शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकैदिन २२० केभीका ३ वटा सबस्टेसन सञ्चालन

शुक्रबार, २० साउन २०७९, ११ : ३४
शुक्रबार, २० साउन २०७९

नेपाल विद्युत प्राधिकरणले एकैदिन २२० किलो भोल्ट (केभी) का तीनवटा सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । 

२२०–१३२–३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेसनमा क्रमशः २६० एमभिए र ६० एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन् ।  साथै कोशी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि प्रदेश १ का पहाडी जिल्लाहरुमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताए ।  २२० केभी प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय भएको कार्यकारी निर्देशक घिसिङले बताए । 

‘मोरङ–सुनसरी औद्योगिक करिडोरमा सुनसरीको दुहबी सब स्टेसनबाट मात्र आपूर्ति हुँदा भोल्टेज, ट्रिपिङ लगायतको समस्या थियो । अब दुहबी सबस्टेसनको लोड इनरुवा सबस्टेसनमा सार्न सकिने भएकोले उद्योगहरुलाई थप विद्युत दिन सकिन्छ साथै भोल्टेज, ट्रिपिङ लगायतका समस्या समाधान हुन्छ’, घिसिङले भने, ‘संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका विद्युत आयोजनाहरुका विद्युतगृह पनि ट्रिपिङ हुने समस्या थियो । अब त्यो समस्या पनि समाधान हुनेछ, कोशी करिडोर प्रसारण लाइनमार्फत आएको विद्युत् त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सब स्टेसनमार्फत भारततर्फ समेत निर्यात गर्न सकिनेछ ।’ 

नेपाल सरकारको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०–१३२–३३ केभी इनरुवा सबस्टेसनको निर्माण गरिएको हो ।

नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलियतपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो । 

इनरुवा सबस्टेसन सञ्चालनमा नआएकोले इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । संखुवासभाको किटिंगी डाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाई २ भदौ २०७८ मा ३३ केभीमा चार्ज गरिएको थियो । 

प्रसारण लाइन र सबस्टेसनमा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङले बताए ।  सुनसरी–मोरङ औद्योगिक करिडोरको विद्युत आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सब स्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । 

इनरुवा सबस्टसनमै ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित ((जिआईएस)) ४०० केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । ४०० केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्नेछ ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोसी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी करिडोर अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) खण्ड र वसन्तपुरमा २२० केभीका सबस्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले जानकारी दिए । 

कोशी करिडोरको २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ भने टावरको एक तर्फ मात्र तार तानिएको छ । 

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैकले दिएका सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रवाह भएको छ । 

कोशी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार  मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ । 

अरुण र तमोर नदी र तिनीहरूका सहायक नदीहरूबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणाधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । 

प्रदेश १ का भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप