बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

कार्यक्रम नै नगरी ४ लाख २९ हजार फर्छ्योट

शुक्रबार, २० साउन २०७९, ११ : २३
शुक्रबार, २० साउन २०७९

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा नवजात शिशुलाई घर भेट कार्यक्रमको ४ लाख २९ हजार बजेट कामै नगरी फर्छ्योट गरेको खुलेको छ । 

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ मा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा मातृ तथा नवजात शिशु कार्यक्रमका लागि स्वास्थ्य संयोजक मुस्ताक अहमद मंसुरीले ६ लाख ५३ हजार पेश्की लिएकोमा २ लाख २३ हजार ३०० को कार्यक्रम गरेको, तर ४ लाख २९ हजार ७०० को खर्चको बिल भरपाई बेगर फर्छ्योट गरेको महालेखा परीक्षकले औंल्याएको हो । 

पेश्की फर्छ्योटसँग सम्बन्धित फाँटवारी परीक्षण गर्दा २ लाख २३ हजार ३०० को कार्यक्रम गरेर त्यसकै बिल भरपाई मात्र संलग्न गरिएको पाइएको छ । काम नगरी फर्छ्योट गरिएको ४ लाख २९ हजार ७०० असुल गर्न भनिएको छ । २०७७ साल असार २७ देखि ३० गतेसम्म नवजात शिशु कार्यक्रमसम्बन्धी समीक्षा गोष्ठी तथा नवजात शिशुलाई घर भेट कार्यक्रम गरी वडामा खटिने स्वास्थ्य कर्मचारीलाई खाना, खाजा, खर्च स्टेशनरी, व्याग र दैनिक भत्ताबापत पेश्की फर्छ्योट गरेको जनाइएको छ । 

गाउँपालिकाले २०७७ साल असोज २३ गते यशोद्धा फर्माबाट ७ लाख ३६० को औषधि खरिद गरेकामा ५० हजार ४५५ रुपैयाँको औषधि दाखिला हुन बाँकी देखिएको छ । ९ स्वास्थ्य संस्थालाई सो औषधि वितरण भएकोमा लेखा परीक्षणसम्ममा २ संस्थाबाट मात्र औषधि पाएको प्रतिबेदन प्राप्त भएको थियो । कम दाखिला भए बापत सम्बन्धितबाट ४९ हजार ४५४ रुपैयाँ असुल गर्नुपर्ने महालेखाको ठहर छ । यस्तै, स्वास्थ्य संस्थाका प्रमुखसँग मासिक तथा वार्षिक समिक्षा सम्वन्धी १२ बैठकमा ९० जना सहभागी भएकामा बढी भुक्तानी भएको २ लाख ६ हजार २४० असुल गर्न भनिएको छ । 

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा स्यानिटरी प्याड खरिद समेत मितव्ययी नभएको सार्वजनिक भएको छ । सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क वितरण गरिने स्यानिटरी प्याड खरिदमा मितव्ययिता कायम नभएको पाइएको हो । अभव इन्टरप्राइजेज सातदोबाटोबाट प्रतिथान ८०.३३ रुपैयाँका दरले १५ हजार ७०८ थान स्यानिटरी प्याड खरिद गर्दा १२ लाख ६१ हजार ८२४ भुक्तानी दिइएको थियो । तर, राष्ट्रियस्तरको समाचार पत्रमा बिक्री मूल्य प्रकाशन गरेको भन्दै एउटै आपूर्तिकर्तासँग सम्पर्क गरी सोझै खरिद गरिएको महालेखाले जनाएको छ । परिचित ब्राण्डको स्यानिटरी प्याड खरिद नगरिएको प्रतिवेदनमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप