सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा ५ वर्षमा कति भवन बने ?

५६ वहुवर्षे आयोजनामध्ये ११ वटा सम्पन्न, ४५ वटा अन्तिम चरणमा
बिहीबार, १९ साउन २०७९, २२ : ५८
बिहीबार, १९ साउन २०७९

प्रदेश १ सरकारको पहिलो कार्यकाल सकिन लाग्दा विकास निर्माण तथा भौतिक प्रगति कति भयो भन्ने विषय समीक्षा सुरु भएको छ । प्रदेशसभामा सांसदहरुले पनि प्रदेश आएपछिको परिवर्तन के भयो भन्दै जानकारी गराउन प्रदेश सरकारलाई दबाब दिइरहेका छन् । प्रदेश १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारी अनुसार शहरी विकास तथा भवन निर्माण कार्यालय अन्तर्गत प्रदेशले हालसम्म ११ वटा बहुवर्षे भवनहरु निर्माण सम्पन्न गरेको छ । अन्य ४५ वटा भवनहरु भने निर्माणको अन्तिम चरणमा छन् । 

प्रदेश सरकारले शहरी विकास तथा भवन कार्यालयमार्फत सञ्चालन गरेको ५६ वटा बहुवर्षे आयोजनाहरुमा अहिलेसम्म १ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।  शहरी विकास तथा भवन कार्यालयहरुमार्फत सञ्चालित बहुवर्षे आयोजनाहरुको १ अर्ब २९ करोड ८६ लाख दायित्व रहेकोमा चालु वर्ष ५१ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । तर, सबै आयोजना चालु वर्षमा सम्पन्न भए मन्त्रालयलाई थप ७८ करोड ८ लाख रुपैयाँ दायित्व बढ्ने देखिन्छ । मन्त्रालयले प्रायः सबै आयोजनाहरु अन्तिम चरणमा पुगेको जनाएको छ । 

शहरी विकास तथा भवनका चार कार्यालयमध्ये धनकुटाको कार्यालयले सबैभन्दा धेरै योजना सञ्चालन गरेको थियो । उक्त कार्यालयले २३ वटा बहुबर्षे योजना सञ्चालन गरेकोमा ५ वटा योजना सम्पन्न गरिसकेको छ भने १८ वटा अन्तिम चरणमा पुगेको छ । धनकुटास्थित कार्यालयले धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा काम गर्ने गरेको छ ।

इलामस्थित शहरी विकास तथा भवन कार्यालयले १६ वटा बहुवर्षीय योजना सञ्चालन गरेकोमा ६ वटा निर्माण सम्पन्न भइसकेको छ । कार्यालय मातहतका १० वटा योजना निर्माणाधीन छन् । इलामस्थित कार्यालयले झापा, इलाम, पाँचथर र ताप्लेजुङमा हेर्ने गरेको छ । 

सबैभन्दा थोरै योजना ओखलढुंगास्थित शहरी विकास तथा भवन कार्यालयबाट सञ्चालन भइरहेको छ । ओखलढुंगास्थित कार्यालयबाट ८ वटा योजना सञ्चालन भइरहेको छ । कार्यालयले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको काम हेर्ने गरेको छ । यस्तै मोरङस्थित शहरी विकास तथा भवन कार्यालयबाट उदयपुर, सुनसरी र मोरङ जिल्लामा ९ वटा योजनाहरु सञ्चालन भइरहेको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले जनाएको छ । 

गत वर्ष इलाम कार्यालयलाई ४१ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेकोमा ४० करोड १७ लाख रुपैयाँ खर्च गरेको थियो । चालु वर्ष इलाम कार्यालयलाई १६ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । इलाम कार्यालयलाई बहुवर्षीय आयोजनाहरु २८ करोड ६३ लाख रुपैयाँभन्दा बढी दायित्व बाँकी रहने छ । 

यस्तै शहरी विकास तथा भवन कार्यालय ओखलढुंगा अन्तर्गत ८ वटा योजना सञ्चालन गर्न ३५ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएकोमा हालसम्म १५ करोड ७८ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । चालु आर्थिक वर्षमा ६ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन भएकोले बहुबर्षे आयोजना सम्पन्न गर्नका लागि कार्यालयलाई १२ करोड ७३ लाख रुपैयाँ दायित्व बाँकी रहने कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा २८ करोड ७१ लाख रुपैयाँ विनियोजन भएकोमा कार्यालयले २८ करोड १६ लाख रुपैयाँ खर्च गरेको थियो । 

शहरी विकास तथा भवन कार्यालय धनकुटाले सबैभन्दा धेरै २३ वटा आयोजना सञ्चालन गर्न ९९ करोड ८ लाख रुपैयाँको सम्झौता गरेकोमा हालसम्म ४९ करोड २१ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । ५ वटा योजना निर्माण सम्पन्न गरेको यस कार्यालयले धनकुटामा २ वटा, तेह्रथुम, भोजपुर र संखुवासभामा एक÷एक वटा योजना सम्पन्न गरेको हो । 

धनकुटास्थित कार्यालयको लागि चालु आर्थिक वर्षमा १७ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गत आर्थिक वर्ष कार्यालयलाई ३८ करोड ६१ लाख रुपैयाँ विनियोजन भएकोमा ३६ करोड ७० लाख रुपैयाँ खर्च भएको थियो । 

यसैगरी मोरङ कार्यालय अन्तर्गत ९ वटा योजना सञ्चालन गर्न ५८ करोड ९८ लाख ९० हजार रुपैयाँको सम्झौता भएकोमा हालसम्म २७ करोड २१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त कार्यालयलाई ५३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरेकोमा ४८ करोड ४९ लाख रुपैयाँ खर्च गरेको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप