शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

पेलोसीको ताइवान यात्राबारे आयो ह्वाइट हाउसको बयान, चीनलाई पनि सन्देश

बिहीबार, १९ साउन २०७९, १२ : ५८
बिहीबार, १९ साउन २०७९

ह्वाइट हाउसले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे फेरि एकपटक स्पष्टीकरण दिएको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारिन जो–पियरेले सभामुखलाई आफूले चाहेको ठाउँमा जान पाउने अधिकार रहेको बताएकी छिन् ।

ह्वाइट हाउसको नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै क्यारिन जो–पियरले भनिन्, ‘हामीले सहायता मात्रै प्रदान गर्छौँ । उनी कहाँ जाने भन्ने विषयमा हामी निर्णय गदैनौँ । यो उनकै निर्णय हो । तपाईंलाई थाहा नै छ कि राष्ट्रपति आफैँ ३६ वर्षसम्म सिनेटर थिए । त्यसैले उनले यो तथ्य बुझ्नेछन् । तर यसले अमेरिकाको दीर्घकालीन नीतिमा कुनै असर भने पार्दैन ।’

उनले थपिन्, ‘पेलोसीको ताइवान भ्रमणले अमेरिकी नीतिमा कुनै पनि परिवर्तन हुने छैन भन्ने कुरा हामीले पूर्ण रुपमा स्पष्ट पारिसकेका छौँ । ’

क्यारिन जो–पियरले भनिन्, ‘यसकारण चीनले यो भ्रमणलाई संकटका रूपमा हेर्न आवश्यक छैन । यो भ्रमणको बहानामा चीनले ताइवान स्ट्रेट वरपर आफ्नो आक्रामक सैन्य गतिविधि बढाउन आवश्यक छैन ।’

उनका अनुसार राष्ट्रपति बाइडेनले गत हप्ता चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरेका छन् । उनीहरुबीचको यो पाँचौँ  भेटवार्ता थियो । उनी थप्छिन्, ‘उनीहरूबीच वार्ता जारी छ र हामी चीनसँग यही चाहन्छौँ । ’

जी–सेभेन देशहरूले चीनको व्यवहारको आलोचना गरेका थिए । अमेरिका पनि जी–सेभेन को सदस्य हो । 

हालै, चीनको चेतावनी पछि पनि न्यान्सी पेलोसीले ताइवानको यात्रा गरिन् । चीनले आफ्नो ‘एक चीन नीति’ अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा मान्छ । तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मानेको छ । पेलोसीको भ्रमणपछि चीनले भयानक परिमाणको चेतावनी दिएको छ । उसले ताइवान सीमा नजिकै सैन्य अभ्यास पनि सुरु गरेको छ । धेरै चिनियाँ जेट विमानहरू पनि लगातार ताइवानको आकाशमा प्रवेश गरिरहेको ताइवानले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप