बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दोभासेको कन्चटमा पेस्तोल राखेर चिनियाँको खोजी, हतकडी लगाएरै अपहरण

बिहीबार, १९ साउन २०७९, १६ : ३६
बिहीबार, १९ साउन २०७९

पाटन उच्च अदालतका एक न्यायाधीशको पीएसओ रुपमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर गुरुङ लगायत ६ जनाको समूह नेपालमा व्यवसायरत एक चिनियाँ नागरिकको गतिविधिबारे जानकार थिए । सोही अनुसार उनीहरुले निरन्तर फलो गर्दा थाहा भयो उनको एक नेपाली दोभासे पनि थिए ।

दोभासेलाई धम्क्याएर उनीसम्म पुग्ने र अपहरण गरेर रकम कुम्ल्याउने योजनामा लागेका न्यायाधीशका पीएसोसहित ६ जनाको समूह प्रहरीको फन्दामा परेको छ।  
प्रहरीले उनीहरुलाई राजधानीको गोंगबुबाट चिनियाँको अपहरण आरोपमा पक्राउ परेको हो । पक्राउ पर्नेमा पीएसओसहित अर्का एक प्रहरी पनि रहेका छन् । ती प्रहरीमा प्रहरी वृत्त बालाजुमा कार्यरत जवान शिव सुनार रहेका छन् । 
यस्तै चिनियाँको अपहरणमा संलग्न अन्यमा लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर र विनोद केसी रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीकाअनुसार ती चिनियाँ नागरिकबारे जानकार रहेका पीएसओसहितको टोलीले आफू प्रहरी नै भएको भन्दै हतकडी लगाएर अपहरण गरेको खुलेको छ।  उनीहरुले चिनियाँलाई गोंगबुको स्वर्गद्वारी प्युठान होटलमा लगेर बार्गेनिङ थालेको खुलेको छ। एक करोडमा सुरु भएको बार्गेनिङ ५० लाखमा सहमति भएको थियो । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार चिनियाँ नागरिक लाजिम्पाटस्थित रेडिसन होटल नजिकै फ्लाटमा बस्दै आएका थिए । सो अघि उनीहरुले  चाइनिजको दोभासे रहेका कपुरधारमा घर भएका नेपालीलाई कञ्चटमा पेस्तोल तेर्स्याउँदै चिनियाँ भएको ठाउँमा लैजान भनेका थिए ।

दोभासेमाथि कन्चटमा पेस्तोल राख्ने हवल्दार कर्णबहादुर भएको बताइएको छ ।  त्यसपछि दोभासेले अपहरणकारीलाई चिनियाँ नागरिकसम्म पुर्याएका थिए । घरबाट उठाएर गोंगबुको होटलमा लगेपछि उनीहरुले चिनियाँको साथीलाई फोन गरेर रिहा गर्ने भए एक करोड ल्याउन भनेका थिए । पटक पटकको डिलिङपछि ५० लाखमा सहमति भएपछि उनीहरुलाई नयाँ बसपार्कस्थित बिजी मलमा आउन भनेका थिए । तर पैसा र प्रहरीसमेत लिएर चिनियाँ पुगेको उनीहरुले पत्तै पाएनन् । उनीहरुलाई गएराति चिनियाँलाई अपहरण गरेर राखेको होटलबाटै फलो गरेर पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

बुधबार साँझ अपहरणमा परेका चिनियाँको रातिनै सकुशल उद्दार भएको छ भने अभियुक्तलाई म्याद लिनका लागि जिल्ला अदालत काठमाडौंमा बिहीबार उपस्थित गराइएको छ। अदालतबाट म्याद लिएर उनीहरुमाथि अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप