मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावको मिति घोषणासँगै उब्जेको चासो: प्रतिनिधिसभाको आयु कहिलेसम्म रहन्छ ?

बिहीबार, १९ साउन २०७९, १४ : ५४
बिहीबार, १९ साउन २०७९

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म विघटनको असफल प्रयास गरेको प्रतिनिधिसभाको आयु अब कहिलेसम्म रहने भन्नेमा चासो छ ।  सरकारले ५ वर्षे संसदको कार्यकाल पुरा हुनेगरी निर्वाचनको मिति घोषणा गरेसँगै प्रतिनिधिसभाको आयु कहिलेसम्म रहने भन्ने चासो रहेको हो । 

निर्वाचन आयोगले मौजुदा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधि आगामी २०७९ मंसिर २२ गतेसम्म रहनसक्ने बताएको छ ।  प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल कहिलेसम्म रहने भन्ने विषयमा विवाद हुँदा आयोगले केही पहिले यस्तो बताएको थियो । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नभएको तथा प्रत्येक सदस्यको निर्वाचित मितिलाई गणना गर्दा फरक फरक मिति मान्नुपर्ने आयोगको जिकिर छ । 

‘नेपालको संविधानको धारा ८५ ले प्रतिनिधिसभाको कार्यकाल तथा धारा १७७ ले प्रदेशसभाको कार्यकाल अगावै विघटन भएकोमा बाहेक ५ वर्षको हुने उल्लेख गरेको र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित सदस्यको निर्वाचित मिति निर्वाचनको परिणाम प्रकाशन भएको मितिको आधारमा र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनको सम्बन्धमा आयोगले बन्द सूचीमा नाम रहेका राजनैतिक दलका उम्मेदवार निर्वाचित भएको घोषणा गरेको मितिको आधारमा निर्वाचित मिति कायम गर्ने व्यवस्था भएको सन्दर्भमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नभएको तथा प्रत्येक सदस्यको निर्वाचित मितिलाई गणना गर्दा फरक फरक मिति मान्नुपर्ने जस्तो देखिएकोले पहिलो निर्वाचित मितिलाई आधार मानी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधि गणना गर्नु व्यवहारिक र निर्विवाद हुने देखिएको’, आयोगको भनाइ छ ।

यस आधारमा २०७४ सालमा सम्पन्न मौजुदा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधि मंसिर २२ गते पूरा हुने निष्कर्ष सहित आयोगले चुनावको मिति सो अघि तोक्न सरकारलाई सुझाएको थियो । 

यस्तै साउन २ मा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान प्रतिनिधिसभाको आयु निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताएका बताएका थिए ।  यद्यपि यसबारे थप छलफल गरेर निष्कर्ष निकालिने उनको भनाइ छ । 

‘यो सं प्रतिनिधिसभाको आयु उम्मेदवारी दर्ताको दिनसम्म रहन्छ भन्नेछ । त्यसमा फाइनल होइन, मोटामोटी उम्मेदवारी दर्ताको दिनसम्म संसद रहन्छ’, उनको भनाइ थियो । यस्तै उपसभामुख पुष्पा भुसालले पनि आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म प्रतिनिधिसभाको आयु रहने बताएकी छन् ।  संविधानले सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेकोले सभामुख र उपसभामुख संसदबाटै उत्पति हुने भएकोले सोहीअनुसार नै प्रतिनिधिसभाको आयु रहने उनको भनाइ छ । उनले आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म मात्रै प्रतिनिधिसभाको अवधि रहने भन्दै सबै सांसद र संसदको लागि यसले आगामी दिनमा नजिर बसाल्ने बताइन् । 

‘संविधानले उल्लेख गर्दा सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेको छ । मनोनयनको दिन समाप्त हुन्छ पद भनेर व्याख्या नै गरिसकेको छ । सभामुख र उपसभामुखको उत्पति भनेको संसदबाट नै भएको हो । सदनकै मतबाट उत्पति भएको हो । मनोनयनको दिन सबै सांसदहरुको पनि अवधि सकिन्छ । सभामुख र उपसभामुखको लागि संविधानले गरेको कल्पना नै सबै सांसदका लागि हो । यो नयाँ व्याख्या पनि हो । सबै सांसद र संसदको लागि यो भयो भने भोलिको लागि यो नजिर बन्नसक्छ । तर सबैलाई एउटै किसिमको नियम हुनुपर्छ भन्ने छलफल अघि बढेको छ ’, उनले बिहीबार भनिन् । 

सरकारले मंसिर ४ का लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकसाथ गर्नेगरी घोषणा गरेको छ । अब निर्वाचन आयोगले निर्वाचन कार्यक्रम तय गरेसँगै संसदको कार्यकालको विषयमा पनि ठोस निर्णय हुने बुझिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप