अन्तरवार्ता

‘मन्त्रीको कुर्सी त बन्धन रहेछ, पार्टी सचिव हुँ तर जिम्मेवारी छैन’

म कम बोल्ने बढी सुन्ने अवस्थामा छु : रामकुमारी झाँक्री

person explore access_timeसाउन १९, २०७९ chat_bubble_outline0

एमालेसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी रामकुमारी झाँक्री नयाँ पार्टी बनेसँगै मन्त्री पनि भइन् । ८ महिना २० दिन मन्त्री भएकी झाँक्रीलगायतका चार जनालाई पार्टीले फिर्ता बोलाउँदा उनीहरुले केही ‘रिजर्भेसन’ राखे । सोही कारण पार्टीको निर्णय कार्यान्वयनमा ढिलाई हुनपुग्यो । अध्यक्ष माधव नेपालले पुरानालाई फिर्ता बोलाएर नयाँ मन्त्रीको लिस्ट प्रधानमन्त्रीलाई बुझाइसक्दा पनि केही दिन गलफत्ती भयो । पार्टीले निर्णय गरिसक्दा पनि पुराना मन्त्रीहरु नफर्केपछि अनेक प्रश्न उब्जिए ।


अन्ततः असार १२ गते पुराना मन्त्री फिर्ताभएसँगै नयाँ मन्त्रीले शपथ लिए । मन्त्री पदमा रहँदा प्रायः सधैँ चर्चामा आइरहने झाँक्री लगायतका नेताहरु सरकारबाट फिर्ता भएपछि गुमनाम जस्तै बनेका छन् । पार्टीभित्रै उनीहरुको सक्रियता पनि कम देखिन्छ । झाँक्रीले त आफू पार्टीको सचिव भए पनि कुनै जिम्मेवारी नपाएको गुनासो गरेकी छन् ।



मन्त्रीबाट हटेपछि रामकुमारी झाँक्री गुमनाम भएकी हुन् कि निस्क्रिय ? झाँक्रीसँग मन्त्रीको अनुभव, पद छोड्दा उत्पन्न गलफत्ती, पार्टीको अवस्था र जिम्मेवारीका बारेमा रातोपाटीले चर्चा गरेको छ । प्रस्तुत छ झाँक्रीसँग फणीन्द्र नेपाल र वीरेन्द्र ओली सँग गरिएको कुराकानीको सम्पादित अंश :



रामकुमारी झाँक्री मन्त्रीबाट हटेपछि गुमनाम हुनुभयो भन्ने टिप्पणी भइरहेको छ । तपाई गुमनाम नै भएको हो या सक्रियता घटेकोमात्र हो ?

मेरा शुभचिन्तक र साथीभाइहरुले मलाई त्यस्तो ठान्नुभएको छ कि छैन, खोज्नुभएको छ कि छैन होला, मेरो अनुपस्थितिको ‘फिल’ छ कि छैन होला भन्ने मलाई पनि लागेको हो । तपाईहरुले गुमनाम फिल गर्नुभएछ, खुसी पनि लाग्यो । तर, बितेको एक महिनामा म जिल्ला गएर फर्केँ । पार्टीको कतिपय कामसँग पनि जोडिन पर्‍यो । यही बीचमा मेरा निजी कामतिर लागँे । आफ्नो काममा सक्रिय नै छुु । संसद चलेका बेला संसदमा पनि उपस्थित भइरहेको छु । तर मन्त्रीबाट बिदा भएलगत्तै संसदमा बोल्ने काम पनि त्यति राम्रो मानिन्न, तर पनि नागरिकता विधेयकमा मेरो संशोधन भएकाले बोलेँ । त्यो बाहेक सरकारको ‘पोलिसी’ लगायतका कुरामा ६ महिनासम्म बोल्न राम्रो मानिँदैन । त्यो एउटा नैतिक आचरण पनि हो ।

संसदमात्र नभएर तपाई पार्टी सचिव पनि त हो नि ?

म पार्टीको सचिव हो तर मलाई ‘प्रोपर्ली’ जिम्मेवारी तोकिएको छैन । त्यसले पनि तत्काल मेरो उपस्थिति देखिने ठाउँ छैन । त्यो बाहेक अरु भेटघाट र निर्वाचनसँग सम्बन्धित तयारीहरु त हुने नै भए । तर एकडेढ महिना मिडियामा पनि नबोलौँ नै जस्तो लागेको थियो । त्यसैले पनि मानिसहरुले कसैले गुमनाम भने होलान्, कतिले रामकुमारी निस्क्रिय भइ भने होलान्, तर त्यस्तो होइन ।

तपाई मन्त्रीबाट बाहिरिँदै गर्दा मन्त्रालयमा देखिएको हाउभाउपछि दुईथरी टिप्पणी भए । एकातिर रामकुमारीलाई रुवाएर समाजवाद आउँछ ? भनेर प्रश्न गरिए भने अर्कोतिर नेतालाई कुर्सी कति प्यारो हुँदोरहेछ भनेर पनि भनियो । तर, तपाई आफूलेचाहिँ के फिल गर्नुभएको थियो ?

त्यो त्यहीबेलाको एउटा ‘कन्डिसन’ हो । बिदाई कार्यक्रम नै भनेर पनि हामीले भनेका थिएनौँ । राष्ट्रिय सभामा पहिलो चरणको जवाफ दिएर मैले निमित्त सचिवलाई धन्यवाद दिएर जान्छुमात्रै भनेको थिएँ । मैले त्यतिमात्रै भन्दा पनि उहाँहरुले सबै फस्टक्लास अफिसरदेखि मन्त्रालयका अन्य साथीहरुलाई पनि बोलाउनुभएछ । मिडियाहरु पनि मैले भनेकै छैन, त्यतिकै आइदिनुभयो । म न राजीनामा गरेको, न केही ? त्यतिकै अलमल भएँ । यद्यपि मैले प्रधानमन्त्रीलाई भेटेर आएको थिएँ, किनकी बिदा हुने कुरा पहिले नै तय भइसकेको थियो । त्यही बेला मैले ८ महिना २० दिन गरेका कामबारे मेरो देबे्रतिर बसेर सचिवले फेहरिस्त भन्नुभयो, त्यो अवस्थाले जाँदै गरेको मन्त्रीलाई त्यस्तो खुसी बनाउनुपर्ने पनि त थिएन । भनिन्छ नि, कर्मचारीहरु स्वार्थी हुन्छन्, यो हुन्छन्, त्यो हुन्छन् ! जाने को हो भन्दा पनि आउने को हो भनेर सोध्छन् भन्ने किंवदन्तीहरु त्यसबेला मेरा अगाडि मिथ्याजस्तै भए । मेरो कार्यकायलमा जुन ‘माइलस्टोन’ बनाउन सक्यौँ, कुन काम कहाँ पुगेको छ भन्ने उहाँहरुले नै भन्नुभयो, मेरो मुखले भन्नै परेन । जसले उहाँहरुले मलाई गरेको विश्वास, ‘टिमवर्क’ले गरेको सन्तुष्टि देखेर म अलिकति भावुक बनेको हो ।

तर त्यो दृश्यले रामकुमारी झाँक्री नेतामात्रै नभएर अभिनेता पनि रहिछन् भन्ने पनि कतिपयको बुझाई रह्यो नि ?

म पनि सामान्य मान्छे हो । साथीभाइ, दिदिबहिनी, आमा, श्रीमती यस्तै सम्बन्धको मान्छे हो नि ! मान्छेमा हुने जेजे गुण हुनुपर्छ, त्यो समवेदनाका हिसावले कहाँ नाटक गर्नुपर्छ, कहाँ गर्नुहुँदैन, त्यो मलाई थाहा छैन । कोही पनि अभिनेताहरुले ममाथि लगाउने त्यो चार्जको खासै अर्थ पनि छैन र काउन्ट पनि गर्दिनँ । किनभने म अहिले घर जाँदा मेरो छोरो बसिरहेको छ या पढिरहेको छ भने धेरै खुसी हुन्छु । तर मलाई भोक लाग्यो, खान केही छैन भन्यो भने सबभन्दा दुःखी हुन्छु । त्यो ‘फिलिङ्स’ मसँग छ । त्यही कारण साथीभाइहरुले आत्मीयता र स्नेह प्रस्तुत गर्नुभयो, त्यो मेरा लागि खुसी हो । अर्काे कुरा, ‘टिमवर्क’मा काम गरेको सन्तुष्टि र विश्वास देखाउनुभयो, जुन मेरा लागि धेरै ठुलो पुँजी हो भन्ने लाग्यो । त्यसले पनि ‘रिगार्ड’ गर्‍यो ।

तर पार्टीले फिर्ता बोलाउने निर्णय गरेलगत्तै रामकुमारी झाँक्री लगायतले सर्लक्क राजीनामा दिएको भए ‘हाइट’ अर्कै हुन्थ्यो तर अलिक आलटाल गर्न खोजिन् पनि भनियो, सत्ता छोड्न गाह्रो नै हुने रहेछ है ?

यो सामान्य प्रक्रिया नबुझ्ने मान्छे, इगो, इश्र्या गर्ने मान्छे र सार्वजनिक पदमा भएका मानिसहरुको कद घटिरहेको भनेर मानक बनाउनेले गरेको टिप्पणी हो । त्यसमा म पूरै असहमत छु । किनभने हाम्रो ‘लजिक’ थियो । आठ महिना काम गर्दा मैले अर्थमन्त्रालय लगायत अन्य मन्त्रालयसँगको टीमसँग जे ‘रिफर्म’को काम भनेको थिएँ, त्यो नीति कार्यक्रम र विनियोजनमा केन्द्रित भयो । आफूले गरेको कामको जिम्मा संसदमा आफैले लिनुपर्छ । त्यसको ‘डिफेन्स’ पनि गर्नुपर्छ । साथै संसदमार्फत दुनियाँलाई बताउनु पनि पर्छ भन्ने कुरा सार्वभौम कुरा नै हो ।

बजेट अधिवेशन चलिरहँदा असामान्य परिस्थितिबाहेक बजेट प्रस्तुत गरेका मन्त्रीहरु फेरिँदैनन् । र, हामीलाई पनि भन्ने एउटा रहर पनि हुन्छ । म भन्ने पनि गर्थेँ कि कहिलेकाहीँ म तीन मिनेट वा एक मिनेटको सीमा भएको बेलामा संसदमा असीमित समय बोल्न पाउने भए कस्तो हुन्थ्यो होला भनेर सोच्थेँ । संसदमा असीमित नभए पनि चाहेजति बोल्न पाउने मलाई अवसर पनि थियो नि ! मैले गरेका कामको ‘रिफर्म’ कसरी सोचेँ ? कसरी गर्‍यौँ ? टीमबाट कसरी काम भयो ? त्यो भन्ने र इतिहासमा रेकर्ड गर्ने मौका थियो, त्यही भएर हामीले संसदमा जवाफ दिएपछि छोड्छौँ भनेर पार्टी नेतृत्व र मिडियालाई पनि भनेका हौँ ।

कहाँ बिग्रियो र कचमच भयो त ?

मन्त्री हुन हतार हुनेहरुले गएर आजै शपथ हुन्छ, भोलि हुन्छ भन्ने, अनि तिनैले समातेर लगेर पार्टी अध्यक्षलाई प्रधानमन्त्रीकोमा ‘डेलिगेशन’ जाने गर्न थाले । त्यो कुराले मिडियामा स्पेश पाएको भएर हामीले ‘अटेरी गरे’ भनियो । हामीले अटेरी गरेकै होइन । हामीलाई त हाम्रो कार्यक्रमको डिफेन्स गर्ने अधिकार नै थियो, त्यही कुरा गर्‍यौँ र छोड्यौँ ।

अर्को, जहाँसम्म कुर्सी छोड्ने कुरा छ, कुर्सी त यस्तो बन्धन रहेछ म त्यो पदमा रहँदा यसरी यो ठाउँमा आउन सक्ने थिइनँ । सामान्यतया ‘जस्टिफाई’ भएपछि मात्रै हिँड्न पाउँथे । मन्त्रालयकै विभागमा पनि मिसनबिना जान मिल्दैनथियो । को मान्छे भेट्ने, कहाँ भेट्ने, के कुरा गर्ने भन्ने कुरा कानुनले पनि र ‘मोरल भ्यालु’ले पनि सीमित गरेको हुन्छ ।

त्यसकारण मन्त्री भएर केही गर्ने उद्देश्य समेत राखेको भएर थालेका कामले पूर्णता पाउन् भन्ने चाहना मन्त्री, प्रधानमन्त्री जसलाई पनि हुन्छ । तर त्यो पद छोड्दाको उन्मुक्ति, आनन्द, सुख, एक प्रकारको चङ्गा र निस्फिक्रिका लागि हामी तयार पनि थियौं । त्यस्तो भन्नेहरुलाई मलाई आज अपिल नै गर्न मन लाग्यो । निस्फिक्रीको जिन्दगी हो । म एक पटक मन्त्री भएँ, स्टाटसको हिसाबले आज पनि मलाई मानिसहरुले त्यतिकै सम्मान गर्नुहुन्छ । मैले पनि केही काम गर्न सकेँ, अन्तरक्रिया अहिले पनि गर्नुहुन्छ । मन्त्री छाडेपछि शहरी विकास मन्त्रालयमै एउटा ‘प्यानलिस्ट’ भएर आएँ । ३० वर्षदेखिका ‘एक्सपर्ट’हरुसँग ‘प्यानलिस्ट’ हुने क्वालिटी पनि मैले बनाएँ । यो जे गरेँ, यो मन्त्रालयका टीमबाट गरेँ । त्यो टीमले मलाई नर्सरीको विद्यार्थीलाई जस्तै गरेर पनि सिकाउनुभएको छ ।

मन्त्री पद छोड्न कुनै गाह्रो लागेन भन्ने तपाईको जिकिर हो ?

हो । २१ गते पार्टीले निर्णय गरेछ । २२ गते हामीलाई थाहा भयो । त्यो दिन म घर आउँदा राति भइसकेको थियो । मेरो बाबु सुतिसकेको थियो । भोलि बिहान ऊ स्कुल जाँदै थियो । छोराको बाबाले अब मामुको ‘टर्न’ सकियो, अब हामी घर जाने हो, एक दुई दिनपछि घरबाटै स्कुल जान्छौँ भनेर छोरालाई सम्झाउनु भयो । ‘ए ! मामु छोड्ने ?’ भन्दै ऊ पनि खुसी थियो । मैले पकाएको दालभात खाने मान्छे, आठ महिनासम्म मैले पकाएको दालभात खान पाएन । त्यसकारण छोड्न गाह्रो हुन्छ भन्ने लागेन ।

छोडेपछिको उन्मुक्ति धेरै आनन्दको हुँदोरहेछ । हामी छोडेका २/३ जना मन्त्रीहरु पछि पनि भेट्ने, हिजो गरेका कामको तरिकाका समीक्षा गर्ने, कसो गरेको भए अझ बेटर पर्फमेन्स हुन्थ्यो ? नगरेर के भयो ? भनेर पनि समीक्षा गर्ने गर्छौँ ।

आठ महिना २० दिन लामो रामकुमारी झाँक्रीको कार्यकालमा नीतिगत वा व्यावहारिक ढंगले जनताले देख्ने र थाहा पाउने यो कामचाहिँ भयो है भन्ने के गर्नुभयो ?

मैले एडमिनिस्ट्रेटिभ हिसाबले गर्नुपर्‍यो । नम्बर एकमा ‘रिफर्म’को काम । आयोजना र कार्यान्वयनको काम । त्यसपछि संगठन संरचनाको कामदेखि बेरुजु फर्स्यौटसम्म र पुँजीगत खर्चसम्मका धेरै काम गरेका छौँ । मेरो बिदाईको दिन ‘फेरि भेटौँला’ कार्यक्रममा मेरो निमित्त सचिवले भन्दै हुनुहुन्थ्यो– अर्थमन्त्रालय भन्छ, हरेक महिना १०/१० प्रतिशत पुँजीगत खर्च गर्नुपर्छ, गर भन्छ । साउनदेखि मंसिरमा ५० प्रतिशत गर्नुपर्ने अर्थको अपेक्षा हुन्छ । तर हाम्रो कार्यक्रमको हिसावले त्यस्तो खर्च हुँदैन ।’

त्यसका लागि आयोजनाको तयारी गर्न हामीले व्यवस्था बसायौँ, कर्मचारी संयन्त्रलाई कसरी चलाउनेदेखि कयौं कार्यविधिहरु बनाउने, वित्तीय उत्तरदायित्व बहन गर्ने अधिकारीले के गर्ने, राजनीतिक लेबलमा मैले काम गर्दा मेरा सीमा निर्धारण गर्नेजस्ता अनुकरणीय कामहरु भएका छन् । तर देखिने कामहरु चाहिँ सबै ९९ मा गएर अड्किएका छन् । राष्ट्रिय सहरी नीति क्याबिनेटमा गयो र रिभ्युमा पुगेर फर्क्यो, त्यो अन्तिम रिभ्यु पनि मैले १४ जना सचिवलाई एकै ठाउँ राखेर गराएँ । त्यो प्रक्रियामा त मन्त्रालय जानैपर्थ्यो, त्यसमा मैले इस्यु बुझाएँ । त्यस्तै शहरी विकास ऐन, युटिलिटी करिडोर, नगर विकास कोषलाई नगरविकास वित्त निगम भनेर त्यसलाई अर्थको सहमतिको लेबलसम्म पुगेको थियो । त्यसपछि अधिकार सम्पन्न बागमती एकीकृत सम्यता विकास समिति गठन गर्ने विधेयक क्याबिनेटमा गएको थियो । यतातिर राष्ट्रिय आवास विकास कम्पनीको प्रवन्धपत्र नियमावली फाइनल भएर प्रमाणित गर्न कम्पनीको साधारणसभा बस्नुपर्ने अवस्थामा पुगेको थियो ।

त्यसपछि विभिन्न सभाहलहरु सञ्चालन गर्ने कार्यविधि र मोडालिटी फाइनल पुगेको थियो तर साइन नै नगरी हिँड्न पर्‍यो । काठमाडौँ महानगरमा नयाँ मेयर आइसकेपछि फोहरलाई वर्गीकरण गर्ने भन्नुभयो, त्यो कुरालाई पहिलेदेखि नै छलफल गर्दा वर्गीकरण गरेर बञ्चरे डाँडा ल्याण्डफिल साइट २ सय वर्ष पुग्छ, यही गरौँ भनेर सहमति गर्‍यौँ । त्यसका लागि श्रोतमै वर्गीकरण गर भन्ने कुरा सजिलो थियो तर कसरी गर्ने ? त्यसको म्यानुअल बनाउन लागेका थियौँ, त्यो म्यानुअल फाइनल भएर स्टेयरिङ कमिटीले पास गर्नुपर्ने थियो, त्यो पनि ठ्याक्कै ९९ मै गएर अड्कियो ।

त्यसपछि फोहोर मैला व्यवस्थापन प्राविधिक सहायता केन्द्र म मन्त्री भइसकेपछि मन्त्रीस्तरीय निर्णयले बनाएँ । त्यसपछि त्यही प्रस्ताव क्याबिनेटमा लगेर ‘अपू्रभ’ गरेँ र त्यसको ‘ओएनएम’ भएर फाइनल थियो । जसले गर्दा २५३ वटा नगरपालिकामा फोहोर मैला प्राविधिक सहायता केन्द्र उपलब्ध बनाएर सहयोग गर्ने कुरा गरेका थियौँ । भवन प्रविधि अनुसन्धान केन्द्रलाई मन्त्रालयमार्फत लगेर शक्तिशाली ‘इन्टीटी’ बनाउन लागेका थियौँ, यी लगायत धेरै राम्रा कामको सुरुवात भएका छन् ।

सहरी विकासको क्षेत्रमा तपाईले भनेका र सुरुवात गरेका राम्रा कामलाई अहिलेका मन्त्रीले निरन्तरता दिइरहनु भएजस्तो लाग्छ ?

एउटा दुईटा निर्णय उल्टाइरहेको देख्छु । तर कति निरन्तरता दिनुभएको छ, त्यो सबै थाहा छैन । तर सबैभन्दा धेरै बेरुजु भएको उपभोक्ता समितिबाट गर्ने काममा ग्रास रुटसम्म भ्रष्टीकरण भयो भनेर अख्तियार र महालेखाले भनिरहेको अवस्थामा उहाँले खोलिदिनुभयो । सायद चुनाव आउँदैछ भनेर पनि होला । यस्ता निर्णय उल्ट्याउँदै जानुभएको छ ।

एउटा मन्त्रीले गरेको निर्णय अर्कोले उल्ट्याउनुपर्ने कारणचाहिँ के रहेछ ? केही बुझ्नुभयो ?

मैले त अरु मन्त्रीले गरेका केही पनि काम उल्ट्याइनँ । तर मैले अरु मन्त्रीले गरेकाभन्दा फरक ‘रिफर्म’ चाहिँ गरेँ । ‘रिफर्म’ पनि क्रान्तिकारी गर्ने हुँदा कुनै निर्णय उल्ट्याउनै परेन, नयाँ ढङ्गले गएँ । मेरै पार्टीका मन्त्री, जो मेरो निरन्तरताका लागि आएका छन्, ती पाइपलाइनमा रहेका काम उल्ट्याउनु भनेको नियतकै कुरा होला, अरु मलाई थाहा भएन ।

तपाई प्रश्न गर्ने नेता तर जवाफ दिने ठाउँमा पनि पुग्नुभयो । प्रश्न गर्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुग्दाको भिन्नता कस्तो हुँदोरहेछ ?

प्रश्न उठाउने कुरामा प्रश्न उठाउनैपर्छ, जवाफ दिने ठाउँमा जवाफदेही बन्नुपर्छ । मैले त्यो कुराको महसुस गरँे, त्यही भएर आज पनि सहरी विकासमा मैले गरेका कामको ‘इम्प्याक्ट’ देखिन्छ । त्यही कारण पनि यो सरकारप्रति ६ महिना संसदमा प्रश्न उठाउँदिनँ, बोल्दिनँ भन्या हो । राम्रा कामका लागि बोलौँला, तर अरु बोल्दिनँ भनिरहेकी छु । मैले गरेका कतिपय राम्रा निर्णयको प्रस्ताव अहिले पनि मेरै हस्ताक्षरमा गइरहेका पनि होलान् । म मोरल राजनीति पनि गरेर आएकाले पहिला पनि त्यसको बोध थियो किनभने राम्रो होस् भनेर प्रश्न गर्ने हो र जवाफदेहीता भएको ठाउँमा सकेसम्म छोटो समयमा प्रभावकारी ढंगले निदान खोज्नुपर्छ भन्ने नै लाग्छ । त्यसकारण यी दुवै कुरालाई मैले स्वाभाविक रुपमा लिँदै ‘कम्फरटेवल’ नै महसुस गरेको छु ।

तर एउटा मान्छेको फरक पोजिसनमा फरक भुमिका हुन्छ भन्ने कुरा पनि स्वीकार गर्छु । नागरिकता विधेयककै सवालमा पनि मैले संशोधन हालेर बोलेँ । मन्त्री भएको भए सायद मैले समर्थन गरिसकेको हुन्थेँ ।

एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुभयो । जुन अपेक्षा अनुसार नयाँ पार्टी बनाउनुभयो, त्यो अपेक्षा अनुसार पार्टी सञ्चालन भएको छ ? अथवा अन्तरकुन्तरमा एमालेको माया पो लागिरहेको छ कि ?

चलाउनुपर्छ । यो पार्टीलाई योङ्ग जेनेरेसनलाई टार्गेट गरेर अघि बढाउने भन्ने हामीसँग ऊर्जा थियो । संसदीय व्यवस्थामा के हुँदोरहेछ भन्दा पार्टी फुटाउन पनि कानुनका लागि संसद नै चाहिने रहेछ । संरचना नै त्यस्तो बनाएका छौं । त्यसकारण जनसांख्यिक हिसावले पनि युवाहरुको संख्या धेरै भएको मुलुक हो हाम्रो देश । त्यसैलाई टार्गेट गरेर पार्टी बनाउने हाम्रो सपना थियो । तर हामीले युवाहरुलाई नेतृत्वमा त्यति धेरै समेट्न सकेनौँ । त्यसले गर्दा युवाहरुको जोश, जाँगर र ऊर्जा अनि पाकाहरुको अनुभव मिक्स गरेर सशक्त पार्टी बनाउने आधार छ ।

पार्टी र नेता फेर्नुभयो, प्रवृत्ति फेरिएन कि भन्ने मेरो प्रश्न हो !

ठुलो भाँडामा पाकेको भात हो । त्यो भाँडाबाट अलिकति बाहिर आएका हौँ हामी । त्यसकारण सोच, प्रवृत्ति, चरित्र, पात्र पनि त्यहीँबाट आएका, हामी त्यही छौँ । हामी सानो साइजको एमाले नै छौँ, नेतृत्व पनि एमालेको फोटोकपी छ, त्यो बदलिएको छैन तर पनि बदल्ने प्रक्रिया जारी छ ।

पुरानो चरित्र बदल्न सम्भव छ ?

सम्भव छ । राजनीतिमा असम्भव केही हुँदैन । बदलिन केही ठक्कर खानुपर्छ । अहिले त सामान्य, निरन्तर, निस्प्रभाव चलिरहेको छ । यो चलिरहेको गति छेक्नुपर्छ, त्यसपछि रुपान्तरणको प्रक्रियामा जाने जेसुकैको नियम नै हो । स्थानीय चुनावमा हाम्रा अभिव्यक्ति, हामीले एमालेको आधाआधा भनेर गरेको दाबी, ल्याएको मतलगायत वडातहसम्म उम्मेदवार बनाउने कुरा सबैलाई विश्लेषण गरेर यति ठुलो ठक्कर लागेपछि ‘ओएफ थिङ्किङ’ नै बदल्नुपर्छ भन्ने ठाउँमा पुगेका छौँ । यो निष्कर्षपछि पुनर्जागृत र पुनर्गठित गरेर जान आवश्यक छ र जान्छ । त्यो बाटोमा जाँदा हाम्रा कार्यशैली, चिन्तन र सोचहरुमा धेरै नै परिवर्तन गर्नुपर्छ ।

‘ओएफ थिङ्किङ’ले धेरै कुरा निर्धारण गर्छ । अहिले त हाम्रो ‘ओएफ थिङ्किङ’ उस्तै प्रकृतिको, साइजको थोरै पात्र आएर हिजो एमालेमा ओली सरले जे अभ्यास गर्नुभएको थियो, त्यही अभ्यास । दुईचार वटा नियुक्ति, मन्त्री हेरफेर, शक्तिको अभ्यास भइरहेको छ । यो भन्दा पर गएर नयाँ मुभमेन्टलाई नयाँ ढङ्गले लानुपर्छ भन्ने हिसाबको सोच कम भइरहेको छ ।

तपाईहरुजस्ता युवा र इनर्जेटिकहरुको कुरा पार्टी नेतृत्वबाट सुनुवाइ नै हुन छोड्या जस्तो देखिन्छ, अनि कसरी रुपान्तरण सम्भव होला र ?

म पार्टी बैठकमा हुन्थेँ, त्यसबेला मन्त्री पनि थिएँ । पार्टीले मन्त्रीमाथि चौतर्फी दबाब बढाएका बेलामा धेरै बोल्न राम्रो पनि हुँदैनथियो । त्यही भएर हामी बोलेनौँ, बोल्न जरुरी पनि भएन । सायद त्यही भएर पार्टीलाई यसरी लैजाउ भनेर मैले पनि भन्न नसक्नु कमजोरी भयो । तर अब म सरकारबाट बाहिर छु, अब पार्टी काममै आउँछु । काममा आउँदा आफ्नो जिम्मेवारीलाई रोलमोडल ढंगले अघि बढाउँछु । अहिलेसम्म मेरो जिम्मेवारीमा आएका कामहरु कठिन, प्राथमिकतामा नपरेका र छाडिएका ठाउँहरुको काम गरेर प्रतिस्पर्धी बनाउँदै आएको छु । त्यसकारण पनि काम गर्न सकिन्छ, तर टीमवर्कमा विश्वास गर्नुपर्छ भन्ने गरेको छु ।

नेकपा एकीकृत समाजवादीको विकल्प सोच्ने ठाउँमा पुग्नु भएको त छैन ?

यही पार्टी विकल्प हो भनेर लागेका छौँ । ठुलो विकल्पको कुरा गर्दा ठुुलै वामपन्थ त सोच्न सकिएला, तर आज हाम्रो पार्टी खुट्टामा टेक्ने त बनाउनुपर्छ । गठनको फेजमा रहेको यो पार्टी संरचनाको विस्तारदेखि राजनीतिक, सांगठनिक कुराहरु गर्न बाँकी छ । त्यो भइसकेपछि अधिवेशन गर्ला, सम्मेलनहरु गर्ला, रिफ्रेस नेतृत्व आउला, त्यसपछि पार्टी खुट्टा टेक्ने अवस्थामा पुग्छ अनि हामीले भनेजसरी पार्टी अघि बढ्छ ।

तपाई सत्ता गठबन्धनको एक नेता पनि हो, मुलुक चुनावको सँघारमा छ, गठबन्धनको भविष्य र समाजवादी केन्द्रको चर्चा पनि जारी नै छ, कसरी अघि बढ्ला अबको राजनीतिक समीकरण ?

तपाईको अघिको प्रश्नबाटै म यो प्रश्नको जवाफ दिने ठाउँमा छैन भन्ने बुझिन्छ । त्यसैले गठबन्धन रहन्छ वा रहँदैन र समाजवादी केन्द्र बन्छ या बन्दैन भन्ने तथ्यको कुरा मैले मिडियाबाटै थाहा पाउने हो । तर परिस्थितिलाई विश्लेषण गर्दा चुनावअघि समाजवादी केन्द्र बनि नहाल्ला कि जस्तो लाग्छ । किनभने हामीले हाम्रो एटिट्युट देखेका छौँ । लेफ्टहरुको मोर्चासम्म बनाउने कुरा सुखद् नै हुनसक्ला । त्यो कुरा काँग्रेसलाई पनि हाम्रो ‘विङ्स’हरुको एउटै घोषणापत्र बनाउँछौ है भन्ने र बनाउने गर्न सकिन्छ । किनभने त्यसो गर्दा छरिएका र बरालिएका भोटहरु हामी सम्हाल्न सक्छौँ ।

गठबन्धनमा रहेको ‘लार्जेस्ट’ पार्टी काँग्रेस हो । उसले केन्द्रीय कमिटीबाट निर्णय नै गरिसकेको छ । माओवादीले पनि त्यही भनेको छ । भनेपछि गठबन्धन अघि जान्छ जान्न भन्ने कुरा पनि यिनै दुई दलले मेजर रुपमा निर्धारण गर्ने हो । हाम्रो पार्टी र जसपा भनेको निर्णायक त हुन्छौँ तर अरुसँगको शक्ति र सहकार्यबाट । कम्पोजिसन नै त्यस्तो छ । एक्लो विकल्प हामी होइनौँ ।

चुनावपछि काँग्रेस एकल बहुमतको सरकार बनाउने रणनीतिमा छ, माओवादी दोस्रो पार्टी बन्ने रणनीतिमा छ । यसले गठबन्धनमा कचिङ्गल हुने देख्नुहुन्न ?

कुनै पार्टीले सपना देख्नु, रणनीति बनाउनु राम्रै कुरा हो । दलीय स्वार्थ हुनु स्वाभाविक पनि हो । काँग्रेसले लार्जेस्ट पार्टीमात्रै नभएर सामान्य बहुमत ल्याएर एकल सरकार चलाउन पाए हुन्थ्यो भन्नु स्वाभाविक हो । तर निर्वाचन प्रणालीले त्यो सुविधा त दिँदैन । माओवादीलाई पनि दोस्रो भएर निर्णायक शक्ति भएर निर्वाचनपछि सरकारको नेतृत्व आफ्नै हातमा हुनेगरी आफूलाई निर्माण गर्न पाए हुन्थ्यो, एमालेलाई अझ साइजमा राख्न पाए हुन्थ्यो भन्ने लाग्नुलाई अन्यथा लिन सकिँदैन ।

हामीलाई पनि पहिलो दोस्रोको लडाइँतिर भन्दा पनि साइजेवल पार्टी बन्न पाए हुन्थ्यो भन्ने लाग्छ । अस्ति एउटा कार्यक्रममा गगनजीले म प्रधानमन्त्रीको दाबी होइन, एटेम्प्ट गर्ने हो भन्दै गर्दा म पनि सँगै थिएँ । तर म भने ‘व्यक्तिगत त एटेम्प्ट गरौँला तर मेरो पार्टी ?’ भन्ने ठाउँमा पुगेँ । मेरो अवस्थाको कारणले मैले बोल्न सकिनँ, मलाई त्यो कन्फिडेन्स आएन ।

कति साथीहरुले सोसल मिडियामा पनि लेखिरहनुभएको छ– गगन, रामकुमारी ! तिमीहरु अब पनि केही कुरा आँटेनौ भने अबको ५/१० वर्षपछि आँट्दा तिमीहरु पनि बुढा नेताहरुजस्तै सुगर प्रेसर लागेका, नसुन्ने र आउटडेटेड हुन्छौ भनिरहेका छन् । गगनजीको लागि त अलि सहज पनि छ किनभने महामन्त्री पनि हो, पार्टी सग्लो पनि छ तर मेरो लागि त पार्टीको अवस्थालाई ख्याल गरेर मैले त्यस्तो भन्नु हास्यास्पद हुन्छ । त्यसकारण पनि म कम बोल्ने बढी सुन्ने अवस्थामा छु ।

माओवादी अध्यक्ष प्रचण्डले चुनावपछि आधाआधा सत्तासाझेदारीको कुरा गरिरहनु भएको छ, यस्तोमा तपाईको पार्टीले सांसदहरुलाई पालो पुर्‍याउन ६/६ महिनामा मन्त्री फेरेको छ । भनेपछि नेकपा एकीकृत समाजवादीले चुनावपछि प्रधानमन्त्रीको दाबी गर्छ या गर्दैन ?

पछिका कुरा हुन् यी । हुन त म काम गर्दागर्दै पालो पुर्‍याउन फेरिएको मान्छेले मेरो पार्टीलाई पालो चाहिन्छ भन्नैपर्छ । किनभने मेरो पार्टीको मूल प्रवृत्ति नै त्यही भयो ! पहिलो पार्टीले २ वर्ष, दोस्रोले २ वर्ष गर्ने हो भने मेरो पार्टीले पनि १ वर्ष या ६ महिना भए पनि सरकारको नेतृत्व गर्न पाउनुपर्छ । मूल नीति नै सांसदहरुलाई ६/६ महिनामा मन्त्री बनाउने भएको पार्टीले एक वर्ष प्रधानमन्त्री त माग्नै पर्‍यो नि !

आउने चुनावमा तपाई कहाँबाट निर्वाचन लड्दै हुनुहुन्छ ?

अहिले क्लियर नै त भएको छैन । तर म गुल्मीको मान्छे, त्यहीँ जान्छु । मेरो घर गुल्मी २ नम्बर निर्वाचन क्षेत्रमा पर्छ । म जन्मेको घर, आफन्त, दाजुभाइ, मैले काम गरेको ठाउँ भएकाले सबैले मलाई गुल्मीमै आउनुपर्छ भनिरहनुभएको छ ।

त्यसो भए गोकर्ण विष्ट र रामकुमारीबीच प्रतिस्पर्धा हुने भयो होइन ?

राजनीतिमा जोसँग पनि प्रतिस्पर्धा हुने नै हो । ओली सरसँग त झगडा गरेर छोडियो । त्यही भएर मेरो सोच पनि गुल्मी नै जाने हो । यद्यपि निर्णय गठबन्धनमा हुने भएकाले मैले घोषणा गरेर हिँड्ने कुरा होइन । गठबन्धनको मैले इज्जत नै गर्छु, निर्णय उसले नै गर्ने हो । अहिलेसम्म यसमा गठबन्धनभित्र समस्या पनि छैन ।

१६५ सीटमा काँग्रेसले एक सय सीट दाबी गरेको छ, माओवादीले ५० भन्दा बढी गरेको छ, नेकपा एकीकृत समाजवादीले कति दाबी गर्छ ?

हाम्रो अध्यक्षले समानुपातिकमै २०/२५ सीट आउँछ भन्नुभएको छ । त्यतिकै संख्यामा प्रत्यक्षतर्फ पनि जित्नैपर्छ । जित्नलाई सोही संख्यामा दाबी हुने भयो । यो फेरि मेरो कुरा होइन, अध्यक्षको रिफ्रेन्स लिएर भन्दैछु । तर त्यसलाई सपोर्ट गर्ने कुरा हाई लेबलका नेताहरुबीचमा स्थानीय तहमा जस्तै गफ गर्नुभयो भने तपाईले भनेजस्तै हुन्छ । माग्नेले माग्छ, दिनुपर्नेले छोड्दैन, के हुन्छ भन्न सकिँदैन । यसमा सेकेन्ड लेयरमा छलफल गर्‍यौँ भने हामी सबैलाई चित्त बुझाएर गर्न सक्छौँ ।   

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।