बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा चुनावी तालमेलको तयारी तीव्र, कसरी होला सिट बाँडफाँट ?

बिहीबार, १९ साउन २०७९, २२ : ४७
बिहीबार, १९ साउन २०७९

सरकारले आम निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठबन्धन चुनावी तालमेलको तयारीमा जुटेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेशसभा निर्वाचन घोषणा गरेको हो । चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको छ । पाँच दलहरुले ०७४ मा  जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउने नेताहरु बताउँछन् ।

कार्यदल बनाउने तयारी

सोही मोडालिटीमा टेकेर सिट बाँडफाँटका लागि कार्यदल बनाउने गठबन्धनभित्र तयारी छ । गठबन्धन सम्बद्ध दलको प्रतिनिधित्व हुने गरी कार्यदल बन्ने छ ।  काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार कार्यदलले तयार पार्ने मापदण्डका आधारमा शीर्ष नेता बसेर सिट बाँडफाँट गरिने छ । गठबन्धन दलले चुनावी मुद्दामा समेत साझा धारणा बनाएर जाने पौडेलको भनाइ छ । त्यसको गृहकार्य समेत कार्यदललाई दिने गठबन्धनमा सहमति भइसकेका उनले रातोपाटीलाई बताए । ‘सत्ता साझेदार दलबीच चुनावी तालमेलबारे छलफल सुरु भएको छ,’ पौडेलले भने, ‘स्थानीय तहमा भएको कमजोरी अब दोहोर्याउनु हुँदैन भन्नेमा हामी सबै प्रस्ट छौं । एउटा मापदण्ड बनाएर जाने विषयमा सबै सहमत छौँ।’

उनका अनुसार कार्यदलले मापदण्ड तय गरेपछि सिट बाँडफाँटको काम सुरु हुन्छ । बुधबारको बैठकमा मोडललगायतका विषयमा प्रारम्भिक छलफल मात्र भएको पौडेलको भनाइ छ । छलफललाई निरन्तरता दिने र तालमेलको मोडलको टुंगो लाग्ने जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल रातोपाटीलाई बताइन् । बुधबारको बैठकसँगै गठबन्धन दलमा आगामी निर्वाचनका कसरी जाने भन्ने विषयमा छलफलले स्थान पाउनेको उनको पनि भनाइ छ ।

‘गठबन्धनबीच निर्वाचनमा कसरी जाने भन्नेमा छलफल अगाडि बढेको छ  । निर्वाचनको मिति बाहेक हिजो खासै छलफल भएन । त्यसैले सिट बाँडफाँटबारे टुंगोमा पुगिसकेको छैन । यसको मोडालिटीका सन्दर्भमा शुक्रबार छलफल हुन्छ,’ उनले भने।  बुधबार स्थानीय निर्वाचनबाट गठबन्धनमा उत्पन्न अविश्वासलाई कसरी हटाएर जाने विषय केन्द्रित छलफल भएको थियो ।

‘स्थानीय तहका निर्वाचनमा गठबन्धनभित्र अविश्वासको वातावरण पैदा भयो भन्ने कुरा आयो,’ उनले भनिन्, ‘यसमा एकअर्काबीच देखिएको अविश्वासलाई हटाएर कसरी अघि बढ्ने भन्ने विषयमा हिजो छलफल भएको छ । सबै नेताले आ–आफ्नो विचार राख्नु भएको छ ।’

​शुक्रबारपछि सत्ता गठबन्धन कार्यदलमा को–को रहने र सिट बाँडफाँटको मोडालिटी के हुने भन्नेबारे छलफल हुने उपाध्यक्ष पौडेलले बताइन् । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

प्रदेश र प्रतिनिधि सभा चुनावको मिति घोषणापछि पाँच दलीय गठबन्धनमा बैठक बस्न लागेको हो । बैठकमा भागबण्डाका विषयमा शीर्ष नेताहरु आफ्नो धारणा राख्ने बुझिएको छ ।

सोही बमोजिम नै सिटको टुंगो लाग्ने भएको छ । सीट बाँडफाडसँगै प्रधानमन्त्री, राष्ट्रपति,  उपराष्ट्रपति सभामुख, उपसभामुख लगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने गठबन्धनको तयारी छ ।

चुनावी तालमेलबारे रणनीति

असार २७ गते सुरु भइ साउन २ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट काँग्रेस आम चुनावमा पनि पाँच दलीय गठबन्धनसँग चुनाव तालमेलको पक्षमा उभिएको छ । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा काँग्रेस पाँच दलीय गठबन्धनमा सहभागी भएको थियो । कतिपय स्थानीय तहमा गठबन्धनसहित निर्वाचनमा भाग लिएको काँग्रेसले तालमेलबाट प्राप्त परिणामप्रति सन्तोषजनक जनाएको छ । 

संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न पाँच दलीय चुनावी तालमेल गरेर अघि बढ्ने काँग्रेसको संस्थागत निर्णय छ । यस्तै काँग्रेसले आगामी निर्वाचनमा तालमेलमार्फत बहुमत ल्याउनेसम्मको लक्ष्य राखेको छ ।

पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा प्रस्तुत हुनुपर्ने काँग्रेसको ठहर छ ।

तालमेल गर्दा मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग संवाद मार्फत निष्कर्षमा पुग्ने काँग्रेसले जनाएको छ ।

यता माओवादी केन्द्रले आम निर्वाचनपछि दोस्रो पार्टी हुने गरी गठबन्धन गरेर जाने नीति लिएको छ । माओवादी दोस्रो दल बनाउने गरी काँग्रेसका नेताहरूसँग समझदारी समेत बनाएको सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाबी छ ।

​प्रचण्डका अनुसार अहिले तेस्रो दलका रुपमा रहेको माओवादी केन्द्र आगामी निर्वाचनमा गठबन्धनको साथमा दोस्रो हुने गरी चुनावी तालमेलको रणनीति अख्तियार गरिएको छ ।

गत शनिवार काठमाडौंमा आयोजित माओवादी केन्द्रको प्रदेश समन्वय समितिको कार्यक्रममा उनले दोस्रो हुने गरी मात्र तालमेल हुने बताएका थिए । उनले भनेका थिए, ‘कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै सम्भावना छ, मैले नेपाली काँग्रेसको नेतासँग कुरा गर्दा भनेको छु ।’

यस्तै नेकपा एकीकृत समाजवादीले पनि गठबन्धन गरेर जाने नीति लिएको छ । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालका अनुसार साउन ३ मा काठमाडौंमा बसेको सचिवालय बैठकले चुनावमा पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताका लागि पहल गर्ने निर्णय गरेको थियो ।

आम चुनावमा नयाँ धरातलबाट गठबन्धनलाई कसरी अघि बढाउने एकीकृत समाजवादीको रणनीति छ । यसबारे एकीकृत समाजवादीको सचिवालय बैठकमा छलफल समेत भएको छ । बैठकले पाँच दलीय गठबन्धनको विकल्प नभएको निष्कर्ष निकालेको छ । पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनमा विकल्प नभएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ छ ।

गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएको भन्दै उनले आफ्नो पार्टीले संघ र प्रदेशको निर्वाचनमा सोचेभन्दा बढी सिट हासिल गर्ने बताए । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा पनि सत्ता गठबन्धनकै पक्षमा छन् । सत्ता गठबन्धन दलहरु आन्तरिक रणनीति बनाएर चुनावी तालमेलको पक्षमा संस्थागत रुपमा उभिएको अवस्था छ ।

दाबी आ–आफ्नो

१६५ निर्वाचन क्षेत्र मध्ये ९९ सिट आफूलाई राख्ने गरी तालमेलको प्रस्ताव अगाडि सार्ने काँग्रेसको तयारी छ । यता माओवादी केन्द्रले ५० सिटको दाबी गरेको छ । यस्तै एकीकृत समाजवादी २५ र जसपा १५ सिट पाउनुपर्ने अडानमा छ ।

राष्ट्रिय जनमोर्चाको एउटा सिट निश्चित जस्तै छ । माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको ९१ सिटको दाबी गर्दा ७५ सिट बाँकी रहन्छ । त्यसमा बाबुराम भट्टराईको नेतृत्वमा नवगठित नेपाल समाजवादी पार्टीलाई पनि समेटर जानुपर्ने गठबन्धनलाई चुनौती छ । अहिले दलहरुले आआफ्नो दाबी राखे पनि सबैले कम्प्रमाइज गर्ने गठबन्धनका नेताहरु बताउँछन् । सबै पार्टीको ५–१० सिट तलमाथि हुने सक्ने नेताहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप