आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पारससहित सात खेलाडीलाई ‘सर्वकालीन सम्मान’

सोमबार, १६ साउन २०७९, २३ : ०१
सोमबार, १६ साउन २०७९

हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आ–आफ्नो समयमा महत्वपूर्ण योगदान गरेका सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरेको छ । 

हाम्रो खेलकुदले बिहीबार ललितपुरको पाटनमा एक कार्यक्रमका बीच धावक जितबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित भए । उनीहरुले जनही २५ हजार रुपैयाँसँगै सम्मान पत्र प्राप्त गरे । 

सम्मानित व्यक्तित्वलाई सांसद् गगन थापा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, चाइना ट्रेडलिंक सिइओ राजन महर्जन, बेथानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमिल्सिना, श्यामकृष्ण हुमागाईं, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पुरस्कृत गरे ।

जीतबहादुर केसी (एथलेटिक्स)
केसीले झण्डै ५ दशक अघि एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक जितेका थिए । फिलिपिन्समा भएको च्याम्पियनसिपको म्याराथनमा केसीले २ घण्टा ३५ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेका थिए । कुनै पनि नेपाली खेलाडीले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । ओलम्पियन केसी अहिले पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत छन् ।
बैकुण्ठ मानन्धर (एथलेटिक्स)
सन् १९८४ मा सुरु भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जितेका थिए । सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उनी पहिलो नेपाली हुन् ।
सन् १९८७ मा भएको तेस्रो सागमा उनले म्याराथनमा कीर्तिमान बनाएका थिए । त्यति बेला उनले २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले सम्म भंग हुन सकेको छैन । मानन्धरले सर्वाधिक ४ पटक ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका छन् ।

राजुकाजी शाक्य (फुटबल)
फुटबलमा कप्तान र प्रशिक्षक दुबै रुपमा साफको स्वर्ण जित्ने सौभाग्य निकै कमले मात्रै पाउँछन् । शाक्य तीनैमा पर्छन् । सागको पहिलो संस्करण सन् १९८४ र छैटौं १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य थिए । छैटौं संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्र्याउँदा उनी टोलीको कप्तान थिए । प्रशिक्षकका रुपमा २०१६ मा भारतमा भएको सागको १२ औं संस्करणमा २३ वर्ष मुनिको फुटबल टोलीलाई स्वर्ण दिलाएका थिए । शाक्य हाल एनआरटीको प्रशिक्षकका रुपमा कार्यरत छन् ।

संगीना वैद्य (तेक्वान्दो)

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सन् १९६० देखि नेपाली खेलाडीले सहभागिता जनाउन शुरु गरेपनि संगीताले २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गरेकी थिइन् । स्वदेशमा आयोजना भएको १९९९ को आठौं र २००४ नवौं सागमा स्वर्ण पदक जितेकी संगीना १३ औं सागमा टोलीको प्रशिक्षक थिइन् । उनी तेक्वान्दोकी एसियन च्याम्पियन पनि हुन् ।

दीपक विष्ट (तेक्वान्दो)
दीपकले स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौं सागदेखि लगातार चार संस्करणमा तेक्वान्दोतर्फ स्वर्ण जितेका थिए । त्यस्तै उनले सन् २००२ र २००६ मा एशियाली खेलकुदमा कास्य जितेका थिए । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने दोस्रो खेलाडीको रुपमा पनि उनले बेइजिङ ओलम्पिक २००८ खेलेका थिए । नेपाल ओलम्पियन संघका अध्यक्ष समेत रहेको दीपक हाल तेक्वान्दोका प्रशिक्षक हुन् ।

पारस खड्का (क्रिकेट)
पारस नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । नेपालले अहिलेसम्म खेलेको एकमात्र टी–२० विश्वकप २०१४ खेल्दा होस् वा सन् २०१८ मा ओडिआई मान्यता प्राप्त गर्दा होस् दुवैमा पारस नै टोलीको कप्तान थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पहिलो उपाधि डिभिजन ५ हुँदै ४ र ३ को उपाधि उनकै नेतृत्वमा नेपालले जितेको थियो । नेपालका लागि ओडिआई र टी–२० दुबैमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् ।

गौरीका सिंह (पौडी)
तीन वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा गौरिकाले ४ स्वर्ण पदकसहित ९ पदक जितेकी थिइन् । सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी थिइन् । सन् २०१६ को रियो ओलम्पिकमा भाग लिँदा सबैभन्दा कम उमेरकी खेलाडी थिइन् । त्यति बेला उनको उमेर १३ वर्षको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप