गौतमश्री सहकारीका अध्यक्ष राम बहादुर गौतमकी श्रीमतीको पनि घरजग्गा रोक्का
फरार गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राम बहादुर गौतमकी श्रीमतीको नामा रहेको सम्पूर्ण चलअचल सम्पती समेत रोक्का गरिएको सहकारी विभागले जनाएको छ । सहकारी ठगीको आरोपमा हालसम्म गौतमश्री सहकारी र उक्त सहकारीका अध्यक्ष गौतमविरुद्ध ११०० बढी निवेदन परेको भन्दै विभागले उक्त सहकारीका सम्पूर्ण सञ्चालकहरुको सम्पती रोक्का गर्न राष्ट्र बैंकमा पत्र पठाइसकेको जनाएको हो ।
सोही सम्पती रोक्काको सम्बन्धमा विभागले गौतमश्रीका अध्यक्ष राम बहादुर गौतमकी श्रीमती निर्मला खत्री गौतमको नाममा नेपालभर रहेको घरजग्गा यथाशिघ्र रोक्का गर्न समेत भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई अनुरोध गरी पठाइसकिएको सहकारी विभागले जनाएको छ ।
हालसम्म विभागमा ११०० जनाले १ अर्ब ७५ करोड रुपैयाँ बढी ठगी आरोपमा उजुरी दर्ता गरिसकेको जनाएको छ । तर, हालसम्म गौतमश्री सहकारीका सञ्चालक कोही पनि सम्पर्कमा नआएको विभागले जनाएको छ ।