिफारिस नगरेका त्रिपाठीले प्रतिनिधिसभाको उम्मेदवार बन्न आफ्नै नाम सिफारिस गरेका थिए ।

जिल्लाबाट सिफारिसमा नपरेपछि पाण्डे पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष पुगेर बागमती प्रदेशको मुख्यमन्त्री बन्ने गरी सो क्षेत्रको प्रदेशसभा तर्फ उम्मेदवार बनेका थिए ।

माओवादी केन्द्र र एमालेको गठबन्धनबाट प्रदेशसभामा चुनाव लडेका पाण्डेले काँग्रेसका मधुकुमार श्रेष्ठलाई पराजित गरेका थिए । पाण्डेले २७ हजार ३३२ मत पाउँदा काँग्रेसका श्रेष्ठले १३ हजार ६४७ मत पाएका थिए ।

चुनाव जिते पनि उनी बागमती प्रदेशका मुख्यमन्त्री भने बन्न सकेनन् । प्रदेशसभामा एमालेको बहुमत हुँदा पनि पार्टीले प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेललाई अघि सा¥यो । जसले गर्दा पाण्डे मुख्यमन्त्री बन्ने रेसबाट बाहिरिए । पौडेल र शाक्य बीच भएको एमाले बागमती प्रदेश संसदीय दलको निर्वाचनमा शाक्य पराजित भएपछि पौडेल मुख्यमन्त्री बने ।

एमाले विभाजनपछि एकीकृत समाजवादीमा आबद्ध भएका पाण्डे गठबन्धनका दलको सहयोगमा प्रदेशको मुख्यमन्त्री बने । आगामी निर्वाचनमा सो क्षेत्रमा गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचन लड्ने पाण्डेको तयारी छ । त्रिपाठीसँग विगतको बदला लिन उनी कुनै पनि अवस्थामा प्रतिनिधिसभामै उम्मेदवार बन्ने मुडमा देखिएका छन् ।

२०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभामा लगातार ३ पटक निर्वाचित भएका उनी २०६३ जेठ ८ देखि २०६३ चैत १८ गते सम्म स्थानीय विकास मन्त्रीको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट उनी निर्वाचित भएका थिए ।

यता माओवादी केन्द्रका प्रभावशाली नेता जम्कट्टेल पनि सोही क्षेत्रबाट प्रतिनिधिसभातर्फ निर्वाचन लड्ने तयारीमा जुटेका छन् । उनी कुनै पनि अवस्थामा प्रतिनिधिसभाको टिकट लिने दौडमा छन् । 

२०७४ को निर्वाचनमा सोही क्षेत्रको प्रदेशसभातर्फको २ नम्बरबाट निर्वाचन जितेका जम्कट्टेल गठबन्धनको सरकार बन्दा मुख्यमन्त्रीका दावेदारका रूपमा प्रस्तुत भएका थिए । उनले सो निर्वाचनमा काँग्रेसका प्रभात किरण सुवेदीलाई पराजित गरेका थिए । उनले २३ हजार ३४२ मत ल्याउँदा काँग्रेसका सुवेदीले १० हजार ४०७ मत पाएका थिए ।

जम्कट्टेल २०६४ सालमा धादिङबाटै माओवादी केन्द्रको तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

यता काँग्रेस पनि सो क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने तयारीमा जुटेको छ । काँग्रेसबाट गत निर्वाचनमा पराजित भएका अर्याल मुख्य दावेदारको रूपमा प्रस्तुत भएका छन् भने दोस्रो वरीयतामा प्रदेशसभा क्षेत्र नम्बर २ मा जम्कट्टेलसँग पराजित भएका सुवेदी छन् ।

विगतको निर्वाचनमा माओवादी केन्द्र र एमालेको एलाइन्सका कारण काँग्रेसका उम्मेदवारले फराकिलो मतान्तरले हार्नुपरेको काँग्रेसको विश्लेषण छ । यस पटक भने सो क्षेत्रमा एमाले र माओवादी केन्द्रको सहरको अवस्थामा काँग्रेस पुगेको दाबी गरिएको छ ।

जम्कट्टेलालाई मुख्यमन्त्री बनाउने योजना

आगामी निर्वाचनमा धादिङ–१ मा चुनाव लड्ने विषयका लागि दलका नेताहरू आन्तरिक व्यवस्थापनमा सक्रिय भइसकेका छन् । सोही क्षेत्रका ‘हेभी वेट’ दुई नेताको व्यवस्थापनका लागि गठबन्धनका दलहरू बीच एक तहको छलफल भइसकेको बुझिएको छ ।

सो क्षेत्रको प्रतिनिधिसभातर्फ काँग्रेसले आफ्नो दाबी गरे पनि प्रदेशसभाको एक सीट लिएर फिर्ता हुने लगभग सहमति बनिसकेको बुझिएको छ । गठबन्धनको मुख्य समस्या भने मुख्यमन्त्री पाण्डे र जम्कट्टेल बीचको सहमति जुट्न नसक्नु रहेको छ ।

एकीकृत समाजवादीले सो क्षेत्रको प्रतिनिधिसभामा मुख्यमन्त्री पाण्डेलाई छाड्न जम्कट्टेल र गठबन्धनमा छलफल भएको बुझिएको छ । जम्कट्टेलले सो क्षेत्र छोडेको खण्डमा प्रदेशसभा सदस्य लड्ने र बागमती प्रदेशको मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको प्रस्ताव छ । सो प्रस्तावमा गठबन्धनका तीन वटै दल लगभग सहमतिमा पुगेको बताइएको छ । तर, नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको व्यवस्थापन हुन नसक्दा सो प्रस्तावको अन्तिम निर्णय हुन नसकेको हो ।

प्रदेशको मुख्यमन्त्रीमा स्वतः दाबीमा परेका मकवानपुर निर्वाचन क्षेत्र रहेका काँग्रेस नेता बानियाँ मकवानपुरबाट प्रदेशसभामै उठेको खण्डमा मुख्यमन्त्री उनी नै बन्ने तीन दलबीच यस अघि नै सहमति भइसकेको जनाइएको छ । बानियाँ प्रदेशसभामै उम्मेदवार हुने या प्रतिनिधिसभामा उम्मेदवार हुने भन्नेबारे अझै प्रस्ट हुन सकेको छैन ।

यस्तो छ धादिङ–१ को लेखाजोखा

५ वटा गाउँपालिका र एक नगरपालिका समेटेर बनेको प्रतिनिधिसभा तर्फको धादिङ–१ निर्वाचन क्षेत्रमा एमालेले विरुद्ध गठबन्धन एकजुट भएर जाने देखिएको छ । निर्वाचनको मिति तोकिएसँगै धादिङ–१ मा को नेता कहाँ उठ्ने र निर्वाचनको मतका बारेमा लेखाजोखा सुरु भइसकेको छ ।

धादिङ–१ मा गजुरी, थाक्रे, गल्छी, बेनीघाट, सिद्धलेक गाउँपालिका र धुनीवेसी नगरपालिका पर्दछन् । २०७४ को निर्वाचनमा सो क्षेत्रका अधिकांश पालिकाको प्रमुख र उपप्रमुख पदमा एमालेको वर्चश्व थियो ।

माओवादी केन्द्रले सो क्षेत्रको बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्ष पदमा जित निकाल्दा काँग्रेसले सोही गाउँपालिकाको उपाध्यक्षभन्दा बाहेक अन्य कुनै पनि पालिकामा जित्न सकेन । एमालेले धुनीवेसी नगरपालिकाको प्रमुख र उपप्रमुख सहित गजुरी, गल्छी, थाक्रे, सिद्धलेक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जितेको थियो ।

२०७९ को स्थानीय तह निर्वाचनमा भने एमालेले गल्छी र थाक्रे गाउँपालिकाको अध्यक्ष पदमा मात्र जित्न सक्यो ।

यता, एकीकृत समाजवादीले धुनीवेसी नगरपालिकाको प्रमुख, बेनीघाट रोराङको उपाध्यक्ष बाहेक अन्य पालिकामा जित्न सकेन । माओवादी केन्द्रले ३ पालिकाको अध्यक्ष सहित एक पालिकाको उपाध्यक्ष पद हात पा¥यो । माओवादी केन्द्रले गजुरी, गल्छी, बेनीघाट रोराङको अध्यक्ष र थाक्रेको उपाध्यक्ष पदमा जित हात पा¥यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप